समाचार
हामीले भच्चेकतर्फको बाटो रोज्यौँ । भच्चेकतिर पनि घुम्ने भन्दै मौकामा चौका हानेका थियौँ । चोरकाटेबाट बस उत्तर–पूर्व, सिरानचोकतर्फ सोझियो । अलि पर अग्लो र लमतन्न परेको एउटा डाँडो देखियो । त्यसको नाम चित्रेपोखरी रहेछ । यो नाम चलेको पर्यटकीय स्थल पनि हो । अब हामी त्यही डाँडाको उत्तरी काखैकाख हुँदै पाम, थालाजुङ भएर भच्चेकतर्फ लाग्दै छौँ । बाटामा फाट्टफुट्ट मात्र बस्ती भेटिन्थे । नत्र जङ्गलैजङ्गल थियो । उत्तिस, कटुस, चिलाउने, सिरिस, चाँपलगायतका रूख प्रशस्त मात्रामा देखिन्थे । काफल, चुत्रो, धाइरो, लालीगुराँस र ऐसेलुजस्ता बुट्यान एवं ससाना झारपातले पनि जङ्गलको शोभा बढाइरहेका थिए । चराहरूको चिरबिर आवाजलाई भने हाम्रो बसको ह्वाँ–ह्वाँ आवाजले खाइदियो क्यार ! सुन्नै पाइएन ।
अहिले नेपालका पहाडी एवं हिमाली भेगमा पनि वनजङ्गलहरू फस्टाइरहेका छन् । यो स्थानीय स्रोतसाधनप्रतिको जनचेतनाको एउटा नमुना हो । तर वनजङ्गल बढ्नुको अर्को नमिठो कारण पनि छ । त्यो हो-बसाइँसराइ र युवाहरूको विदेश पलायन । जमिन बाँझै रहन थालेपछि जङ्गल नै त हुने हो ! त्यसैले बाँदरलगायतका जङ्गली जनावर पनि बढ्न थालेका होलान् । बसको पछाडितिरको सिटमा बसेका साथीहरू गाउन, बजाउन र ताली पिट्नमै व्यस्त देखिन्थे । झन् पछि त नाच्नेहरू पनि थपिए। निदाउने र झोक्राउने कोही थिएनन् भन्दा पनि हुन्छ। लगभग सबै मस्तमौलाना थिए ।
दोहोरी गायक चिज गुरुङको घर पनि यतैतिर हो ।
एकजना साथीले नजिकैको बस्तीतर्फ सङ्केत गर्दै भने । उनलाई यस्तो कुरा बसभित्रको दोहोरीको माहोलले पनि सुझायो होला, सायद । थालाजुङ बजार कटेपछि बसको साउन्ड सिस्टमलाई पनि झोँक चलेछ क्यार ! अनि ऊ पनि घन्किँदै भन्न थाल्यो-‘धारापानी तिरिक्कै, माया हिरिक्कै…।’ गीत सुन्नेबित्तिकै बसभित्र ताली बज्यो, तरर…। अब सबैको ध्यान गीततिरै मोडियो । गाउनेभन्दा पनि कम्मर मर्काउनेहरू थपिए । यस्तै मौकामा चौका हान्छन् नि त, राम्रोसँग नाच्न नजान्नेहरूले पनि ! यता सँगै बसेका साथीले मलाई कोट्ट्याउँदै भने, “उ त्यो धारापानी हो । त्यो तलपट्टि चेपे नदी बग्छ। पारिपट्टिका बस्तीहरू चाहिँ लमजुङतिर पर्छन् । राइनास, चक्रतीर्थ, भलायखर्क, इलामपोखरी, बिचौर, दूधपोखरीलगायतका ठाउँहरू उतै हुन् । यता नजिकै देखिने सिरानकोट डाँडालाई स्थानीय भाषामा स्यार्तन (सबैको प्रिय अग्लो डाँडो) पनि भनिँदो रहेछ । यतैतिर बाघ भीमसेन र अमरसिंह थापाका जन्मघर पनि पर्छन् रे !” यस्तै रमाइलो माहोलका बीच अजिरकोट गाउँपालिका सुरु भयो । साविकका मुच्चोक, सिम्जुङ, हंसपुर, खरिबोट र ध्याचोक गाउँ विकास समितिहरू मिलेर बनेको रहेछ यो गाउँपालिका। अब वरैबाट भच्चेक बजार पनि देखियो । तर बजारमा नभुली हामी सिधै अलिपर नम्कीमा रहेका होमस्टेतर्फ लाग्यौँ ।
