बिहे - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

बिहे

संसार नेपाली

संसार नेपाली

सुमन घर फर्कियो । अमेरिकामा मास्टर्सको पढाइ सकाएर आफ्नो बिहेकै लागि भनि ऊ घर फर्किएको थियो । अझ स्पष्ट भन्नुपर्दा बिहे गर्नकै लागि भनि उसलाई केहि समयका लागि घर बोलाइएको थियो । यद्यपी घर नफर्कुन्जेलसम्म उसलाई आफ्नो हुनेवाली श्रीमतीको बारे केही थाहा थिएन । होस् पनि कसरी, उसले नेपाल आएरै जो पहिलोपल्ट भेट्ने वाला थियो ।

सुमनका बाबुआमाले छोराकालागि भनेर महिनौँको खोजी पश्चात उनीहरूको नजरमा सर्वोत्तम ३ बधुहरू चुनेर राखेका थिए । अब अन्तिम छनौट सुमनले गर्नुपर्ने थियो । आफ्ना बाबुआमाले भनेअनुसार उसले पहिले ती तीनै युवतीहरूलाई पहिले फेसबुकमा एड गर्यो अनि १, २ दिनको सामान्य कुराकानी पश्चात तीनैजना सँग पालैपालो भेटघाट गर्यो । तीनै जना सँगको भेटघाटबाट सुमन प्रस्ट भयो, ती सबै युवतीहरू उभन्दा निकै भिन्न थिए । उनीहरूको हाउभाउ र बोलीचाली आधुनिक थियो, त्यसमा उसको खासै आपत्ती थिएन । ५ वर्षे विदेशको बसाइमा उसले आफू जन्मे हुर्केको समाजभन्दा भिन्न संस्कार, चलन र रहन सहन स्वयम् आफैँले देखे भोगेकै थियो । देशकै महङ्गो कलेजमा पढिरहेका ती युवतीहरू उसलाई भित्रीरूपमा भने अत्यन्तै सतही, वस्तुभोगी र भौतिकवादी लागे । सुमनले उनीहरूमा आफु सरह समाज, जगत र जीवन-दर्शनप्रति कुनै अभिरूची भएको पाएन । तिनीहरूको स्वरूपमै खोटै लगाउनुपर्ने ठाउँ त उसले केहि देखेन तर उनीहरूको स्वभाव, रूची र व्यवहार भने आफ्नोभन्दा निकै भिन्न पायो । वास्तवमा उ र ती युवतीहरूबीच मिल्दो भनेको एउटै चीज थियो- उनीहरूको सम्पन्न पारिवारिक पृष्ठभुमी !

सुमनका बाबु शहरकै ठुला मध्येका व्यापारी एवम् गनेमानेका व्यक्तिमा पर्दथे । उसकी आमा आफु स्वयम् शहरको एक प्रतिष्ठित प्राइभेट स्कुलकी प्रिन्सिपल थिइन् । त्यत्तिको सम्पन्न परिवारको छोरो, त्यसमा पनि एक्लो सन्तान भएकाले सुमनको बिहे उसको परिवारका लागि ठुलै पर्वभन्दा कम थिएन । परिवारका नातागोता, इस्टमित्र, छरछिमेकका लागि पनि उसको बिहे लामो पर्खाइकै विषय बनेको थियो ।

“कुन चाहिँ मनपर्यो त बाबु तलाईं ?“
डिनरमा सुमनकी आमाले उसलाई सोधिन् । सुमनसँग त्यस प्रश्नको उत्तर थिएन । उसले आफ्नी आमा सामु वास्तविकता भन्ने आँट पनि गर्न सकेन । यत्तिका वर्षसम्म उसले कहिल्यै आफ्ना आमाबाबुका कुरा कहिल्यै नकारेको थिएन । बाबुआमाको लाडप्यारले हुर्केको उसका लागि पनि आफ्ना अभिभावकको खुसीनै सर्वोपरी थियो । आफ्नो जिन्दगीको त्यस महत्वपूर्ण घटनाको विषयमा परिवारसँग प्रस्ट कुरा राख्नेबारे पनि उसले पटक पटक नसोचेको होइन । तर निकै समय आफुभित्रै घोत्लिएपछी अन्तिममा उसले आमाबाबुसँग प्रतिवाद नगर्ने नै निर्णयमा पुग्यो । सुमनले ती युवतीहरूबारे धेरै ब्याख्या नगरी आफुलाई सबैजना उस्तै लागेकाले आमाबाबुलाई नै एउटा रोजिदिन आग्रह गर्यो । दुई अभिभावकले एक आपसको छलफलपछी अलि उँचो खानदानी स्ट्याटस भएकी युवतीलाई बुहारीका रूपमा छिनोफानो गरे । युवतीका परिवारसँगको कुराकानी पश्चात केहि दिनमै बिहेको तिथी तोकियो ।

