• २०८१ बैशाख ८ शनिवार

ममताको मोती

बसन्त चौधरी

बसन्त चौधरी

वसन्त-वेला
(यस अङ्कदेखि यस स्तम्भमा कवि बसन्त चौधरीद्वारा सिर्जित नेपाली, नेपालभाषा, मैथिली, भाजपुरी, मारवाडी, अङ्ग्रेजी, हिन्दी आदि भाषाका कविताहरू नियमितरूपमा प्रकाशित गरिने व्यहोरा आदरणीय पाठकवर्गमा जानकारी गराइन्छ । सं.)


अनन्त गहिरो
ममताको सागरको
एउटा मोती हुँ आमा !

तिम्रो अनमोल स्पन्दन र
स्नेहले कुँदीकुँदी
बनाएको हो मलाई
म,
तिम्रो कल्पनाको
साकार फूल
तिम्रो क्यानभासमा भरिएको
रङ्गीन चित्र

तिम्रो स्नेह र साथबाट
वञ्चित हुँदा
खालीखालीजस्तो
हराएहराएजस्तो
एक्लिएक्लिएजस्तो छु म !

हरपल रहिरहन्छ तिम्रो अभाव
यो जीवनमा
हिउँदमा, वर्षामा
दुःखमा, सुखमा
पल, दिन र महिनामा

अब त
तिम्रो यो मोतीको
उड्न थालेको छ चमक
धमिलिएको छ रङ
हराएको छ उमङ्ग
बदलिएको छ स्वरूप
बोकेर तिम्रो न्यानो स्पर्शमा
ममताको आभास
भैरहन्छ हरपल
नमेटिने प्यास, नदेखिने पीडा !

म तिम्रो ढुकुटीको
एउटा रत्न हुँ
तर,
यसै छरिएको छु तिमीविना
तिमी छैनौ र हुने छैनौ
तर मसँगसँगै हिँड्छ
तिम्रो तस्बिर आँखा भएर
सजीव बन्छ अस्तित्व
निश्वास भएर !

तिमी छैनौ
र पनि छौ
हृदयको स्पन्दन बनेर
नहुनुमा पनि हुनुको
आभास मात्र दिँदो छ
तिम्रो सम्झनाले, तिम्रो मायाले !

ममताको सागरको
एउटा मोती हुँ आमा
तिम्रो मायामा
स्मृतिको सागरमा
एक्लैएक्लै हराइरहेको
एउटा मोती !!

साभार: तिमीविनाको म (नेपाली कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।