सौतेनी आमा - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

सौतेनी आमा

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

      -कोटेश्वरको जामले गर्दा दिक्क लाग्छ जहिल्यै । आज आकाश पनि अलिक कालो थियो । छाता लान बिर्सिएछु । भोक पनि लागेको थिया । एकदिन जानुपर्छ भन्ने चै मनमा लागेकै हो । “तिमी कहिले आउँछौ छिटो आउन” भनेर बेला बेलामा फोन आउने गर्थ्यो । मैले भने खासै मतलब राख्दैनथे । आमाको सौता भएर आउने महिला माथी मैले खासै त्यस्तो कुनै सहानुभूति राखेको थिइन । र माया पनि लागेन कहिले पनि । मेरी सीता जस्ती आमाको सौता हुन आएकी हुन तिनी । खैर, जे होस अब त न आमा न बाबा । सबै मायाको इन्द्रेणी हराइसकेको छ जिन्दगीको आकाशबाट । आमा हुँदा र नहुदा कति फरक पर्छ जिन्दगी त्यो भोगियो र बाबा नहुदा कति असहज हुदो रहेछ बाच्न त्यो पनि अनुभुती भयो ।

जिन्दगी भनेकै अनुभूती हो जो भोग्दै र भिज्दै गएपछि यसको मादकताले छँदोरहेछ । ती सौतेनी आमा भक्तपुरतिर बस्छिन भन्ने सम्म चैं थाहा थियो ।तिनी कस्की छोरी हुन । के जातपातकी हुन । कसरी बसेकी छिन् । कसरी जीवन निर्वाह गरेकी छिन हामी कसैलाई केही थाहा थिएन । बेला बेलामा ठुली दिदी चैं जानुहुन्थ्यो । आमा ज्युदो हुँदा तिन्लाइ बाबाले घरमा ल्याउने साहस कहिले गर्न सक्नुभएन । आमा बितेपछि बाबालाई पनि अप्ठ्यारो महसुस भयो होला । घरमा ल्याउछु भनेर कहिले भन्न सक्नु भएन हामीसँग । र उनले पनि घरमा आउने साहस कहिले गरिनन । टुहुरो भएपछि मात्रै सौतेनी आमाको याद आयो मलाई । कस्तो अचम्म छ मान्छेको जात । आफ्नी आमा हुँदासम्म सौतेनी आमा फूलमाथी कि काडा बनिन । आज आफ्नी आमा छैनन् फेरि तिनै सौतेनी आमा काँडाले सुरक्षा दिएको फूल बनिन । अँध्यारोमा घामको महत्व भए जस्तै आमा नभएपछि सौतेनी आमाको महत्व । गज्जव छु म । गज्जव छ मलाई हुर्काउने दुनियाँ । म जे हुँ यो दुनियाँको कारण हुँ । म जे हु दुनियाँ मेरै कारण हो ।

कसैले पनि यहाँ अजम्बरी चोला लिएर आको हुँदैन । जब हामी बाँचिरहेको पृथ्वी माताको त निश्चित आयु छ भने हामी मनुष्य जावोको त के कुरा । बाबा आमा हजुरआमा हजुरबाउ सबैलाई अघि लाइ सकियो । अब बाँकी त आफैँ हो । पालो त आइहाल्छ एकदिन । फेरि यो रिसारिस केका लागि कसका लागि र किन ?

बाबालाई पशुपतिमा विसर्जन गरेर आएपछि मनमा केवल यस्तै यस्तै गम्भीर भावनाको ज्वार भाटा उर्लिरहन्थ्यो । बिचरी ती सौतेनी आमाको पो के दोष । मेरा बाबाले ल्याएर पो आइन । आउनेको के दोष ल्याउने पो दोषी । ल्याउँदा सबै कुरा ढाटे होलान् बाबाले ।

