• २०८३ बैशाख २, बुधबार

‘लघुकथासंग्रह ‘आवाजमाथि परिचर्चा सम्पन्न

काठमाडौँ ।

स्रष्टा साँझ अमेरिकाले लघुकथाकार सुरेशकुमार पाण्डेको ‘आवाज’ लघुकथासंग्रहको परिचर्चा गरेको छ । स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुममार्फत ‘आवाज’ लघुकथासंग्रहको परिचर्चा भएको छ । उक्त कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, दीपक लोहनी र खेमराज पोखरेलले लघुकथाको परिचर्चा गरेका थिए । लघुकथाको सैद्धान्तिक मान्यताका आधारमा कृतिको परिचर्चा भएको हो ।

कार्यक्रममा सत्या अधिकारीले कृतिको समीक्षा लघुकथा वाचन गरेकी थिइन् । वाचित लघुकथाले शैक्षिक बेतिथिविरूद्ध बुलन्द आवाज उठाएको बताए ।
त्यस्तै डा. गौतमले कालखण्ड दोषमुक्त भएको सङ्ग्रहका रूपमा कृति आएको बताए । परिचर्चाकार दीपक लोहनीले कृतिले उठाएका विचारप्रति मन्तव्य प्रस्तुत गरेका थिए । लघुकथामा लघुकथाकार पाण्डेले समाचार, सामाजिक घटना र जीवन भोगाइ सुन्दर रूपमा प्रस्तुत गरेका बताए ।

परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सबल र दुर्वल पक्षको कुरा राखेका थिए । अग्र्यानिक भाषा, विविध विषय, स्वैरकल्पना र व्यङ्ग्यको सशक्त प्रयोग, लघुत्व लघुकथाका सबल पक्ष भएको बताए । त्यस्तै कौतुहूलको क्षय, विषयको दोहोरोपन, फितलो सम्पादन , परम्परावादी विचार , प्राभवकारिता कम हुनु, कथ्य चयनमा कमजोरी, केही लघुकथामा समापनको बिस्तार दुर्बल पक्ष भएको बताए ।

कार्यक्रममा उपस्थित कृतिका सम्पादक वसन्त अनुभवले बोलेको, देखेको कुरालाई दुरूस्तै लेख्ने स्वभावले गर्दा कमीकमजोरी रहनु स्वभाविक ठाने । औपचारिक शिक्षा नभए पनि छिटो र नियमितरूपमा लेख्ने स्रष्टाको कलमको प्रशंसा गरे । प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा लता के. सी र प्रकाशकका तर्फबाट यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभ कामना र बधाई दिएका थिए । कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राखेका थिए ।