• २०८२ कार्तिक १९, बुधबार

घर

दिव्य गिरी

दिव्य गिरी

अब घर घर रहेन
अब घरभित्र पनि कोहि रहेनन्
अब यो मेरो घर भन्ने कोही भनन् ।
जमिनमाथि उभिनु मात्रै पनि महत्त्व रहेनछ
आँखाले देखिनु मात्रै पनि कुनै अर्थ रहेनछ
कति दुःखले बनाएको घरभित्र
बस्नेहरू पनि हुनुपर्ने रहेछ
यो मेरो घर भन्नेहरू पनि चाहिने रहेछ
कतै भित्ताको रङ् उप्कियो भने
त्यसमा रङ् लगाइदिने पनि चाहिने रहेछ
कतै छानाबाट पानी चुहियो भने
चुहिने छान‍ो टालिदिने पनि चाहिने रहेछ ।

घर हो, निर्जीव भए पनि अमुक मायाँ गर्छ
घर हो, ओत दिन्छ र बास दिन्छ
घामपानी, आँधी र वर्षाबाट जोगाउँछ
सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा दिन्छ ।
साँच्चिकै भन्नुपर्दा
धेरैको जीवनकै ठूलो सपना हो घर
धेरैको जीवनको बिपना हो घर
घर नभएसम्म
घर नबनाएसम्म
मनभित्र कल्पना गरिरहन्छ मान्छे-
एउटा घर बनाउन पाए !
एउटा राम्रो घर भइदिए !!
तर सजिलै बन्दैन घर
त्यसै बन्दैन घर
घर बनाउनेलाई थाहा हुन्छ
दुस्ख के हो
कष्ट के हो
घर जीवनभरको कमाइको प्रतिरूप पनि हो
घर जीवनभरको पसिनाको प्रमाण पनि हो ।

तर घर जब मान्छेविहीन हुन्छ
तब घर घरजस्तो हुँदैन
घर खण्डघर भइदिन्छ ।
घर भूताहा घर
घर बेवारिस हुन्छ
दिउँसै पनि डर लाग्छ एक्लै घरभित्र पस्न
दिउँसै पनि डर लाग्छ एक्लै आँगनमा उभिन ।
हिजोआज घेरै घरहरू खण्डहर भएका छन्
हिजोआज धेरे घरहरू आफन्तविहीन हुँदैछन् ।

हिजोआज धेरै घरहरू इतिहास बन्दैछन् ।
हिउँद र वर्षाका दिनहरू खपेर
हरेक ऋतुका रङ्हरू हेरेर
चुपचाप चुपचाप
एक्लै एक्लै ठिङ्ग बसिरहेको घर
गुमाएर सबै स्वजनहरू
उराठ उराठ र उदास उदास देखिने घर
अब घर घर रहेन
अब घरभित्र पनि कोहि रहेनन्
अब यो मेरो घर भन्ने कोही भनन् ।
आकारले मात्रै घर भय‍ो
केवल ढुङ्गा र माटोको थुप्रो मात्रै भयो ।


दिव्य गिरी