अगाडि बढ्ने क्रममा एउटा साँघुरो घुम्ती (मोड) आयो । त्यहीँ दुईवटा बस आमनेसामने भए । एउटा हामी चढेको र अर्को विपरीत दिशाबाट आउँदै गरेको । बसहरू जहाँका तहीँ रोकिए । दुवै बसका गुरुजीका आँखा एकआपसमा जुधे। सायद पहिले कसले कसलाई साइड दिने भन्ने कुरामै होला! तर हाम्रा गुरु अलि बढी समझदार रहेछन् क्यार ! साइड यिनैले दिए । कुनै लफडा निम्तिएन । केही बेरपछि थाहा भयो, अर्को बसले पनि बैंककै बहालवाला कर्मचारीहरूलाई घुमाउन लिएर हिँडेको रहेछ । यस्तो मेसो पाएपछि हामीमध्येका एकजना साथीलाई भाउन्न छुटेछ क्यार ! अनि उनी च्याँठ्ठिँदै भने, “वर्तमानले भूपूसँग देखाएको तुजुक !”
त्यसपछि बसभित्र हाँसोको फोहोरा छुट्यो । यात्राका क्रममा यस्ता अनेकौँ घटना घटिरहन्छन् । मूल कुरा, आइपरेका घटनालाई कति सहज वा असहज रूपमा लिन सकिन्छ भन्ने मात्र हो । “फूलको आँखामा फूलै संसार…” भनेझैँ!
आजभोलि जताततै होटल र होमस्टे खुलेका छन् । कतिपयलाई त ‘हाइब्रिड’ भन्दा पनि हुन्छ । मतलब, न होटल, न त होमस्टे; दुवैको मिसमासजस्तै ! नाम अनुसारको काम भएन भने तिनको व्यावसायिक दिगोपनमा असर नपर्ला भन्न सकिन्न । यसतर्फ सबैको ध्यान जान जरुरी छ । जे होस्, होटल वा होमस्टेले स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याइरहेकोमा भने जाती नै लाग्छ । यस्तै कुरातर्फ पनि मन डुलाउँदै म त्यतै चउरतिर टहलिरहेको थिएँ । त्यसै क्रममा नजिकै स्थानीय प्रेम तामाङ भेटिए । उनीसँग मैले स्थानीय गाउँघरको चालामालाबारे चासो राखेँ। यति सुन्नेबित्तिकै उनले फेहरिस्त लगाउन थालिहाले । अनि म सुन्दै गएँ ।
त्यहीँ नजिकैको एउटा चिटिक्क परेको घर देखाउँदै उनले भने, “यो घरलाई भाइरल घर पनि भन्छन् । एकजना ब्रिटिस लाहुरेको घर हो । अहिले यसमा कोही पनि बस्दैनन् । घरबेटी भरतपुरतिर छन् । उता माथि डाँडामा बुद्धको गुम्बा छ । यहाँबाट तलपट्टिका मुच्चोकटार, डिहीटार, भुसटार र अलि उताको बुद्धसिंटारलगायतका ठाउँ देखिन्छन् । पाखनवेद, पदमचाल, पाँचऔँले, जटामसी, झारमौरो जस्ता जडीबुटी पनि यता पाइन्छन् ।” गफगाफकै क्रममा हामीसँगै घुम्न आएका अर्का साथी पनि हामी दुईका बीचमा थपिए । उनी यहीँ हुर्कीबढी चितवनतिर गएका रहेछन् । त्यसैले यो ठाउँबारे उनको चासो बढेको होला ।
