• २०८२ असार ३१ मङ्गलबार

श्रीलङ्कामा सात दिन मिरिसामा ब्युझिएर एलातिर उक्लिदै

ईश्वर पोखरेल

ईश्वर पोखरेल

हामी भोलि बिहान सखारै मिरिसाबाट एलाका लागि हिड्नु छ । मिरिसाबाट एला सार्वजनिक बसमा जाने हाम्रो योजना छ । सार्थकले काठमाण्डौमै भनेको हो- ‘मिरिसाबाट एला चाहिँ हामी सार्वजनिक बसमा जानेछौं र त्यो यात्रा चार घन्टाको हुनेछ ।’ सार्वजनिक बस यात्राका लागि टिकट रिजर्भेसन हुने कुरा भएन; रिजर्भेसन थिएन । यत्ति भने पक्का थियो: भोलि बिहान यथासम्भव चाडै यात्रा प्रारम्भ गर्नु पर्छ । त्यसैले मिरिसाको हामी बस्ने ‘पिस रिसोर्ट’को सञ्चालकलाई हामीले सोधेका थियौं- ‘एला जानका लागि बस कहाँ पाइन्छ; कति बेला पाइन्छ ?’ अनि सोधेका थियौं- ‘ब्रेकफास्ट कति बजे तयार हुन्छ ?’

बसोबासका लागि होमस्टे रिजर्भेसन गर्दा कुनै होमस्टेले ब्रेकफास्टको अफर गरेका हुँदारहेछन् र कतिपय होमस्टे ब्रेकफास्टको सवालमा साइलेन्स रहदा रहेछन् । मिरिसाको होमस्टेमा ब्रेकफास्टको अफर थियो । जबाफमा ब्रेकफास्टको सन्दर्भमा हिजो उसले भनेको थियो- ‘आठ बजेतिर ।’ आठ बजेको ब्रेकफास्टलाई कुरेर हामी यात्रामा ढिलो निस्किने कुरा हुन सक्दैनथ्यो । र, हामीले सोचेका थियौं: बाहिरै गर्नुपर्ला- ब्रेकफास्ट ।

तर हिजो बेलुका ‘कोकोनट ट्री हिल’बाट फर्किदा हामी बाबुछोराका बीचमा मिरिसाबाट एला जानका लागि सार्वजनिक बस नचढ्ने हो कि भन्ने बारेमा विचारविमर्श हुन थाल्यो । अब हामीलाई यात्रामा लामो समय बिताउनु भनेको दर्शनीय स्थल र दृश्यमा जुम्सो बन्नु हो भन्ने लाग्दै आएको थियो । समयको उचित व्यवस्थापन गर्न चुकियो भने हेर्छु भनेका स्थान र पुग्छु भनेको ठाउँ पनि छुट्ने रहेछन् भन्ने कुरा हामीले कोलम्बोमै बुझेका हौं । सार्थकले भन्यो- ‘सार्वजनिक बसभन्दा महङ्गो पर्छ; तर यहाँ एला जानका लागि ट्याक्सी पाइने रहेछ ।’

ट्याक्सीको भाडा भने झसङ्ग पार्ने स्तरको थियो-२४ हज्जार श्रीलङ्कन रुपियाँ ।

‘धेरै महङ्गो पर्ने रहेछ, सानु !’

