समाचार

काठमाडौँ ।
नेपाल प्रज्ञा- प्रतिष्ठान, सामाजिक शास्त्र विभागले ‘नेपालका जातीय सामाजिक संस्कार’ भाग- ९ को प्रकाशन गरेको छ ।
नेपालका विभिन्न जातजातीको बारेमा जानकारी दिने र उनीहरूको संस्कारलाई संरक्षण गर्ने उद्देश्यले तयार पारेर प्रकाशन गरिएको यो पुस्तकमा लोपोन्मुखलगायत २० जातका जातीय र सामाजिक संस्कार समेटिएको छ । यसमा शेर्पा समुदाय र तिनका सामाजिक संस्कार, बाम्बुले राईको सामाजिक तथा सांस्कृतिक परिचय, डगौरा थारुको जातीय सामाजिक संस्कारहरू, चुनरा जातिका जातीय संस्कार, सुरेल, बनकरिया, तोक्पेगोला, लाप्चा, जिरेललगायत २०जातका जन्म, विवाह र मृत्यु संस्कारबारे समावेश गरिएको छ ।
‘नेपालका जातीय सामाजिक संस्कार’ भाग- ९ प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसाल र विभागका सदस्य नारायण शर्माले संयुक्त रूपमा सम्पादन गर्नुभएको हो । आ-आफ्नो जातीय संस्कार र सामाजिक रहनसहनको बारेमा अध्ययन गरी सम्बन्धित समुदायका विज्ञहरूका लेख प्रकाशित गरिएको छ । प्राज्ञ रिसालका अनुसार लेखहरू तत्जातिका संस्कारहरूका विषयमा अध्ययन अनुसन्धान गर्न चाहने अध्येता, विद्यार्थी र सबै पाठकहरूका लागि उपयोगी हुने कुरा उल्लेख गरिएको छ ।
यसबारे यसअघि पनि विभिन्न जातजातिका सामाजिक संस्कारलाई समेटेर उपयोगी पुस्तक प्रकाशन हुँदै आएको हो । प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले यसअघि नसमेटिएका जातजातिका जातीय संस्कारलाई आगामी भागहरूमा क्रमशः समेटिने बताउनु भएको छ ।