अब भने ती साथी र प्रेम तामाङ मज्जैले गफिन थाले । म श्रोतामा परिणत भएँ । वर्तमान र भूपू रैथानेहरूबीचको गफ केही बेरसम्मै जमिरह्यो । हामीलाई मौसमले पनि स्वागत गरिरहेको झैँ लाग्थ्यो । त्यही भएर उत्तरतर्फका मनास्लु, गणेश, बुद्ध, लमजुङ र अन्नपूर्णजस्ता हिमशृङ्खलाहरूले घुम्टो उघार्दै दिल खोलेर हाँसिरहेका थिए । त्यसैले मेरो ध्यान प्रकृतितर्फ पनि बाँडिँदै गयो । तर प्रेम तामाङको एउटा वाक्यले मेरो ध्यान फेरि उनैतिर तान्यो । उनले भने, “तपाईं यतै बसोबास गर्ने भए चाहिएजति घरजग्गा सित्तैँमा मिलाइदिन्छु ।” उनको प्रस्तावले मेरा साथी खत्रीजी भने अक्क न बक्क भए । नाजवाफ भएर आफ्नै कपाल कन्याउन पो थाले उनी त ! त्यतिखेरै मेरो मनमा पनि यस्तो सोच पलायो, ‘हो त, हामी सबैको हाल यस्तै हो । घुम्न गएका बेला गाउँठाउँको खुबै प्रशंसा गर्न भ्याउँछौँ। तर थप एक–दुई दिन यतै बस्नुपरे छिट्टै फर्कनका लागि कुनै न कुनै बहाना बनाइछाड्छौँ !’ उता हाम्रा केही साथीहरूले भने होमस्टेको एउटा प्रतीक्षालयमा कब्जा जमाइसकेका थिए । मैले उनीहरूको छेउमा पुगेर जिस्किँदै सोधेँ, “साथी हो, के छ हालचाल ?”
उताबाट लठेब्रो स्वरमा जवाफ आयो, “अरे यार, आजचाहिँ फुक्काफाल !”
अर्कोपट्टिको प्रतीक्षालयमा पनि त्यस्तै माहोल देखियो । हामीभन्दा बेग्लै समूहका तीनजना ठिटा ‘चियर्स’ मै रमाउँदै थिए । उनीहरू पोखरा, काठमाडौँ र चितवनतिरबाट जुटेका रहेछन् । “यस्तै समूहहरू त दिनदिनै आइरहन्छन् । विशेषतः बिदाको दिन पारेर । हप्तामा दुईदिने बिदाले पाहुना आउने क्रम अझ बढाएको छ । मान्छेहरू अहिले एकैछिन भए पनि सहरको बढ्दो कोलाहलबाट बच्ने उपाय खोज्छन् ।” होमस्टेकी साहुनीले हल्का मुस्कुराउँदै यस्ता कुरा सुनाइन् । थोरै खर्च, सहज पहुँच, शीतल हावापानी (करिब १,७५० मिटर), मनोरम दृश्यावलोकन र अर्गानिक खानाको स्वादजस्ता कुराले पनि पर्यटकहरूलाई भच्चेकले तानेको होला !
भच्चेकदेखि वारपाकसम्म
भच्चेकदेखि तल बलुवा (वालुवा) सम्मको यात्रा सुरु भयो । ओरालो र ग्राभेल बाटोमा केही असहजता पनि आए। मादले र सिम्जुङ हुँदै हामी अजिरकोट ५ को दरौदी खोंचमा रहेको बलुवा बजार पुग्यौँ । नदीजन्य पदार्थको सङ्कलन केन्द्र पनि रहेछ त्यो क्षेत्र । गोरखाका पूर्वी क्षेत्र, जस्तै सौरपानी, ढोडेनी र आरुघाटतिर समेत जान मिल्ने चौबाटो पनि रहेछ त्यहाँ । उता चोरकाटेबाट सिधै दरौदीको किनारैकिनार आउने बाटो पनि त्यहीँ मिसिँदो रहेछ । त्यो बाटो अलि सहज र छोटो पनि रहेछ । केही बेर त्यहाँ पनि आ–आफ्ना इच्छाअनुसार खानपिन र रिफ्रेसमेन्ट चल्यो । त्यसपछि हामी अलिकति उत्तरतर्फ रहेको राङवाङ बजार पुग्यौँ । पुल तरेपछि बाटोले दरौदीको किनार छाड्दै गयो । किनार छाडे पनि हामी त्यसैको जलाधार क्षेत्रवरिपरि नै हुने थियौँ । अब बस पूर्वोत्तर दिशातर्फको उकालो बाटोमा चढ्न थालेको थियो। बसको ह्वाँ–ह्वाँ आवाज र साँघुरा मोडहरूले धेरैका अनुहार अमिल्याए ।