बिहेको दिन नजिकिँदै गर्दा भव्य तामझामका साथ घर सिँगार्न थालियो । टाढा टाढाबाट नाता गोता, आफन्त, इस्टमित्रहरू डाकिए । पाहुनाहरूका निम्ती शहरकै ठुलो होटल ’रिजर्भ’ गरियो । घरमा भव्य जमघट को माहौल बन्यो, बिहेकै निम्ती केही दिनका लागी बाहिरबाट कुक, हेल्पर इत्यादी मगाइए । अत्यन्तै महङ्गा, आकर्षक सेटहरूले घर सजाइयो, शहरभरिका ठुला नेता, व्यापारी, धनाढ्यहरूलाई बिहेको निम्ता पठाइयो ।

बिहेको दिन सबेरै बाजा-गाजाका साथ दुलहा बोकेको पजेरो, जन्ती बोकेका अरू गाडीसहित दुलही लिन प्रस्थान गर्यो । केही घन्टाको यात्रा पश्चात छिमेकी शहरको एउटा ठुलो पार्टी प्यालेस अगाडी पुगेर गाडी रोकियो । दुलहा सहितको टोली गेट अगाडी उभिए । भित्रबाट दुलही सहितको टोली आयो । सुमनले अघिल्तिर हेर्यो, उसकी हुनेवाली दुलही आकर्षक रातो पहिरन र पहेँलपुर गहनामा धपक्कै बलेकी थिई । ऊ उसले अस्ती नै भेटेको भन्दा निकै भिन्न देखिएकी थिई, झण्डै-झण्डै चिन्नै मुश्किल हुने गरी ! बेहुली पक्षले बेहुला पक्षकालाई टिका लगाइ दिएपछी जन्तीको जम्बो टोली पार्टी प्यालेस भित्र लम्कियो । बेहुला बेहुली मन्डपमा गएर बसे । पन्डितले मन्त्र पाठ गर्न सुरू गरे ।

सम्पुर्ण जन्ती टोली डाइनिङ हलतर्फ लम्कियो । हल बडेमानकै भएता पनि जन्ती टोली झनै भव्य भएकाले लाम बढेर हलको ढोका बाहिरैसम्म पुग्यो । हलभित्र पुर्वतयारी अवस्थामा राखिएका दर्जनौँ परिकारका वासना उडेर जन्तीका कोट, प्यान्ट, साडी, कुर्ता, सुट, लेहेङ्गा आदिबाट उडिरहेको अत्तरको गन्धसँग मिसियो र गन्धैगन्धको ककटेल सिङ्गो हलभरी फैलियो । मानिसहरू हातमा प्लेट लिई थुक निल्दै सेल्फ सर्भ गर्न थाले । खान्कीमा विशिष्ट प्रकारको पुलाउ, दुइथरिका अचार, तीन थरीका तरकारी, चार थरीका मासु र अरू नानाथरीका भेज्, ननभेज्, बेक्ड्, बोइल्ड्, गृल्ड परिकारहरू थिए । जन्तीहरू फटाफट खाना हसुर्न थाले । अघिसम्मको सुनसान हल छिनभरमै थाल, चम्चा, गिलास र मान्छेहरूको आवाजले गुन्जयमान बन्यो । हलभित्रको आवाज पोको परी ढोकाबाट बतास्सिएर बाहिर निस्क्यो र मन्डपमा पन्डितले बजाइरहेको घन्टीमा ठोक्कीई सोझै बेहुलाको कानभित्र छिर्यो । बेहुला सुमन एकाएक ’ट्रान्स’ अवस्थामा पुग्यो ।

