• २०८१ श्रावाण ११ शुक्रबार

उमेरले मागेको हिसाब

बसन्त चौधरी

बसन्त चौधरी

मेरो आधा उमेर
मसित प्रश्न गर्छ
जीवनको हिसाब कस्तो छ ?
धेरै केरमेट छ कि,
कतै कतै सफा पनि छ ?

म बगैँचामा
कति फूलें, कति सुकेँ
वा कति ओइलाएँ
त्यो बेहिसाब छ
कति अभिमान गयो
कति पटक झुकेँ
कति धपेडी दगुरेँ
म कति लक्ष्य पुगेँ !

कति खोला बगें म
कति गति रोकिएँ
कति सूर्य उदाएँ
कति बादल लुकेँ
कति सफलता चुमेँ
र, कति सफलतामा गुमेँ ।

यो कुनै कम्प्युटरमा डाउनलोड हुँदैन
मेरो मुटुको अनुभव इ-मेल हुँदैन
त्यसैले मेरो उमेर
मलाई क्षमा गर,
म सँग तिम्रो प्रश्नको जबाफ छैन ।

चारैतिर अँध्यारो छ
कतै उज्यालो छैन
चाहना अनन्त छन्
आगमनको कुनै पदचाप छैन
आधा उमेरले
सिकाएको भाषा छ
त्यस अन्तर्गत
मेरो यही अभिलाषा छ
भोलि मान्छेहरूले भन्ने छन्
नश्वर थियो
क्षणमा विलीन भयो ।

यी भन्दा फरक मेरो आशा छ ।
यसरी सम्झनु मलाई,
मानिस थियो
कर्मको बाटो हिँड्यो,
मानिस भएर सास फेर्यो
मानिस भएरै माटो बन्यो ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)