जवानी स्त्री देखेपछि पुरूष मन कति छिटो घायल हुन्छ । तिन्लाइ फकाउन बाबाले आफूलाइ राम्रो भने होलान् । आफूलाइ धनी भने होलान् । आफूलाइ खान्दानी भने होलान् । आफूलाइ अविवाहित पनि सके भन्न भ्याए होलान् । पहिलाको प्रधानपन्च पनि भने होलान् । यति मुरि धानको बीउ लाग्ने खेत पनि छ भने होलान् । कान्तिपुर सहरमा घर पनि छ भने होलान् । भन्ने जति राम्राकुरा केही बाकी नराखी सबै सबै भने होलान् । अनि भन्न पर्ने मुख्य कुरो नौजना छोराछोरीको बाउ हुँ भनेनन् होला । जेठी छोरीको बच्चाको हजुरबाउ हुँ पक्कै भनेनन् होला । गाउँको दुख र वेदना भनेनन् होला । जुवातास खेल्छु त्यो पनि भनेनन् होला । कान्तिपुरमा घर त होईन डेरा छ पक्कै भनेनन् होला । दाजुभाइ बिच अंशबन्डा हुँदा एउटा सिलाबरको डिक्ची र कोदोको रोटि पकाउने त्यो अनि ढिडा्े ओडाल्ने फलामे खिया परेको ताप्के मात्रै आएको पक्कै भनेनन् होला । हामी छोराछोरीलाई पढाउदा लागेको तिरी साध्य नलाग्ने ऋण पनि छ भनेनन् होला । भन्नुपर्ने कुरा भनेनन् अनि नभन्नुपर्ने कुरा चाहिँ भने होलान् पक्कै यसैका कारण हो तिनी जवानी बिसाउन र मिसाउन आएकी मेरा बाबासँग । तिनीलाइ मेलाबाट भगाएर ल्याउनु भएको रे मेरा बाबाले । दुइचार दिन हराए त्यो बेला । जता जान्छु भनेर निस्केका थिए त्यता नगएर बाबा अन्तै पो हान्निएछन् । ती आमालाई हाम्रा बाबाले ल्याउदा खै के भने के भनेनन् होला त्यो कुरा छोडौँ अब । बैशाखमा त सुकेको रूख पनि हरियो देखिन्छ भन्छन् त्यस्तै भो होला । ल भो जे भो भो । घाउ जति कोट्यायो त्यति दुख्छ ।

म पहिलो चोटि सौतेनी आमाको डेरामा पुगे । बाटोमा पानी पर्यो ।
म भिजे । बल्लतल्ल डेरा पत्ता लगाएँ । लुगा पनि निथु्रक्क भयो । केही दिन अगाडि खबर गरेको थिए कि म सोमबार आउछु भनेर । कतिबजे आउँछु त्यो चाइ भनेको थिइन । आगन त खाली छ । उनीपट्टिबाट जायजन्म भने भएन किनकि त्यतिबेला सम्म मेरा बाउले परिवार नियोजन गरिसकेको कुरा मलाई थाहा छ । ती आमा एक्लै छिन । तिन्का माइती असाध्य धनी छन भन्ने सम्म सुनेको हुँ । कहिलेकाहीँ बाबाले मसँग भन्नुहुन्थ्यो “तेरि कान्छी आमा खान्दानी खरेलकी छोरी हुँ भनेर धक्कु लगाउछे” बाबालाई कहिलेकाहीँ लुकिछिपी बरू म नै सौतेनी आमाकोमा जानू भनेर पठाउथे त्यो पनि मेरी आमा मामाघर गएको बेलामा ।

कोठा बाहिर पुगेपछि ढोका ढकढक्याएँ । भित्रबाट चुकुल खोलेको आवाज सहित एउटी अधवय पार गरेकी महिला उज्यालो मुहार लिएर ढोकाको आधा खब्लेटो सँगै देखिइन ।

“बाबू मनु ! तिमी आयौ मेरो छोरा”