हामी सामान्यतया छोराहरूलाई घरेलु नामले नै सम्बोधन गर्न सहज मान्छौं : जेठो छोरा सम्यकलाई ‘बाबु’ भन्छौं; कान्छोलाई ‘सानु’ । सानु सार्थकको घरेलु नाम हो ।

फेरि हामी वस्तुको मूल्य बुझ्दा सामान्यतया हाम्रो रूपैयाँमा बुझ्दा रहेछौं; यसरी बुझ्दा चार घन्टाको बाटोमा ट्याक्सी भाडा २४ हज्जारभन्दा जिभ्रो टोक्ने स्तरकै महङ्गो हो । केही वर्षअघि मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहका विद्यार्थीसंग शैक्षिक भ्रमणका निम्ति निस्किदा हामी आठ–दश हज्जारमा सुमो रिजर्भ गथ्र्यौं । यहाँ चार घन्टाको दूरीमा चौबिस हज्जार ट्याक्सी भाडाको सन्दर्भ आएपछि मैले सुमोको त्यो भाडा झलक्क सम्झिएँ । तर श्रीलङ्कन मुद्रा त नेपाली मुद्राभन्दा आधा सस्तो हुन्छ । यतातिर हाम्रो ध्यान पछि मात्र जाने रहेछ ।

हामी पर्यटनका लागि निस्किनु भनेको पैसा खर्च गरेर रमाइलो किन्न निस्किनु हो ।

हामीले १८ हज्जार श्रीलङ्कन रुपियाँमा मिरिसाबाट एला जानका लागि ट्याक्सी बुक गरयौं । भोलि बिहान सात बजे ट्याक्सी होमस्टेमै आइपुग्छ । हामीले होमस्टे सञ्चालकलाई बेलुकै भन्यौं- यो कुरा । हाम्रो आशय भोलि बिहान उनी चाडै उठून् र हामी चाडै विदाबारी हुन पाऔं भन्ने थियो ।

आज ७ फाल्गुण २०८१ अर्थाद १९ फ्रेबुअरी, २०२५ । हाम्रो प्रजातन्त्र दिवस आज । हामी भने श्रीलङ्काको मिरिसाको ‘पिस रिसोर्ट’मा ब्युझिएका हौं । हामीलाई आज हिन्दमहासागरको निकटकिनारामा रहेको मिरिसाबाट एलातिर उक्लिनु छ ।

बिहान हामीले झोलामा सामान मिलाउदाओर्दा बाहिर ट्याक्सी आइसकेको रहेछ । मोबाइलमा उसको म्यासेज आयो । हामीले जवाफ दियौं- ‘तपाईं सात बजे आइपुग्ने अपेक्षा गरेर हामीले समयको व्यवस्थापन गरेका हौं । केही समय पर्खिनुहोस् ।’

होमस्टे सञ्चालकले ६:१५ मै ब्रेकफास्ट तयार गरी सकेछन् । यो कस्तो जागरुकता ! कस्तो इमानदारिता !! व्यवसायप्रतिको यो कस्तो निष्ठा !!! तपाईहरूलाई ब्रेकफास्टको अफर गरेको त हो; तर तपाईहरू चाडै जान लाग्नु भएकाले ब्रेकफास्ट तयार गर्न भ्याइएन भनेर यिनले किन भनेनन् हँ ? यात्रामा यदाकदा ‘मुर्ख’हरू भेटिन्छन्; श्रीलङ्काको यस यात्रामा यस्ता अलिक बाक्लै भेटिएका छन् । थाहा भयो- इमेज चानेचुने कुरा होइनरहेछ; इमेज उसै बन्दोरहेनछ !
ब्रेकफास्टमा थियो- टोस्ट, जाम, बटर, अम्लेट, फलफूल र चिया ।

हामी खानपानमा व्यस्त रहदा ती हामीसंगै बसे । भन्दैथिए- ‘तपाईहरूको यस रुटमा मनिटर लिजार्ड देखिने सम्भावना हुन्छ; जङ्गली हात्ती पनि देख्न पाइन्छ । चनाखो रहनु होला ।’

झोला बोकेर हामी बाहिर निस्किदा मूल घरबाट उनी हामीलाई हेर्दै रहेछन् । हात हल्लाएर भने- ‘शुभ यात्रा !’