‘सुखमा हौसिने र थोरै तलमाथि पर्नासाथ चस्किने त मानवीय स्वभावै हो । मुख्य कारण त ‘थरले पहाडे, तर घरले मधेसी’ भएकैले हो भन्दा हुन्छ । त्यसैले आजभोलि भिरपाखा देख्नेबित्तिकै यो मन खङ्ग्रङ्ग हुन थालिहाल्छ । मन दह्रो पारे पनि यी खुट्टा चाहिँ लगलग!’ केही बेरमै हामी मान्द्रे बजार पुग्यौँ । पहाडी भेगको सानो कोप्चेरोमा टुसुक्क उभिएजस्तै देखिन्थे त्यहाँका घरहरू। चारैतिर अजङ्गका पहाड देखिन्थे । अलि माथि गएपछि ध्याच्चोकलगायत दायाँबायाँका अरू बस्तीहरू पनि देखिए । एकजना रैथाने साथीले “त्यही त हो राङरुङ झरना” भनी चिनाए । मान्द्रेबाट थोरै माथि के पुगेका थियौँ, ‘डढ्याम्म’ आवाज आयो । सबैको होस उडेझैँ भयो ! हाम्रै बसको टायर पड्केको रहेछ । त्यो दिनमै टायर पड्केको दोस्रो पटक थियो । फेरि सबैका अनुहार निचोरिए । अलिअलि कचकच पनि सुरु भयो। एकजना साथी पुटपुटाए, “कस्तो खटारो बसमा परिएछ, यार !”
बसका गुरुजीले पनि ‘जस्तालाई त्यस्तै’ भनेझैँ उदेकलाग्दो जवाफ दिए, “वारपाक आउनै लाग्यो । यसो हिँड्दै गर्नुस्, टायरको जोगाड भएपछि हामी पनि आइहाल्छौँ ।” गनगन झन् थपिँदै गयो । साँच्चिकै भन्ने हो भने हामीले यात्रा गरेको बस ठीकठाक अवस्थाकै थियो । “यस्तो बाटोमा कहाँ पाइन्छ त नयाँ लक्जरी बस ?” सँगै उभिएका आयोजक संस्थाका अध्यक्षको कुरा मलाई पनि ठीकै लाग्यो । हो त, ‘जस्तो बाटो, त्यस्तै बस !’ तर यात्रा गर्दा गुरुजी (ड्राइभर) वा बसका कर्मचारीसँग कचकच नगर्नु नै बेस । किनकि यात्रुहरूको ज्यान उनीहरूकै हातमा हुन्छ भन्दा हुन्छ । भन्छन् नि, “तँलाई हेर, मलाई हेर, बेला हेर !”
अब हिँड्नुको विकल्प थिएन । लुरुलुरु गर्दै थोरै माथि के पुगेका थियौँ, झ्याउँकिरी कराउन थाल्यो । यही मौकामा सँगै हिँडिरहेका एकजना रङ्गिलो स्वभावका साथीको मुखबाट एउटा गीत फुरिहाल्यो—‘वर्षा लाग्यो, झ्याउँकिरी करायो…।’ विष्णु माझी र सुन्दरमणि दुईजनाले गाएको यो लोकगीत निकै लोकप्रिय पनि छ। यता मेरो मनमा भने सुटुक्क एउटा कुरा याद आयो । ‘झ्याउँकिरीको पोथीले आवाज निकाल्न सक्दैन !’ ठीक त्यस्तै, आज हाम्रा साथीहरू पनि आ–आफ्ना जीवनसाथी घरमै छाडेर आएकाले उनीहरूलाई खबरदारी गर्ने कोही छैन । त्यही भएर पनि आज यी सबै फुक्काफालजस्तै छन् ! वर्षायामको बिदाका कुरा सम्झिएँ । दिनभरि आफ्नै उमेर समूहका साथीभाइसँग रल्लिएर हिँड्दा रमाइलो हुन्थ्यो । गाईवस्तु चराएर साँझपख घर फर्कन्थ्यौँ । कति रमाइला थिए हगि, बाल्यकालका ती दिनहरू ! झ्याउँकिरीको आवाजले साँझ परेको सङ्केत गर्छ र बाल्यकालको याद दिलाउँछ ।
