साहित्यिक पत्रकार सङ्घले कवि शकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ प्रदान गरेको छ । कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष श्री राधेश्याम लेकालीको सभापतित्व र वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम र समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की र मुक्तक समाज नेपालका अध्यक्ष श्री रामकाजी कोने र समालोचक तथा वरिष्ठ कवि प्रमोद प्रधान र स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदन र कलाकार मदनदास श्रेष्ठ र इतिहासविद प्रा. डा. सुरेन्द्र केसी र वरिष्ठ साहित्यकार हृरण्यकुमारी पाठक र समाजसेवी शोभित उप्रेती लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।
कवि शकुन ज्ञवाली अमेरिकामा बसेर लामो समयदेखि सिर्जना-कर्म गरिरनु भएको छ । उहाँको साहित्यिक यात्राको बारेमा समालोचक श्री प्रमोद प्रधानले समालोचकीय मन्तव्य राख्नु भएको थियो । प्रधानले- सिर्जना र साहित्यिक अभियानमा संलग्न कवि शकुन ज्ञवालीले नेपाली भाषामा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँको निरन्तर साधनाको लागि कामना गर्नु भयो । त्यसैगरी वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले कवि शकुन ज्ञवालीको लेखनमा पृथक धार र नवीनशैली रहेको बताउनु भयो ।
कवि शकुन ज्ञवालीले आफूले साहित्यसेवामा नलागेको भए गीत- संगीतमा लागेर पेट पाल्थें होला भन्ने धारणा राख्नु भयो । उक्त कार्यक्रममा मुक्तक समाजका अध्यक्ष श्री रामकाजी कोनेले शुभकामना मन्तव्य राख्दै- एक सक्रिय मुक्तककार शकुनजी सम्मानित हुँदा आफुलाई खुसी लागेको बताउनु भयो । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ र प्रा. डा. सुरेन्द्र केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि वरिष्ठ आख्यानकार श्री माया ठकुरीले शकुन ज्ञवालीलाई सिर्जनात्मक यात्राका लागि आशीर्वाद प्रदान गर्नु भएको थियो ।
सो समारोहमा ज्ञवालीका श्रीमान विमल सापकोटा र अमेरिकाबाट आउनु भएकी कथाकार तृष्णा कुँवरलाई पनि सम्मान गरिएको थियो । २०३० सालमा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा र बुँद रानालगायत कविहरू सम्मानित भइसकेका छन् ।
त्यस्तै अन्य सम्मानित हुनेहरूमा नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की रहेका छन् ।
यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’ बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) खेमनाथ दाहाल (अमेरिका) सम्मानित भइसकेका छन् । कार्यक्रम चर्चित उद्घोषक र मुक्तककार श्री यादव भट्टराईले उद्घोषण गर्नुभएको थियोे भने सुप्रसिद्ध गायक श्री शिशिर योगीले गीत प्रस्तुत गर्नुभएको थियो ।