समाचार
उनीसँग फेसबुकमा मित्रता गाढा हुँदै गएको थियो । भेटघाट र बोलचाल भने भएको थिएन । एक दिन उनले भेट्ने तीव्र इच्छा व्यक्त गरिन् । म बाइक लिएर उनलाई भेट्न काठमाडौँ तिर हुइँकिएँ ।
बानेश्वरको चोकनिर भेट्ने र कतै घुम्न जाने भनेर हाम्रो फेसबुक म्यासेन्जरमा कुराकानी भएको थियो । म उनले दिएको समय भन्दा अगाडि नै उक्त स्थानमा पुगेर उनको प्रतीक्षामा बाइकमा बसिरहेको थिएँ । मैले आफ्नो बाइक नं. हुलिया म्यासेजमा दिएको थिएँ ।
एक महिला मेरो बाइक नजिकै आइन् मास्क र चस्माले उनको अनुहार छोपिएको थियो । मेरो अनुहारमा पनि मास्क र चस्मा थियो । उनी अलि हतारमा देखिन्थिन् । उनले चोभार जाऊ न है सर भनिन् ।
मैले अलमल नगरी हस् हुन्छ नि भन्दै बाइक स्टार्ट गरेँ उनी चुपचाप पछाडि बसिन म चुपचाप बाइक हुइँक्याउँदै अगाडि बढेँ । हामी बल्खु हुँदै कीर्तिपुर मोडियौ रमाइलो ठाउँ लिएर जान लागिन भन्दै म मनमनै फुरुङ्ग हुँदै थिएँ ।चोभारको फनपार्क पुगेपछि यही रोक्नुस् है सर भनिन् मैले बाइक रोकेँ । उनी बिस्तारै ओर्लिन र ब्यागबाट पैसा निकाल्दै भनिन्- ‘सर पठाओको भाडा कति भो ?’ म अकमक्क पर्दै उनको मास्क भित्रको अनुहारलाई गहिरिएर नियाल्दै थिएँ ।
किशन पौडेल