सुमनले आफ्ना अगाडी हेर्यो, यज्ञमा धुँवाधार आगो बलिरहेको थियो, पण्डित एकोहोरो मन्त्र फलाक्दै थिए, छेउमा युवती चुपचाप बसिरहेकी थिई, वरिपरी मानिसहरू उभिइरहेका थिए । उसले एकपटक आफैँलाई सर्लक्क नियाल्यो, र तत्पश्चात नै उसलाई एउटा अचम्मको बोध भयो । वरीपरी घटिरहेका दृश्यहरू उसलाई एकाएक कुनै अनौठो सपनाझैँ लाग्न थाले । मानौँ, आज उसको बिहे नै होईन । मानौँ, ऊ आज अरू कसैको बिहेमा आएको हो । ऊ आफू अहिले त्यस मण्डपमा बसिरहे पनि, उसका छेउ अहिले एउटी युवती दुलहीको भेषमा बसिरहेकी भएपनी, ती सबै उसलाई कुनै अजीब स्वैर कल्पनाझैँ लाग्न थाले । तथापी उसले त्यहाँ कुनै प्रतिक्रिया भने जनाएन र चुपचाप मण्डपमै बसी पण्डितले अराए अनुरूप गरिरह्यो ।

बिहेका कर्मकाण्डहरू एकपछी अर्को पूर्ण हुँदै गए । सुमनलाई ती सबै कुनै फिक्सनल कथाका घटना क्रमझैँ लागिरहेका थिए । मानिसहरू आएर उसलाई टीका लगाइदिए, उसँग फोटा खिचाए, केहिले त उसका हातखुट्टा पनि धोइदिए, तर सुमन चुपचाप बसी त्यो सब हेरिरह्यो । एकैछिनमा एकजनाले उसको हातमा रातो रङ्ग थमाइदियो, उसले पनि आफुलाई अर्हाए बमोजिम युवतीको निधारमा त्यस रङ्ग भरिदियो । सबैले ताली बजाए, सुमनले हेरिरह्यो । सुमनले देख्यो, अलि पर मानिसहरू एकतमासले बाजा बजाइरहेका थिए, बाजाको तालमा केहि मानिसहरू कम्मर मर्काइ मर्काइ नाचिरहेका थिए । उनीहरू निकै खुसी देखिन्थे । केहीबेर पछी उसले देख्यो, बेहुली र उसका परिवारका सदस्यहरू रोइरहेका छन् । सुमनले त्यसमा पनि कुनै प्रतिकृया नजनाई चुपचाप हेरी मात्र रह्यो ।

साँझ परिसकेको थियो । बेहुली लिएर जन्ती सहितको टोली घर फर्किँदै थियो । गाडीभित्र दुलही अझै सुँक्क-सुँक्क रोइरहेकी थिई । बाहिर सिमसिम पानी परिरहेको थियो, पानीका थोपाहरू गाडीका सिसाहरूमा ठोक्किँदै तपतप बगिरहेका थिए । सुमन अझै ’ट्रान्स अवस्थाबाट निस्कि सकेको थिएन ।

गाडीहरू बेहुलाको घर अगाडी थपक्क बिसाए । वाद्यवाद्यक टोलीले पूनः पन्चेबाजा घन्कायो । थाकिसकेका जन्तीहरू पूनः जोस्सिँदै कम्मर मर्काउन थाले । फोटोग्राफर, भिडियोग्राफरहरू पूनः फोटो, भिडियो खिच्नथाले । घरमा दुलही हेर्नेको घुँइचो लाग्यो ।

घरप्रवेशका सबै कर्मकान्डहरू सकिएपछी मध्य रातमा बल्ल नवदम्पत्ती भीडबाट मुक्त भए । थाकेर लखतरान परी सकेका ती दुई चुपचाप माथिल्लो तल्लातिर लागे । सुमनले आफ्नो कोठाको ढोका उघार्यो । कोठाभित्र दिनभर थुनिएको महङ्गो अत्तरको बास्ना पोको परी उडेर आयो र सिधै उसको नाकका पोराभित्र पस्यो । सुमन एकाएक झसङ्ग भयो । कुनै गहिरो निद्राबाट हठात् ब्युझिँएको मानिसझैँ ऊ ब्युझिँयो । उसका अगाडी उसको कोठा थियो, जुन पूर्णरूपले सजाइएको थियो । भित्ताभरि रङ्गीचङ्गी फूल र रिबनहरू टाँगिएका थिए । गुलाफका पत्रहरू उसको ओछ्यानभरी छरिएका थिए । सुमनले गहिरो श्वास फेर्यो । परिवर्तित परिवेशका दृश्यहरू उसको मानसपटलमा अब बल्ल घुल्न थाले । यथार्थको घन्टी उसको मथिङ्गलभित्र जोडजोडले बज्न थाल्यो । बिस्तारै उसले आफ्ना छेउतिर नजर डुलायो र देख्यो, उसले आज भर्खरै बिहे गरेर ल्याएकी युवती मलीनो अनुहारका साथ ढोकाबाहिर उभिएकी छे । एउटी अन्जान युवती जसलाई उसले चिनेको छैन, जोसँग कुनै माया बसेको छैन, ऊ आजबाट उसकी श्रीमती भएकी छे, र ऊ, त्यस युवतीको श्रीमान् । आफ्नो उक्त अवस्था देखी सुमनलाई भाउन्न रिँगटा लागे जस्तो भयो । ऊ चुपचाप आफ्नो कोठाभित्र छिर्यो, युवती उसको पछिपछी लागी । सुमनले केही नबोली ढोका बन्द गर्यो अनि बत्ती मधुरो पारेर कुनातिर गई कुनै थकित मजदुरले झैँ आफ्ना पोसाक फुकाल्न थाल्यो । बाहिरी कपडा फुकालिसके पछी उसले बिस्तारै पछाडी फर्किएर हेर्यो, युवती कोठाको अर्को कुनामा पूर्ववत् अवस्थामै उभिइरहेकी थिई । सुमन अझै केही नबोली आफ्नो पलङ माथी चढ्यो र एउटा कुना च्यापी पल्टियो । एकछिन पछी युवती पनि आई र पलङको अर्को कुनामा पल्टिई । कोठाभरी बाक्लो सन्नाटा छायो ।