ट्याक्सी ड्राइभर ३५ वर्षजतिको युवा छ । सीबीडी ७७१५ उसको ट्याक्सी नम्बर । ऊ बोलैया छ । बौद्धमार्गी हो- ऊ । हामीलाई धर्मको सन्दर्भ अगाडि आएको निको लाग्दैन । तर उसैले सोधेपछि हामीले भन्नै परयो- ‘हिन्दू हौं ।’ अनि उसैले भन्यो- ‘मेरो श्रीमती हिन्दू हो ।’ झलक्क मनमा आयो- ‘यिनीहरूका छोराछोरी कुन धर्म मान्दा हुन् ? त्यो पुस्ताको धर्मसम्बन्धी समझ कसरी निर्माण हुँदो हो ?’

सवल नेपाली राष्ट्रियताको सवालमा हाम्रा डोरबहादुर विष्ट भन्ने गर्दथे- ‘हिमालको केटाले तराईकी केटी बिहे गर्नु पर्छ; मेचीकी केटीको विवाह महाकालीको केटासंग हुनुपर्छ; दलित र उच्च जातका बीचमा वैवाहिक सम्बन्ध गाँसिनु पर्छ । एउटा धर्मावलम्बीको अर्को धर्म मान्ने समुदायसंग वैवाहिक सम्बन्ध रहनु पर्छ । यसरी विविध जात, क्षेत्र र धर्ममा रहेका समुदायलाई परस्परमा विभेद नरहने गरी मुछ्नु पर्छ ।’

श्रीलङ्काको क्षेत्रफल ६५, ६१० वर्ग किलोमिटर छ । जनसांख्यिक संरचना हेर्दा श्रीलङ्कामा सिंहली ७४ प्रतिशत, तमिल १७ प्रतिशत, मुर ७ प्रतिशत र अन्य २ प्रतिशत छन् । धर्मगत आधारमा हेर्दा श्रीलङ्कामा बौद्ध ६९ प्रतिशत, हिन्दू १५ प्रतिशत, क्रिस्चियन ८ प्रतिशत, मुस्लिम ७ प्रतिशत र अन्य १ प्रतिशत छन् । यसरी श्रीलङ्कामा बुद्ध धर्म सबैभन्दा ठुलो जनसंख्याले अपनाउने धर्म हो । यहाँको संविधानमा “श्रीलङ्का गणतन्त्रले बुद्ध धर्मलाई पहिलो स्थान दिनेछ र तदनुसार बुद्ध शासनको संरक्षण र पालनपोषण गर्नु राज्यको कर्तव्य हुनेछ“ भनेर किटिएको छ । अतः बौद्ध धर्मलाई श्रीलङ्काको “आधिकारिक धर्म“ मानिएको छ । श्रीलङ्कामा हिन्दुहरू दोस्रो ठूलो धार्मिक अल्पसंख्यकका रूपमा छन् । यहाँ ई. पू. तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकका छोरा महिन्दाको प्रवेशपछि श्रीलङ्कामा बौद्ध धर्मको प्रभाव विस्तार भएको हो । यसअघि यहाँ हिन्दू धर्मको प्रभाव थियो भन्ने गरिन्छ ।

रमाइलो छ- हाम्रो यस यात्रामा सडक वरपरका दृश्यावली । हाम्रो यात्राको यस रुटमा शहरबजार उति पर्दैन; ग्रामीण इलाका बढी पर्छ । शहरबजारको निर्माण सडकको चोक जस्ता ठाउँमा भएको देखिन्छ । ग्रामीण घरहरू भने सडकप्रति निरपेक्ष रहेका देखिन्छन् । चिया, कफी, रबर र खाद्यान्न श्रीलङ्काका मुख्य उत्पादन हुन् । पेशागत संरचना हेर्दा श्रीलङ्कामा कृषिमा ४६ प्रतिशत, उद्योगधन्दामा २७ प्रतिशत, सरकारी तथा गैरसरकारी सेवामा २६ प्रतिशत र विविध अन्य क्षेत्रमा १ प्रतिशत जनसंख्या संलग्न छन् । हाम्रो यस रुटमा पर्ने क्षेत्रमा भने नरिवल, केरा जस्ता फलफूल र खाद्यान्नको खेती हुने रहेछ । यो खेतमा धान झुल्ने सिजन रहेछ- यहाँ ।