यो प्रीय शब्द अनायास गुन्जियो कानमा । भित्र लिएर गइन । खाटमा राखिन । लुगा भिजेकोथ्यो । भिजेको लुगा फुकाल भनिन् । म निशब्द छु । अघिको त्यो प्रीय सम्बोधनले नै मलाई घायल बनाएको थियो । आखिर आमा त आमा नै थिइन जो मेरी आमा आजभन्दा सात बर्ष अगाडि मलाई टुहुरो पारेर गएकी थिइन । यी आमा फेरि मेरो अगाडि स्नेहको सन्सार लिएर उभिएकी छिन । काटिकुटि स्वर्ग गएकी मेरी आमा जस्तै पो लाग्यो । म रन्थनिएँ केहिबेर । केहिबेर आकुल भएँ । सर्ट भिजेको थियो फुकालें । तिन्ले बाउले लाउने गरेको एउटा पुरानो कुर्था ल्याएर दिदै भनिन

“मनु यो लगाउ तिम्रो बाबाको कुर्था”

बाउले सधैं जसो घरमा लाउने कुर्था देखेर झल्यास्स भएँ । ती आमाले कोल्टे फर्किएर आँसु पुछेको देखेँ । कुर्था कतै कतै हल्का च्यातिएको थियो । कुर्था हातमा थमाउदै तिनी भान्सामा गइन । कुर्थामा बाबाको उपस्थिति थियो । एक्छिन त आफैँ रन्थनिएँ बाबाले लगाएको एउटा पुरानो कुर्थाले एक्कासि बाबाको याद आयो । कुर्था लगाएँ । अलिकति बाबाको पसिनाको हरक कतै अल्झिए जस्तो लाग्यो काखितिर । त्यो हरकमा बाबानै सिङ्गो अगाडि उभिएको अनुभूती भयो । भित्रबाट ती आमाले प्रीय सम्बोधनले बोलाइन-

“मनु माम खान आउ”

उहिले आमा हुँदा भान्साबाट यसैगरी स्नेहको जुनेली शब्द बिस्फारित हुन्थ्यो मतिर । मनुष्यले आर्जन गरेको भौतिक प्रपन्च अन्तत खरानी हुन्छ तर उसले भोगेको र बाचेको प्रीय पल भने अजम्बरी बनेर छातिमा बाँचिरहदो रहेछ । “जीवनको बृद्ध अवस्थामा नोटको बिटा सिरानीमा राखेर सुते पनि त्यो सिरानी मुनिको धनले भन्दा मीठो अतितको यादले धेरै आनन्द दिँदोरहेछ” बुबाले अस्पतालको शैयामा भनेको कुरा सम्झिएँ ।

भान्सामा पसेँ । एउटा सानो पित्तले कसौंडीमा भात भर्सिरहेकोको थियो । भान्सा सानो भए पनि सामानहरु कस्तो चटक्क पारेर मिलाएर राखेकी थिइन तिन्ले । छेउमा प्लास्टिकको झोलामा अलिकति चामल थियो । केलाएर बाँकी भएको अलिकति फर्सिको मुन्टा थियो । थोरै धनिया, डल्ले खुर्सानी लसुनको पोटि अनि एउटा सानो हरियो काँक्रोले भन्दै थियोे कि भान्सामा सबै कुरा छ्न।

आमा सिलौटामा अचार पिन्न थालिन । म आमाको त्यो गरिबी र अभावका बारेमा घोत्लिन थालेँ । कठैवरा जीवनभर एक्लै बसेर कति अभाव झेलेर यिनी मेरो बाबाको सतित्व नडगमगाइ बाँचिन होला । एक पटक अचार बनाउदा गोलभेडा सक्किए । चामल अब एक छाकलाइ मात्रै बाकी होला । त्यहाँ धेरै भनेको नुन मात्रै थियो । यति अभावमा विवशताको आँसु पिएर कसरी यत्रो उमेर बसिन यहाँ अचम्म लाग्यो । यी आमाको यस्तो कन्तबिजोक देखेर स्वर्ग पुगिसकेका बाबालाई धिक्कार्न मन लाग्यो । के गल्ती थियो र यी अन्जान स्त्रीको जो तपाईंले ल्याउनु भो आइन । तपाईंको मायामा हिउँ झै पग्लिएर आइन यिनी । तपाइको भर र विश्वासमा त आइन यिनी । तपाईंको दन्ते मोहनी र बैसको धुपमा रन्थनियर आइन यिनी । यी अदना अनपढ सोझीलाई बिधवा बनाएर तपाई त स्वर्ग त जानू भो तर यिनको दिन दिनैको मरण कसले हेर्नी बाबा ?

