English Poem
बनेर
सन्तान र गृहस्थको ओत
सजाएर अन्नपूर्णाको टोपी
बोकेर आफ्ना कर्तव्यहरू
बा !
सुदुरको यात्रा गर्नुहुन्छ
पूर्वको दौड़ाहामा जानू हुन्छ
ओढेर आकाशको निलो रंग
फुलाएर शीरमा पलाँसको फूल
बा र बाहरू
हिमाल जस्तै मुस्कुराउनु हुन्छ
आफ्नै गति, यति र लयमा
हिमनदी जस्तै बग्नु हुन्छ
र धान्नु हुन्छ श्रृष्टिको बिंडो
सृष्टिको आधार स्तम्भ ऋतु जस्तै
कर्तव्यका हरेक विस्तारमा
फुलेर ओइलिएर
निभाउनु हुन्छ कर्तव्य
बा हुनुको चुकाउनु हुन्छ ऋण !
चुकाइ रहनुहुन्छ ऋणी भएर
धेरै धेरै आवश्यकताका दस्तावेजहरूमा
समाधानका प्रतिउत्तर लेखिरहनु हुन्छ
जटिलतासंग खेलेर
सन्तान दरसन्तानलाई
सनातन सत्कर्मको ज्ञानद्वार प्रदान गरिरहनु हुन्छ
परिश्रमका वाष्पिकृत बादल बर्सिरहनु हुन्छ
खडेरिमा हरियाली भै
हरेक कठिनाईका ऋतु जितेर हिँडेका इश्वर नै हुन
बा र बाहरू
बनेर परिवारको अभिनेता
थामेर सिँगो आकास
बाँधिएर संयममा
बन्नु हुन्छ कसिलो आधार
बाहरू यौटा सिंगो पीपलको छहारी
जहाँ परिवारले शितलता लिन्छन्
बा घरको मूल स्तम्भ
जहाँ घरले घर हुने आधार पाउँछन्
बाहरू सृष्टिको सुन्दरतामा रमाउनुहुन्छ
र गुमाउनुहुन्छ परिवारको सुन्दरताका लागि
आफ्नो सौन्दर्य
अनि त
बा र बाहरू नलेखिएको काव्य बन्नुहुन्छ
नसुनिने कविता कोरिनुहुन्छ
र धकेलिरहनु हुन्छ युगलाई आफ्नै स्वाभिमानले
पुस्ता दर पुस्ता कर्तव्य हस्तान्तरण गर्दै
कठोर हुनुको उपनाममा सर्वस्व सुम्पँदै
बाहरू नबनिएका शालिक
नदेखिने मन्दिर हुनुहुन्छ
त्यसैले बाहरू साधै स्तुत्य हुनुहुन्छ
पुज्य हुनुहुन्छ ।
ऋषभदेव घिमिरे, गोदावरी
[email protected]