• २०८२ आश्विन २२, बुधबार

कर्म

रामकुमार पण्डित

रामकुमार पण्डित

पहाडी भेगमा चारपाँच जना महिलापुरुषहरू पदयात्रा गर्दैथिए । साँझ पर्नु अगाडि पाल गाडेर बस्ने व्यवस्था मिलाउन अबेर हुँदैथियो । कतै भिर, कतै खोल्चो, कतै झ्याङ भएर उपयुक्त थलो भेट्न मुश्किल भइरहेको थियो । एक ठाउँमा रुमालजस्तो सम्म मिलेको चौर भेटे । त्यहाँ गएर हेर्दा वरपर मानिस र पशुको मल यत्रतत्र देखे । अर्को विकल्प थिएन । उनीहरू सबै मिलेर सफा गर्नथाले । केही बेरको परिश्रमपछि त्यो ठाउँ बस्नलाई रहरलाग्दो देखियो । पाल गाडे । खाना पकाउने, सुत्ने, आराम गर्ने ठाउँ मिलाए । त्यसपछि एउटाले भन्योः “अघि यहाँ टेक्ने ठाउँ थिएन, अहिले चिटिक्क भयो ।” त्यसलाई समर्थन गर्दै अर्कोले भन्योः “जहाँ सुकर्म, त्यहाँ स्वर्ग ! नर्क त हाम्रो शब्दकोशमै छैन ।”

उनीहरू सबैले आफ्‌नो काम आफैँ गरे । सामुहिक काम आपसमा छलफल गरी मिलाए । यात्रा एकदमै रमाइलो भएको अनुभव एकअर्कालाई सुनाए । अर्को दिन आफ्‌नो वासस्थलतिर लागे । लामो यात्रा भएकोले साँझमा पुगे । आफ्‌नो निवास अगाडिको दुर्गति देखेर छक्कै परे । कसले गरेको होला भनेर सिसी टीभीमा हेरे ।

दुईतीन जना धम्मरध्वाँस पुरुष अँध्यारो बढ्दैगएपछि आए । “कति सुन्दर ठाउँ रहेछ यार” भन्दै कम्पाउण्डमा पसे । ढोकामा ताल्चा लागेको देखेर त्यसलाई घनले हानेर फुटाए । घरभित्र पसेर कहाँ के छ भन्दै खोजी गर्न थाले । दराजभित्र भएका सरसामान भुईँभरि असरल्ल पारे । बलिरहेको दीयोमा थुक्दै फू गरेर एउटाले निभायो । दराजको कुनोमा भेटिएको थोरै नगद खल्तीमा राख्दै अर्कोले भन्योः “माल त छैन रहेछ यार ।” रात छिप्पिदै गएपछि खाना खाने व्यवस्था गर्नथाले ।

एउटा बाल्टिनभित्र चामल र बट्टाभित्र दाल भेट्टाए । त्यो पकाउने भाँडो खोज्दैगर्दा आधा जसो भुईँमा खसेको तिनीहरूले पत्तो पाएनन् । बल्लबल्ल डेक्ची भेटेर दालचामल एकैठाउँमा राखेर भान्साकोठाको ग्यासचुलोमा पकाए । पाकेपछि आधा पोखेर खाए । कोठामा बत्ति नबालेकोले अँध्यारो थियो । लघुशङ्का आएपिच्छे सँगसँगै कोठाको कुनामा गएर तुर्क्याए । केहीबेरपछि बाहिर मान्छेको आवाज आयो । त्यो सुन्नासाथ तिनीहरू हतारहतार त्यहाँबाट भागे । यी सबै दृश्य हेरेपछि महिलाले बोलिन्‌ः “जहाँ दुष्कर्म, त्यहाँ नर्क ! यहाँ नर्कका अधिपति आएर स्वर्गजस्तो ठाउँलाई नर्कै बनाएर गएछन् ।”


रामकुमार पण्डित