पस्किएर दिएको भातको थालमा आसुको ढिक्का चुहियो मेरो । आमा उता कोल्टे फर्किएर रुन थालिन । एउटा बिरानो जस्तो लाग्ने शुन्यता भान्साभरी दौडिए जस्तो लाग्यो ।

दसौं बर्षसम्म एक्लै यसरी नै बाँचिन यिनी । बाबा बितेको खबर पनि समयमा पाइनन यिन्ले । मेरी आफ्नै आमाले विधवा जीवन भोग्न परेन । उनी त रातो सिउँदोमै सजिएर गइन परलोक । तर यिनी बिधाताको आगनमा विधवा बाच्न विवस भइन । कठैवर के गल्ती थियो र यिनको जो आजीवन बाबाको एउटा भुलको सजाएको भागिदार बनिन बनिरहिन । न मेरी आमाले यिनीलाइ घरमा ल्याउने अनुमती दिइन । न बाबाले परिवारमा सँगै मिलाएर राख्न नै सके । न यिनी आफ्नो कानुनी हक खोज्दै पतिको घरमा आउनै सकिन । सबैभन्दा ठुलो त्याग त यिनैले गरिन जो परिवारमा विरोध र बिग्रह आउला भनेर आफू एक्लै बसिन । कहिले त्यो परिवारमा मिसिन गैनन । त्यहाँ आफू मिसिन गएपछि शान्त गतिमा बगिरहेको एउटा पारिवारिक डुङ्गा डगमगाउन सक्छ भन्ने पिरले यिन्ले आँसु पिएर भए पनि एक्लै बसिन । कसैलाई दुःख दिइनन् । कसैलाई पिर पार्न गैनन त्यो घरमा ।

ओछ्यानमा हालेको झुल पनि ठाँउ ठाँउमा प्वाल परेको थियो ।
यो दृश्यले मन झन गल्यो । एउटी नारीमा कति सहन सक्ने अद्भुत शक्ति हुँदोरहेछ मैले अनुमान गरॆ । आखिर हामीलाई त खान लाउन मनग्गे जोडीदिएका थिए बाबाले । यता भने किन यस्तो कन्तबिजोक छोडेर गए । हुनसक्छ बाबालाई मेरी आमाको डर थियो । आखिर पुरूष त पुरूष हो नि युद्धमा बन्दुक बोकेर भिडन्त गर्न जाने सामर्थ्य भएको जात । तर ! दुईवटा श्रीमतीलाई किन बराबर गरेर राख्न भने असफल हुन्छ ?

कोठाको भित्ताहरू ओसले भिजेका थिए । खाने सामल सक्किसकेको थियो । झुल च्यातिएर लामखुट्टेले टोक्ता आमाका निधारभरी भमौरा जस्ता फोका उठेका थिए । हात कान निधार नाक सबै बुच्चा थिए । मानौ यिनी यहाँ श्राप भोग्नका लागि बसिरहेकी छिन बर्सौदेखी एक्लै । खाना खाएर एकछिन खाटमा आराम गर भनिन् । परेली मेरा पनि भिजेका छन् । परेली उनका पनि रूझेका छन् । के भन्ने के नभन्ने म अलमल्लमा छु । के बोल्ने के नबोल्ने आमा पनि अल्मलमा छिन । नबोले पनि त्यहाँ एक प्रकारको वाकयुद्ध भएको जस्तो प्रतीत भैरहेछ । म यो कारुणिक दृश्यले भक्कानिएको छु । झ्यालबाट बग्दै आउने हावामा पनि कतै बाबाले लामो श्वास फेरेको होकि जस्तो लाग्छ ।

