समाचार
काठमाडौं ।
लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८२’ यस वर्ष साहित्यिक पत्रकार तथा लघुकथामा समेत कलम चलाउँदै आएका साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजको हालै बसेको कार्यसमिति बैठकले छनोट समितिले सिफारिस गरेको निर्णयलाई अनुमोदन गर्दै उक्त सम्मानको घोषणा गरेको हो ।रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मिएका साहित्यकार भौकाजीका लघुकथासंग्रह ‘यात्रापछि यात्रा’ सहित कविता, बालकथा, व्यंग्यसंग्रह गरेर आठ वटा कृति प्रकाशित छन् ।
ऐतिहासिक ‘शारदा’ मासिक साहित्यिक पत्रिकालाई विगत १३६ अंकदेखि सम्पादन गर्दै आएका भौकाजीले १५० भन्दा बढी कृतिहरूको सम्पादन गरेका छन् । भौकाजीको सम्पादनमा ९९ जना लघुकथाकारहरूको संयुक्त संग्रह ‘छचल्का’ प्रकाशित भइसकेको छ । उनी अर्को संयुक्त लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशनको तयारीमा रहेका छन् ।
राष्ट्रिय कविता महोत्सव २०५२ मा स्वर्णपदक प्राप्त गरेका भौकाजीले युवावर्ष मोती पुरस्कार, भैरव अर्याल पुरस्कार, नातकाजी योगदान पुरस्कार प्राप्त गरेका छन् । लघुकथा समाजले आउँदो भदौ ५ गते मनाउने लघुकथा दिवसका दिन उक्त सम्मान प्रदान गर्ने जनाएको छ ।
