समाचार

काठमाडौँ ।
नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बाल साहित्य समाजको सहकार्यमा आयोजित दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी स्थलगत विद्यालयस्तरीय बालकथा लेखन प्रतियोगिताको नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले माघ २० गते एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । उक्त प्रदर्शनी माघ २४ गतेसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुला रहनेछ । बालकथा लेखन प्रतियोगिता माघ २२ र २३ गते हुने कार्यक्रम रहेको छ । प्रदर्शनीमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजका अतिरिक्त एकता प्रकाशन, कोपिला किताब, विवेक सिर्जनशील प्रकाशन, परिचय प्रकाशन, अक्षरधाम, साङ्ग्रिला बुक्स, रिडमोर, भुँडीपुराण प्रकाशन, ज्ञानवृक्ष प्रकाशन, रातो बङ्गला किताब र खोजी प्रकाशन गृहको सहभागिता रहेको छ ।
प्रदर्शनीमा बालकथा, बालउपन्यास, बालकविता, चित्रकथा, बालजीवनी, बालनिबन्धका साथै विदेशी बालसाहित्यको नेपाली अनुवाद र अन्य बालोपयोगी पुस्तकहरू रहेका छन् । सोही कार्यक्रममा नेपाल बालसाहित्य समाजबाट प्रदान गरिने विभिन्न पुरस्कार र सम्मान पनि समर्पण गरिएको थियो ।
पुरस्कृत हुनेहरूमा मित्रलाल पंज्ञानीलाई नानी र चरी (बालकाव्य, ८ वर्षभन्दा कम) र हरि खनाललाई आमा (बालउपन्यास, ८वर्षभन्दा माथि) का लागि नेबासास बालपुस्तक लेखन पुरस्कार (२०७८ तथा इन्द्र चौधरीलाई नयाँ वनपाले (चित्रकथा, ८ वर्षभन्दा कम) र सिर्जना राईलाई साङ्केनको खुल्दुली (चित्रकथा, ८ वर्षभन्दा कम) का लागि नेबासास बालपुस्तक लेखन पुरस्कार(२०७९ समर्पण गरियो । यस्तै कलाग्रज बिलाई बाघसँग जम्काभेट (चित्रपुस्तक) र कृषा ताम्राकारलाई यःमरि चित्रपुस्तकका लागि क्रमशः २०७८ र २०७९ सालको नेबासास बालपुस्तक चित्राङ्कन पुरस्कार समर्पण गरिएको थियो ।
कार्यक्रममा डा. तीर्थबहादुर श्रेष्ठलाई नेबासास मुकेश-जनक बालविज्ञान पुरस्कार-२०८१ र डा.अम्बिका घिमिरेलाई नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार समर्पण गरियो । साथै बालसाहित्यको प्रकाशनमा योगदान र्पुयाएकोमा दुई प्रकाशन संस्था रत्न पुस्तक भण्डार र एकता प्रकाशनलाई क्रमशः २०८१ र २०८१ सालको नेबासास बालसाहित्य प्रवद्र्धन सम्मानले सम्मानित गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कुलपति भूपाल राईले बालबालिकाहरूको सिर्जनात्मक क्षमता विकासका लागि पठन संस्कृतिको विकास अपरिहार्य रहेको बताउनुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा बाल साहित्यका सर्जकले बालबालिकालाई प्रोत्साहित गर्ने गरी साहित्य सिर्जना गर्न जोड दिनुभएको थियो ।
कार्यक्रममा पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरू डा. तीर्थबहादुर श्रेष्ठ, रामचन्द्र तिमोथी र मित्रलाल पंज्ञानीले आ-आफ्ना लेखन र प्रकाशन अनुभव प्रस्तुत गर्नुभएको थियो । समाजका कार्यसमिति सदस्य एवम् बालकथा लेखन प्रतियोगिताका संयोजक सुशीला प्रधानाङ्गले प्रदर्शनी र प्रतियोगिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन समाजका महासचिव विजयराज आचार्यले गर्नुभएको थियो ।