” यता आउदा तिम्रो बाबाले जहिले पनि तिम्रो कुरा गर्नुहुन्थ्यो”
” के भन्हुहुन्थ्यो आमा बाबाले मेरो बारेमा ?”
” त्यो असाध्य पढ्छ लेख्छ दयालु छ”
” यति मात्रै”
” कि तिम्रो कुरा गर्नुहुन्थ्यो कि दुःख पाएकी माइली छोरीको”
” आमा ! तपाईं किन हाम्रो घरमा नगएको आजसम्म”
” तिम्रो बाबाले त हिँड भनेकै हुन तिम्रो आमा देखी डर लाग्थ्यो”
” आखिर महिलाको शत्रु त महिला नै हुँदारहेछन नि है आमा”

आमा फिस्स हास्दै भाडा माझ्न थाल्नु भो । उता फर्किँदा आमाका कुर्कुचा फाटेको देखेँ । हातका औला र खुट्टाका औलाका काप बेस्सरी सुन्निएको देखेँ । खाटमा आराम गर्न यसो पल्टन मात्रै के लागेको थिएँ । बाहिर बाट कसैले ढोका घचघच्यायो उठेर गएँ । ढोका खोले । बाहिर एउटी भर्खरैकि छोरी मान्छे हातमा पैसा लिएर उभिदै “आमा हुनुहुन्छ” भन्दै आइन र मलाई दिइन । “केको पैसा हो” मैले सोधे । “सात दिन बालुवा चालेको पैतिस सय छ यो ज्याला आमालाई दिनु है म हतारमा छु” भन्दै उनी फुत्त गइन ।

आमा कसरी बाँचेकी रहिछन् मलाई थाहा भो अब । बालुवा चालेर भए पनि मेरो घरको इज्जतमा कुनै धब्बा नलगाइ एकान्त बाचेकी यी आमालाई सोध्न मन लाग्यो कि आमा ! “बुढ्यौलीले मक्किसकेका यी हातहरू त अब ईश्वरको आरतीमा चल्नुपर्थ्यो तर आज आफ्नो भोक शान्त पार्न बालुवा चाल्दै हुनुहुन्छ आखिर कर्म ठुलो हो कि धर्म ठुलो हो त आमा” ? तिमी नै भनिदेउ !
आमाका हातमा पैसा थमाउदै भने “आमा भो अब धेरै दुख नगर्नु घर हिंड्नु । म पाल्छु । बाबाको बर्षदिनको काम पनि आउन लाग्यो । अब उतै बस्ने । छोडेर हिंड्नु यो एकान्तलाई । बिर्सिनु अब हिँजोलाइ जे जे भो भो । म आमा र बाबाको तर्फबाट माफी माग्छु । अलिकति गल्ती तपाईंको । धेरै गल्ती मेरा बाबाको । अनि ठुलो गल्ती मेरी आमाको जसले तपाईलाई घरमा प्रवेश गर्न रोक लगाइन । अब पनि तपाईंलाई यहाँ एक्लै छोडेर गए भने सबैभन्दा ठुलो गल्ती मेरै हुनेछ”

बिसौ बर्षसम्म पनि आफ्नो पतिको घर कस्तो छ भनेर नेदेख्ने स्त्रीहरू पनि छन् यहाँ । यो विवसताको जडता अन्त्य हुनुपर्छ । आमा आखिर आमा हुन । चाहे आफ्नी आमा हुन । चाहे सौतेनी आमा हुन । चाहे धरती आमा हुन । आफ्नै देशको माटो टेकेर हिड्ने कुनै पनि छोरा कहिले टुहुरा हुनेछैन ।
घरमा ल्याएर आमालाई सबैको अगाडि परिचय गराए कि यी हाम्री आमा हुन ।  यिनको स्थान हाम्रो शिरमा हो ।
“कस्तो लाग्यो त आमा तपाईंको घर”
“रमाइलो छ मनु तिमीहरूकै काखमा मर्न पाँउ बस यति भए पुग्यो अब”


लक्ष्मण सिटौला (नुवाकोट शिवपुरी- गुर्जेभन्ज्याङ)
laxmanrajsitaula@gmail.com