• २०८२ माघ २९, बिहीबार

कविता माथि व्यंग: फुरेन कविता

चेतन काफ्ले

चेतन काफ्ले

छाती चिरेर, कागज छ अगाडि
लेख्नलाई ठिक्क, कलम छ तयारी ।
कलम टोकेर, धेरैबेर घोरियो
बनेन कविता, कागज त्यसै कोरियो ।।

मनलाई भिरपाखा, पखेरा डुलायो
गरीब झुपडि, बस्ती बस्ती कुदायो ।
कलम टोकेर, धेरैबेर घोरियो
पाएन कविता, कागज त्यसै कोरियो ।।

बर्षा बाढी पहिरो, ल्याउन खोज्यो सुनामी
हिमाल पहाड डढेलो, खोज्यो खरानी ।
कलम टोकेर, धेरैबेर घोरियो
फुरेन कविता, कागज त्यसै कोरियो ।।

तोप गोला बुद्धशान्ति ,संझ्यो सबैतिर
निराकार आकाश पताल डुल्यो चारैतिर ।
कलम टोकेर, धेरैबेर घोरियो
देखेन कविता,कागज त्यसै कोरियो ।।

सुगन्ध गन्ध गुलाफ अत्तर अनि
सुरा सुन्दरी मदहोस, जुवा पनि ।
कलम टोकेर, धेरैबेर घोरियो
भेटेन कविता, कागज त्यसै कोरियो ।।


चेतन काफ्ले