• २०८० जेठ २१ आइतबार

अलिक लजाइदेऊ

बसन्त चौधरी

बसन्त चौधरी

यौवन छचल्किन्छ
मन मेरो बहकिन्छ
तिमीलाई बाहुपाशमा लिन
जीवन ससल्किन्छ ।

तिम्रो धारिलो मुस्कान
मुटुमा पहिरो जान्छ
थाहा छैन यो माया
कतिकति गहिरो जान्छ ।

आजको दिन त तिमीले
नाई भन्नु हुँदैन
आजैको एक दिन हो
मन कहिल्यै रूँदैन ।

तिम्रो मेरो मिलन
क्षितिज–धर्तीझैँ नहोस्
आज सँगसँगै बसौँ
पृथ्वी घुम्न रोकियोस् ।

आज आकाशको सबै लाली
तिम्रो अधरमा बस्यो
लाली लट्ठ लोलायो
ओठले जादु गर्यो ।

म स्वप्न छरेर बसेको छु
तिमी आई सजाइदेऊ
आज म तिमीलाई हेर्छु
तिमी अलिक लजाइदेऊ ।


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।


आइ लभ यू भानुभक्त

प्रेम

स्त्री सुबोधिनी