समाचार

काठमाडौं ।
कवि रोशन यक्सोको कवितासंग्रह ‘सम्झनाको चोमोलुङ्मा’ राजधानीमा लोकार्पण भएको छ । अनामनगरस्थित युनियन हाउसमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रमुख अतिथिको आसनबाट कृति लोकार्पण गर्नुभएको हो । समारोहमा संचारिका समूहकी केन्द्रीय अध्यक्ष बिमला तुम्खेवा र साहित्यकार सकुन्तला जोशी विशिष्ट अतिथि रहनुभएको थियो ।
कुलपति राईले यक्सोको कवितालाई जनताको कविताको संज्ञा दिँदै यसले समाजका विविध पक्षलाई समेटेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले कविहरू जनताबाट अलग थिए, तर अबको कविता जनतासँग जोडिनुपर्छ, जनताको भाषा बोल्नुपर्छ । रोशन यक्सोको कविता जनताको आवाज हो ।” उहाँले प्रवासमा रहेर नेपाललाई झक्झक्याउने र बुझाउने काम गरिरहेका साहित्यकारहरूको योगदानको पनि प्रशंसा गर्नुभयो ।
तुम्खेवा र जोशीले यक्सोको कवितामा समाज रुपान्तरणका लागि भएका विभिन्न आन्दोलनहरूको प्रतिबिम्ब देखिएको बताउनुभयो । उहाँहरूले कवितामा सबै विषयमाथि समानन्तर विचार प्रस्तुत भएको र यसले पाठकलाई गहिरो प्रभाव पार्ने धारणा राख्नुभयो । हङकङमा बसोबास गर्दै आउनुभएको यक्सोको यो पहिलो प्रकाशित कृति हो। हङकङ साहित्यक साझा शृङ्खलाका सहसंयोजक समेत रहनुभएका यक्सोले आफ्ना आमाबुबालाई मञ्चमा आसिन गराउँदै कृति विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा कवि रीमा केसी र एलिसा एकलासले ‘सम्झनाको चोमोलुङ्मा’ बाट कविता वाचन गर्नुभएको थियो । आयोजक सम्भव समूहले कृतिकार, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र कविता वाचन गर्ने कविहरूलाई सम्मानपत्र प्रदान गरेको थियो । कार्यक्रमको सहजीकरण सम्भव समूहका सदस्य कवि संजीत फलानाले गर्नुभएको थियो ।