समाचार

काठमाडौँ- कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरी मदन–शीला स्रष्टा सम्मानबाट पुरस्कृत भएका छन् । कोरोना महामारीका कारण तीनवर्ष यता रोकिएको सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गरिएको हो । नेपाली साहित्यमा विशिष्ठ योगदान पुर्याए वापत श्रेष्ठलाई २०७६ सालको र केशरीलाई २०७७ सालको सम्मान यस वर्ष प्रदान गरिएको हो । यसै गरी, मदन- शीला साहित्यिक पत्रकारिता सम्मान मोहन दुवाल र रामप्रसाद पन्तलाई दिइएको छ । उनीहरूलाई क्रमश २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो ।
जनमत मासिकका सम्पादक दुवाल र दायित्व द्वैमासिकका सम्पादक पन्तले नियमित रूपमा पत्रिका प्रकाशन गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लखेनीय योगदान पुर्याए वापत उक्त सम्मान दिइएको हो । २०७० मा वासुदेव त्रिपाठीको सभापतित्वमा सुरु गरिएको १ लाख १ हजार रुपैयाँको मदन- शीला स्रष्टा सम्मान यस अघि मदनमणि दीक्षित, प्रेमा शाह, गीतकार कीरण खरेल, वालकृष्ण पोखरेल र माधव घिमिरेलाई प्रदान गरिएको थियो । साथै मदन- शीला साहित्यिक पत्रकारिता सम्मान रोचक घिमिरे, नगेन्द्रराज शर्मा, हाम्रो पुरूषार्थ पत्रिका (तम्घास गुल्मी), भानु पत्रिका, दार्जिलिङबाट प्रकाशित हुने दियालो पत्रिका र उन्नयन त्रैमाशिकका प्रधान सम्पादक अच्युतरमण अधिकारीलाई प्रदान गरि सकिएको छ ।
साहित्यकार मदनदेव भट्टराईको सम्झनामा हरेक वर्ष सो प्रतिष्ठानले साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दैआएको छ । २०२० मा रत्नश्री पत्रिकाको प्रकाशन मार्फत पत्रकारिता तथा साहित्यमा प्रवेश गरेका साहित्यकार भट्टराईका मदन- वाटिका’, ‘जीवन स्मृति, ‘मदनदेव भट्टराईका संस्मरणहरू, ‘कायाकल्प’ ‘समयको प्रतिविम्बु, ‘दृश्य र द्रष्टा’ तथा ‘रत्नपार्क आदि कृतिहरू प्रकाशित छन् ।