शिशिरमा वसन्तको छहरा हौ तिमी
टुटेको दिल जोडिदिने सहारा हौ तिमी
जस्तै वाधा आएपनि जीवन गोरेटोमा
आँधिहुरी छेकिदिने पहरा हौ तिमी ।
टुटेकी थेँ टुक्राटुक्रा नजोडिने गरी
वाध्यताको अनौठो त्यो भुमरीमा परी
आयौ तिमी जिन्दगीमा शीतल पवन बनी
ओइलाएको फूल आज फुल्यो वागभरि ।
यो दिलमा त्यति ठूलो छैन बस्ने ठाउँ
उजाडउजाड हुनसक्छ पिरतीको गाउँ
बस्नू तिमी दुःख- सुख जतन गरी केही
यो मुटुमा बस्ने मान्छे मेरो भन्न पाऊँ ।
देख्यौ भने नआत्तिनू घाउ मुटुभित्र
चोटबीच त्यहीँकहीँ खोज्नू आफ्नो चित्र
बस्नू राजा मल्हम बनी निको पार्दै घाउ
यही दिललाई बनाउनू आफ्नो असल मित्र ।
(खनाल चर्चित साहित्यकार हुन् ।)
[email protected]