काठमाडौँ/ ३० फागुन २०७८
इतिहासविद् कृष्णविक्रम नेम्बाङको ‘इतिहास पहिचान: प्राचीन नेपाल, किरात र लिम्बू इतिहास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले राजधानीमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
सार्वजनिक पुस्तकमा ‘प्राचीन सिन्धुघाटी सभ्यताको उदय र अन्त्य’, ‘प्राचीन गाङ्गेय सभ्यताको प्रारम्भ’, ‘प्राचीन किरातको उद्भव र प्रसार’, ‘प्राचीन नेपालको इतिहास र भूगोलमा भ्रम’ शीर्षक आलेख समेटिएका छन् । यसैगरी ‘लिम्बू सुभा- हाङको ऐतिहासिक रूपरेखा’, ‘विवाहप्रथामा सानीआमा बेहोर्ने लिम्बू र अझ अरू’, ‘सेन–शाहको नक्कली पत्रले लिम्बुमा उब्जाएको भ्रम’ र ‘सात सालमा मुक्तिको अर्को प्रयास र लिम्बुवान’ आलेख रहेका छन् ।
८२ वर्षीय नेम्बाङ २०१७ सालको सशस्त्र क्रान्तिका एक योद्धासमेत हुन् ।
पुस्तकबारे कवि काइँलाले अहिले नेपालको इतिहास निष्पक्ष नभएको भन्दै ‘इतिहासकारले तटस्थ भएर लेखेनन् । अरूले लेखेको विषयलाई आफूअनुकूल बनाएर लेख्ने र छाप्ने गरेका’ बताए। उनले यस पुस्तकले इतिहासको नयाँ पक्षलाई उजागर गरेको बताए । मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकबारे कमल मादेन, डिबी आङबुङ, खगेन्द्र माखिम र टेक लावतीले चर्चा गरेका थिए ।