स्थिती सहज गर्ने मनसाय स्वरूप सुमनले आफ्नी नवपत्नी तर्फ बिस्तारै आफ्ना हातहरू फैलायो । उसका हातहरूले युवतीका हात अनि कम्मरमा स्पर्श त गरे, तर तिनले उसको शरीरमा कुनै कम्पन भने पैदा गराउन सकेनन् । सुमनका हातहरू जलेर निभिसकेका काठझैँ चिसा र कमजोर भए । उसले जसो तसो पूनः प्रयत्न गर्यो, तर न उसले युवतीबाटै कुनै प्रतिक्रिया पायो न आफैँले नै केहि महशुस गर्न सक्यो । अन्तिम पटकको प्रयासमा उसका हातहरू बीचैमा आफैँ रोकिए र तत्पश्चात अघी बढ्न सकेनन् । मानौँ, ती हातहरूमा अब कुनै उर्जा नै छैन, मानौँ उभित्रको चाहनाको आगो जलेर सारा खरानी भैसकेको छ । एउटा अन्जान स्त्रीसङ्ग अर्धनग्न अवस्थाको त्यो अप्ठेरो परिस्थितीका बीच सुमनले एक्कासी केही वर्ष पहिलेको वार्तालाप सम्झियो ।

“अनी म बाहेक अरू कोही मन पर्यो भने नि ?“
“त्यस्तो हुनै सक्दैन !“
“हाम्रो बिहे भएन रे, त्यतिबेला के गर्छौ ?“

आफ्नी प्रेमिकासँगको उक्त कुराकानीका दृश्यहरू सुमनका आँखा अगाडी प्रस्टसँग देखा परिरहे । उसकी प्रेमिका, जसलाई उसले अमेरिकामै पहिलोपल्ट भेटेको थियो, र जोसँग ऊ विगत ५ वर्षदेखी प्रेममा थियो । उसको जीवनको पहिलो र एकमात्र प्रेम, जसलाई उ आफैँले लत्याएको थियो । उसकी प्रेमिका, जसको एक मुस्कानले उसको हृदय भरिन्थ्यो, जसको एक स्पर्शले उसको शरीरभरी काँडा उम्रन्थे । त्यही प्रेमिका, जो सर्वगुणले सम्पन्न भएर पनि उसमा एउटा ठूलो खोट थियो- समाजको कथित तल्लो जातमा जन्म लिनु !

त्यस रात पलङको त्यस कुनामा आँखाभरी आँसु लिई सुमनले आफ्नो अधुरो प्रेम सम्झियो, जसलाई उसले आफ्नो पारिवारको ’इज्जत’ का अघि अपनाउने आँट गर्न सकेन । उसको मन भारी भएर आयो, गला अवरुद्ध भयो । आफ्नी प्रिय प्रेमिकासँग मनमनै माफी माग्दै उ हिँक्क हिँक्क गर्दै रून थाल्यो । हत्केलाले मुख छोपी जती नै रोक्न खोजे पनि सुमनका चित्कार रोकिएनन् । पलङको अर्को छेउमा पल्टिरहेकी उसकी श्रीमतीले पनि रातभर बलिन्द्र आँसु  झारी रही ।


संसार नेपाली (बेल्जियम)
sansarelic@gmail.com