• २०८१ असार २ शनिवार

अनादिक्रम

बसन्त चौधरी

बसन्त चौधरी

हिमालमा थपिएर खातखात हिउँले
अग्लिएको हिमालको उचाइमा
ठोक्किएर मुस्काएका
स्वर्णिम घामका किरणहरू
चम्कीचम्की इन्द्रधनुषी विम्बमा
धर्तीतिर पोखिएर हाँस्दा
लाग्छ मलाई
शिशिर जाने वेला भएछ !

फाँट र मैदानभरि
नाचेको
तुवाँलो, हुस्सु अनि कुहिरोभित्र
चिसो हावामा कामिरहेका
प्राकृतिक अस्तित्व,
जूनको चम्किलो आभामा
सरसराइरहेको मौसम
शीतका आँसुले भरिएका आँखा
पुछेर धर्तीले
वाफिलो निश्वास फ्याँक्दै
केही पर्खिरहेको देख्दा
लाग्छ मलाई
सूर्यले मायालु गर्मी बोकी
भेट्न आउने वेला भएछ !

नाङ्गिएका रुख
बुट्यानका उजाड रूप
उराठिलो दृश्यको फाँटफाँट हुँदै
मुना, मजुरा र नवपल्लवित टुसाहरू
गर्भमा बोकेर
अल्झीअल्झी पतकरमा
छोपिएको सुन्दर मधुमास सामु
प्रकृतिको मौन रोदन देख्दा
लाग्छ मलाई
वसन्त आउने बाटो खनिँदैछ !

ऋतुका आरोह- अवरोहको प्रवाहमा
वैशाख र पुसको भोगाइमा
जाने- आउने मौसमको नियममा
बाँधिएर बग्दाबग्दा
लाग्छ मलाई
परिवर्तन त सृष्टिको नियम पो रहेछ
शिशिरपछि आउने वसन्त जस्तै !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)