• २०८२ बैशाख ८ सोमबार

सपनाको गीत

अबिरल कार्की

अबिरल कार्की

बतासका लहरहरूमा भौतारिने
तिमा कपासको भुवाजस्तै
कोमल–कोमल हुनु
जीवनका शरदहरूमा रङ भर्ने
तिमी जूनका किरणहरू जस्तै
शितल–शितलहुनु
थाप्लोको डाम छामेर निधारको पसिनामा
झुमेर आनन्दित बन्न
मकैको पात बजाउँदा बहने
चौतारीको चिसो–चिसो वतास हुनु
युगौं–युगदेखि अरूले कोट्याई दिएका घाउका खाटालाई
अस्तिवसँग सङ्घर्ष गर्दै
मायाको मलम भरिदिने तिमी हुनु
यस्तो भए जीवन त सँधै दुखोस्
लाग्ने थियो, दुखे पनि आनन्द
सबैलाई दुख्न नै मन लाग्थ्यो।

हिँडिरहेको यो कहाँपुग्ने
जीवनयात्रामा गन्तव्य बनिदिनु
विपनाको दुखलाई भुल्ने
मिठा–मिठा सपना भइदिनु………….

लाग्दछ यो जीवनको शून्यतालाई
लाग्दछ सपनाको निर्मलतालाई
तिम्रो रुपको वर्णन गर्नेहरूको शब्दहरूमा
मपनि कहिले काहीँ अलङ्कार बनौँ
तिमीलाई सम्बोधन गरिने
नामहरूमा उपमा बनौँ
तर, खोइशब्दहरूले मेरो विचारको
विशालतालाई समेट्न सकेको
खोइ मेरो भावनाहरूको भावहरूमा सागर बगेको

म तिमीमा तिम्रोमा हाम्रोको खोजीगर्दै छु
म म–मा पनि हाम्रोको खोजीगर्दै छु
तिमी पनि नाममा बाँडिएछौ
मपनि नाममा बाँडिएको छु
तिमी जात, थर, गोत्र अनि लिङ्गमा विभाजित भएछौ
म पनि उस्तै भएको छु
तिमी त नाम, जात, थर गोत्र, लिङ्गले
परिचित भएछौ
बिल्डिङ, गाडी पैसा आदिमा बाँचेकी रहेछौ
म पनि उसरी नै बाँचेको छु
मैले हाम्रो हराएको छु
तिमीले पनि हाम्रो हराएछौ
मैले मान्छे हराएछु
तिमीले पनि मान्छे हराएछौ
मअहिले अरूमा होइन
आफुमा मान्छे खोज्दैछु
तिमीपनि म–माहोइन
आफैमा खोज मान्छे
झक्झकाउ, जगाउ अनि उठाउ
फेरि निदाउन नदेउ
उसलाई यो, सुन्दर प्रकृतिको हरिया डाँडा
छङ–छङ जीवन सुसाउँदै बहने
झरनाको गीत सुनाउनु छ
बतासले चैतमा बाँसका पातहरूमा
जीवनको विरह प्याट–प्याट
बजाएको पनि सुनाउनु छ
उसलाई अझथुप्रै–थुप्रै सुनाउनु छ ।

उसलाई पेट नअघाएको
पेट अघाए पनि जिब्रो चल्बलाएको वस्ती देखाउनु छ
देखाउनु छ, मान्छे मर्दा काखीबज्ने
कुकुर मर्दा अन्त्योष्टि छाप्ने घर पनि देखाउनु छ
यस्ता थुप्रै–थुप्रै देखाउनु छ
उसलाई धुलो उडाउँदै आएको गोधुलीमा
कालो चियाको आनन्दपनि देखाउनु छ।

छानाबाट पानी चुहिन्दा राति ओछ्यान छेउमा
भाँडा थापेर अर्कोतिर तप–तपको आवाजमा
जीवनको छट्पटीलाई बोध गराउनु छ
यस्ता तमाम के के गराउनु छ
यो सबै बोध गर्ने म मान्छे
तिमीपनि यस्तै मान्छे
आफुभित्रको मान्छे !


अबिरल कार्की, सिक्किम
[email protected]