• २०८१ श्रावाण ११ शुक्रबार

भैरव अर्याल पुरस्कार प्रदान

काठमाडौँ १५ फागुन २०७८

नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार गुठीले शुक्रबार यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरेको थियो । एक लाख ११ हजार एक सय ११ रुपैयाँ राशिको यो पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले प्रदान गरेका थिए । यस्तै यसै वर्ष घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिएको थियो । यस पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ रहेको छ । अर्को ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूबारे श्रीओम श्रेष्ठ रोदन, डा. रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए । सोही अवसरमा ‘सम्झना भैरव स्मृतिग्रन्थ’ को विमोचन पनि गरिएको थियो । विमोचित कृतिको समीक्षा वरिष्ठ साहित्यिक पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसे गरेका थिए ।