हामीलाई सबैभन्दा बढी यहाँका दुई कुराले प्रभाव पारेका छन् ।

एउटा हो- यहाँको सडक सुरक्षा व्यवस्था ।
हामीले यहाँको यस रुटमा पिच उक्किएको सडक देखेनौं । पिच उक्किएर टालिएको सडक पनि देखेनौं । कस्ता होलान्- श्रीलङ्काका सडक प्राविधिकहरू र कसरी निर्माण गरिदा हुन्- यतातिर सडक ? हाम्रो ड्राइभर भन्दैछ- ‘यी सडकमा गाईवस्तु आइपुग्दैनन् । वन्यजन्तु पनि नआऊन् भनेर सडकमा गतिलो बेरा लगाइएको हुन्छ ।’ ऊ थप्छ- ‘यहाँ सडकलाई वर्गीकृत गरिएको हुन्छ । कतिपय सडकमा त ट्याक्टर, ट्रक, टुकटुक जस्ता वाहनका के कुरा; मोटरसाइकिल पनि चलाउन पाइदैन । यस सडकमा पनि तपाईहरूले ती वाहन देख्नु भो त ? यहाँ पनि ती निषेध छन् ।’

र, अर्को हो- वनजङ्गलको संरक्षण ।
कति बाक्लो/अटाब्बे जङ्गल ! छिचोल्नै सकिदैन जस्तो । वर्षभरि नै बर्सादको सम्भावना रहने रहेछ- श्रीलङ्कामा । हाम्रो जस्तो चैतमास यहाँका बोटविरुवा र वनजङ्गलले भोग्नै नपर्ने । डडेंलोको सम्भावना पनि भएन । हाम्रा तराईका जङ्गल जस्तो काठको चोरी निकासीको अवस्था पनि नहुने होला यहाँ । वनजङ्गलको संरक्षणमा समुदायलाई जिम्मेवार बनाइएको होला । नत्र यति रहरलाग्दो वनजङ्गल कसरी सम्भव छ !

हामी जङ्गलको बीचतिरै दौडदै छौं । घडीमा लगभग दश बजेको छ । ड्राइभर भन्दैछ- ‘यहाँको दही चाख्नु हुन्छ ? यहाँ मह हालेको दही पाइन्छ ।’

दहीमा मह ! हामी यो संयोजनको स्वाद लिन चुक्ने कुरै हुँदैनथ्यो ।

जङ्गलको बीचमा दुईतीनवटा छाप्रा छन् । माटाको फरक कपमा तहतह पारेर राखिएको छ- दही । व्यापारीको भूमिकामा छिन्- युवतीहरू । माटाको चाक्लो कपसहित दही क्रेताको हातमा दिएर त्यही दहीमा खन्याइदोंरहेछ- मह । चम्चाको साटो केराको पात पनि त्यसैमा । हाम्रो ड्राइभर दही र महलाई परस्परमा घोलघाल पारेर केराको पातले उबाएर खाँदैछ । हामी उसैको सिको गर्छौं ।

दही साँच्चै मीठ्ठो छ ।

हामीले मिरिसा छाडेको तीन घन्टाभन्दा बढी भयो । हामी एलातिर उक्लिदै छौं । बाटो अझै बाँकी छ । ट्याक्सीमा आउने अडानमा कायम रहेका भए कतिबेला चढ्थ्यौं होला- हामी बसमा ! यतिबेला कहाँ हुन्थ्यौं होला ! ट्याक्सीमा घुँइकिने हाम्रो अठोट उचित निर्णय भएछ ।


ईश्वर पोखरेल