उकालो हिँडाइले गर्दा होला, सबैजना स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै थिए । तर पनि सबैका मोबाइल कानमै टाँसिएकै थिए । सायद उनीहरू घरपरिवारलाई आश्वस्त पार्दै थिए क्यार ! उता घरबाट पनि भन्दाहुन्, “बढी–सढी हुने होइन है! औषधि खान नछुटाउनु नि!” करिब आधा किलोमिटर पैदल हिँडिएछ क्यार ! त्यतिखेरै तलतिरबाट ‘खटरखटर’ गर्दै हाम्रै सामु आएर उही बस ठिङ्ग उभियो । टायर फेरेछ क्यार ! दिनभरि रोपाइँ सकेर लखतरान शरीर लिएर घर फर्कंदै गरेको गोरुजस्तै देखिन्थ्यो बस । यसको बाहिरपट्टि टाँसिएको हिलोमैलो देख्दा त्यस्तै लाग्थ्यो । अघि एकजना साथीले “यस्तो कवाडी !” भनेको सम्झिँदा बसमाथि दया जाग्यो । ‘निर्जीव वस्तुमा प्राण त हुँदैन । तर पनि दिनभरि त्यसैको भरमा त थियो हाम्रो जिन्दगानी ! त्यस्तो अप्ठ्यारो बाटोमा पनि हरेस नखाई लुरुलुरु हिँडिरह्यो । गुरुजीको स्टेयरिङ घुमाइ, एक्सिलेटर र ब्रेक थिचाइ एवं सङ्केतको पूर्ण पालना गरिरह्यो । जसोतसो लतारिइरह्यो ऊ।’मेरो मनमा यस्तै कुरा खेले ।
वारपाकको काखमा
अब त यतैबाट वारपाक देखिन थालेछ । पश्चिमोत्तर दिशातर्फ थोरै ढल्किएर बसेको एउटा थालमाथि रहेको बस्तीजस्तै ! त्यतिका अनकन्टार र भिरपहराको बाटो छिचोलेर यस्तो समथर भूमिमा आइपुगिन्छ भन्ने कल्पना गर्नै गाह्रो ! प्रकृतिको अनुपम वरदानजस्तै रहेछ वारपाक त ! “हरे राम ! अब फेरि उकालो हिँड्नुपर्ने पो भो !” भन्दै केही साथी फेरि पुटपुटाउन थाले । तर हिँड्नुको विकल्प पनि त थिएन ! माथिपट्टि बास बस्ने ठाउँमा पुगेपछि भने सबैका अनुहार उज्यालिए । शरीर पनि बौरियो। वारपाक म ात्र नभई त्यसको पूरै सेरोफेरो पो देखिँदो रहेछ त्यहाँबाट !
होमस्टे (घरबास) मा आ–आफ्ना झोलागुन्टा बिसाएर फ्रेस भइयो । अनि चियाको चुस्कीसँगै आँखा जताततै दौडिए । घुम्ने र रमाउने योजनाहरू बन्न थाले-आज साँझ र भोलि के-के गर्ने, कहाँ–कहाँ जाने भन्नेबारे । हामीले घरबास रोजे पनि प्रशस्तै होटलहरू रहेछन् । त्यसपछि सुरु भए आ–आफ्नो इच्छा अनुसारका खानपिन । कोही कलाकार, कोही दर्शक । यस्तै–यस्तै । सबै आ–आफ्नै तालमा । भोलिपल्ट सबेरै मौसम सफा भएकाले सबैका अनुहारमा उत्सुकता र खुसी छाएको थियो । उत्तरतर्फ टलक्क टल्केको सेतो हिमाल देखियो । सुखासनमा बसेर ध्यानमग्न भएझैँ लाग्ने बुद्ध हिमाल ! घामका सुनौला किरणले सर्वप्रथम त्यही हिमाललाई सुमसुम्याए । अनि क्रमशः फैलिँदै र पोखिँदै तलतिर झर्दै गए । वारपाकको बुद्ध पार्कसम्मै आइपुगेर हामीलाई समेत स्वागत गरे । त्यसपछि त पूरै वारपाक घमाइलो देखियो !
