• २०८२ भाद्र २७, शुक्रबार

झिक्नाभिर

 कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

हजार बर्ष अगाडि
मेरो पुर्खाले सुन्दर सपना बुन्दै
छिचोल्दै हिडेको अक्करे भिर
जहाँ पुर्खाका जीवनका
पदचाहरु र
जराहरु गाडीएका छन्
खिटकेश्वरको देउरो यसै बाटो लगे
मेरा पुर्खाले
कैयौं दुलही भित्रिए
कैयौ चेलीबेटी घर पठाइए
इतिहासको एक्लो साक्षी बनेर
वर्षौ वर्षदेखि निरन्तर
उभिरहको छ झिक्नाभिर

कस्याटापु भन्दा राम्रो
अन्तुडाडाको जस्तै
सुर्योदय हेर्न सकिन्छ
घामको पहिलो किरण पोखिएर
हिमाल मुस्कुराउँछ
वनभरी कोइराल र बुराउजहरु फूल्थे
काफल र ऐसेलु पाक्थे
कलकल थपल खोला बगिरहरन्थ्यो
त्यो पनि एक्लो साक्षी बन्यो ।

त्यसै बाटो मेरी इजाले
नवीन सम्भावना कल्पिदै
गाजोको भारी बोकेको थियो
मेरी बज्यैको जीवन पनि यसैसँग
जोडिएको थियो
दमाउँढुङ्गा, पोखरा इजर काटेको
बुङा, कोइरालपातल, नयाँतल्ल
खर्क गएका
एकादेशका कथा जस्तै छन्

गोधुलीको पहेँलो घामसँगै
मृगहरु उप्फ्रिन्थे र
बुढो बाघ बस्तुभाउ फर्किने
बाटो ढुकेर बस्थ्यो
मौका परे झ्याप मार्थ्यो

कैलपालले बोलाउने बिराली
यसै बाटो आउथ्यो ।

ओखलै दीदी आउली खाजा ल्याली
आशको ओखलमा चिउरा
कुटिन्छ कि कुटिदैन ?
कुमाउ सुगन्ध पुग्ने सिलंगो
फुल्छ कि फुल्दैन
जति टिप्दा नसकिने गोलादेउको काफल
फल्छ कि फल्दैन ?

बुङामा खर्क छैनन
नयाँतलमा खेती लाग्दैन
इजर पनि काटिदैन
भैरवथान निरको
बूढो पिपल सुकि सक्यो
रिखिमल्लाको गाजो
कोहि पनि काटदैनन्
गिलासपुरको झरो बाल्थे
लल्याको बाबियो ल्याइन्थ्यो
बसरका बाँस
कल्लाबाटका दाउरा
यि यिनै मेरो इतिहासका
साक्षी हुन

सकिना मकिना
बैकल्पिक खानामा प्रयोग हुन्थे
दुई दिनको चार छाक
कोइरालले टार्थ्यो
तिमुला, मेल, गीठा, तरुल
झिक्नाभिरका
उपहार नै हुन

ठिङ एक्लो उभिएको छ
निन्याउरो अनुहारमा
घोसे मुण्टो लगाएको छ
बनेली गाउँदैन
हप हप कोहि भन्दैन
बथानका बथान गाई, भैंसी
चर्न पनि आउँदैनन

गुल्जार थियो बस्ती
खुशी हुन्थे भिर पाखा पनि
घना जंगल भयो नयाँतल
कोइरालपातल
एक्लो, एक्लो नितान्त एक्लो छ
झिक्नाभिर !!!


कैलासकुमार पाण्डेय
परशुराम ३ थपला, डडेल्धुरा