धरानस्थित, कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार २०७८’ का लागि मंगलबार १० पुस्तकको सूची जारी गरेको छ ।उक्त पुरस्कारका लागि ४० जना लेखक, कवि तथा साहित्यकारहरूले ०७८ सालभित्र प्रकाशित भएका आफ्ना कृति दर्ता गराएको पुस्तकालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पुस्तकालयले नेपालमा मात्र नभएर विदेशमा बसेर नेपालीमा लेखिएका सबै विषयका पुस्तकलाई पनि मनोनयन खुला राखेको थियो ।
पुस्तकालयका संरक्षक तथा अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार कवि विमल गुरुङको ५१औं जन्मजयन्तीका अवसरमा धरान–१८ बुद्धचोकस्थित पुस्तकालयमा कात्तिक १९ गते आयोजना हुने ३१औं राष्ट्रिय कविता महोत्सव–२०७९ मा छनोट गरिएका मध्येबाट एक पुस्तकलाई परस्कार प्रदान गरिने छ । पुरस्कार राशीनगद २ लाख र ताम्रपत्र रहको छ ।
छनोट भएका पुस्तकहरूमा प्रणय शंकरको कविता संग्रह ‘काँसभाँडा’, कविता राईको उपन्यास ‘गुरू’, निर्मल तामाङको कविता संग्रह ‘जब हावा चल्छ’, दिलीप बान्तवाको कथा संग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथासंग्रह ‘तिउरी’, काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जिलिङ भर्सेस दार्जिलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ रहेको पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।