प्रकृतिको यही अनुकम्पाले पनि वारपाकलाई भूकम्पको धुलो टकटकाउँदै उठ्न प्रेरित गरेको हो झैँ लाग्थ्यो । अहिले त जुरुक्कै उठेझैँ देखिन्थ्यो वारपाक । अलिकति पश्चिमोत्तर दिशातर्फ ढल्केको एउटा सुनौलो थालमा अडिएको नजरैभरिको बस्ती-वारपाक ! ‘Morning shows the day’ अर्थात् बिहानले दिनको सङ्केत गर्छ । मैले सोचेँ, आजको दिन पक्कै पनि नयाँ खालको हुँदै छ । बुद्धले पनि भनेका छन् नि त, “हरेक दिन नयाँ दिनको सुरुवात हो ।” समुद्री सतहबाट करिब १,९०० मिटर उचाइमा पर्दो रहेछ वारपाक । स्थानीय पुरबहादुर घलेका अनुसार यहाँ हेर्नैपर्ने ठाउँहरूमा पानीपँधेरो, माने चौतारी, स्मृति पार्क र भ्युटावरलगायत पर्दा रहेछन् । त्यसैगरी मन्दिर तथा गुम्बाहरूमा बुद्ध पार्क, सातकन्या र कोटदेवी आदि रहेछन् । यी सबै ठाउँबाट देखिने रमणीय दृश्य हेर्न सबै साथी लोभिए । वाहवाही गरे । फोटो खिच्न तँछाडमछाड भयो ।
नेपाल एकीकरण हुनुभन्दा धेरै पुरानो इतिहास बोकेको रहेछ वारपाकले । २०७२ साल वैशाख १२ गते दिउँसो वारपाकनजिकै केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यसमा वारपाकवरिपरि मात्रै करिब ७२ जनाले ज्यान गुमाएका थिए । घाइते तथा धनजनको क्षतिको कुरा गरिसाध्य थिएन रे ! स्थानीय वीरबहादुर घलेको भनाइ पनि यस्तै थियो । ब्रिटिस लाहुरे, भिक्टोरिया क्रस (भिसी) विजेतालगायत कैयौँ वीर पुर्खाको इतिहासको पनि साक्षी हो वारपाक । आफ्ना वीरतापूर्ण पौरखका अनेकौँ कथा बोकेको यो ठाउँले विपत्तिपछि नयाँ र सुन्दर पहिचान निर्माण गर्दै फेरि उठ्न सकेछ । उक्त भूकम्पको असर देशका आधाजसो भागमा पनि परेको थियो । खानपिन गरिसकेपछि हामी मध्याह्नतिर लाप्राकतर्फ उक्लियौँ । उकालो, टेढामेढा र साँघुरा दर्जनौँ घुम्ती पार गर्दै करिब २,८०० मिटर उचाइको मच्छे डाँडा काटेर अलि पर पुग्यौँ । एनआरएन र नेपाल सरकारको संयुक्त सहयोगमा करिब ५७३ वटा घर बनेका रहेछन् त्यहाँ । आँबुखैरेनीबाट उत्तरतर्फ करिब ५८ किलोमिटरको दूरीमा पर्ने रहेछ वारपाक ।
तर खास अर्थात् पुरानो लाप्राक बस्ती भने त्यहाँबाट थोरै तलपट्टि रहेछ । “बाहिरबाट आउनेहरूका लागि खानबस्नको राम्रो व्यवस्था गर्न सकिन्छ,” त्यही नयाँ बस्तीमा भेटिएकी आसमाया घलेले ढुक्कसँग भनिन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण देखिन्थ्यो यो ठाउँ पनि । बुद्ध, मनास्लु, गणेशलगायतका हिमशृङ्खला नजिकैबाट देख्न सकिने रहेछ । लाप्राक गुम्सीपाखा, सिर्दिवास, गुम्दा र तातोपानी जाने बाटोमा पनि पर्दो रहेछ । तर अर्का स्थानीय जयबहादुर गुरुङको भनाइ सापटी लिने हो भने, “पर्यटकीय र विकासका हिसाबले सुन्दर भएर पनि वारपाकको छायामा परेजस्तो भएको छ लाप्राक ।”
फर्कंदा : यात्राको सार
