English Poem
तिम्रो मदिराको चुस्की सँगै घुलेर हराउन हैन
सधै शान्त रारा तालबनेर
जमिरहन पनि त सक्दीन
हो ! म पानी हुँ
बग्छु निरन्तर आफ्नै धर्ममा !!
पहाड बनेर फोडिन्छौ शान्त सतहमा जब
खहरे बनेर उर्लनै पर्छ मैले
सङ्लो मनमा फोहोरका डङ्गुरहरू थुपार्छौ
अनि पो
विद्रोह ऊराल्दै किनारा काटेर बग्नु पर्छ मैले
हो म पानी हुँ,
शुद्ध, शान्त सफा तिम्रो कोश कोशमा रस भरिदिने
यदी सक्दैनौ शुद्धता जोगाउन भने
विशाक्तता त सहनै पर्छ
थुन्छौ मूहान जब,
बग्ने बाटो खोज्नु पर्छ,
प्रहार गर्छौ समर्पणमा निरन्तर भने
बिद्रोह बोलेर पनि बग्नु पर्छ
मलाई त शान्त बग्न,
तिम्रो छातिको समथर सिरानी चाहिन्छ,
चट्टान बिछ्याउँछौ पाईला पाईलामा
अनि पो खहरे बनेर ऊ र्लिनु पर्छ मैले ।
चोटमा नृत्य देखेर झरनामा रमाउने तिमी,
खहरे बनेर बग्दा म भित्र मैलो देख्ने तिमी
भो जेसुकै नाम देऊ मलाई
म त पानी हुँ
तनमन सङ्लो राख्न निरन्तर बगिरहन्छु
जमेको तलाउमा रमाउने तिमीलाई
म नदी बनेको मन नपर्न पनी सक्छ। ।।
तर म त पानी हुँ
बग्छु निरन्तर आफ्नै बहावमा ।
शोभा पोखरेल
[email protected]