त्यहाँबाट फर्कंदा हामीले छोटो बाटो रोज्यौँ-दरौदी नदीको किनारैकिनार । वारपाक, बलुवा, फ्याल्ला खोला, छहरे, महटार, नयाँसाँघु र चोरकाटे हुँदै बाह्रकिलो पुग्यौँ। बाटो अलि सहज थियो । वरिपरिका दृश्य पनि अत्यन्त मनोरम थिए । जताततै हरियाली र फाँटैफाँट । तर यी परिवेशले मात्र मेरो डुलुवा मनलाई अल्मल्याउन सकेनन् । मन समग्र यात्राको समीक्षातर्फ दौडिन थाल्यो। सर्वप्रथम केही साथीप्रति हृदयदेखि नै कृतज्ञताको भाव उब्जियो । यात्राका क्रममा उनीहरूले खानाको चाँजोपाँजो र अन्य व्यवस्थापनमा बढी ध्यान दिएका थिए । त्यसो गर्दा न उनीहरूले राम्रोसँग घुम्न पाए, न प्राकृतिक सुन्दरता हेर्न नै भ्याए ! त्यति हुँदाहुँदै पनि न कुनै गुनासो, न कुनै खिन्नता ! उनीहरू त्यस्तैमा रमाए। सेवाभावले ओतप्रोत, जिम्मेवारीबोधले भरिपूर्ण ! अर्को कुरा, आफूजस्तै त कसैलाई बनाउन सकिँदैन रहेछ, न त आफू अरूजस्तै बन्न नै सकिन्छ । यही वास्तविकता यात्रामा पनि लागू हुँदो रहेछ । त्यसैले कसैको रुचि र आनन्दप्रतिको असहिष्णुता पनि सङ्कीर्णता हो । त्यही सङ्कीर्णताबाट आफूलाई आफैँ दुःखी बनाउने क्रम सुरु हुन्छ । अरूले गरेका राम्रा वा नराम्रा गतिविधि नियालेर पनि आनन्द लिन जान्नुपर्ने रहेछ । हरपल मस्त रहनेहरू नै स्वस्थ देखिन्छन् ।
तर यहीँनेर मानिसको वर्तमान प्रवृत्ति पनि जोडिन्छ । विकासका नाममा प्रकृति र नदीमाथि दाह्रा–नङ्ग्रा गाडेर मानिस विनाशकारी गतिविधि गरिरहन्छ। अनि नदी र प्रकृतिमा पनि गड्गडाहट छुट्छ । त्यसैको परिणामस्वरूप बाढी, पहिरो, भूक्षय, भूकम्पजस्ता प्राकृतिक विपत्ति निम्तिन्छन् । दरौदी र यसको सेरोफेरोको कथा–व्यथा पनि त्यस्तै त होला ? त्यसपछि मेरो मनभरि यात्राका क्रममा देखिएका अजङ्गका हिमाल, पहाड एवं टाकुराका दृश्य घुम्न थाले । ती पहाडका कोखबाट निस्केका पानीका अनेकौँ स्वरूप-हिउँ, झरना, खोल्सी र खोलाहरू-आँखामा नाच्न थाले । ती पानीका धाराहरू कतै के-केन छिटोछिटो पुगौँला झैँ गरी हामफाल्दै दरौदीतिर झरिरहेका देखिन्थे ।
अनि दरौदीजस्ता नदीहरू पनि मिसिँदै सागर वा महासागरतिरै जाने हुन् । यस्तै त हो नि नदीको जीवनचक्र ! त्यही भएर पनि दरौदीलाई ‘विश्वधरा’ जस्तो पौराणिक नामले पुकारिएको होला, सायद ! विश्वधरा अर्थात् संसारलाई धारण वा पोषण गर्ने नदी । वास्तवमा एक दिन यी सबै नदी–खोलाका पानी वाष्प बनेर उड्छन् । अनि बादल बनेर फेरि यतै, हिमालतिरै फर्केर आउँछन् । प्रकृतिबाटै उत्पत्ति र प्रकृतिमै मिलन ! यही हो पानीको जीवनचक्र । यस्तै नियतिसँग मानिसको जीवनचक्रलाई पनि तुलना गर्न सकिन्छ । त्यसैले नदीको गतिजस्तै सलल बग्न सक्नुपर्ने रहेछ जीवनको यात्रा पनि। अनि मात्र प्राप्त हुन सक्छ वास्तविक आनन्द ।
जीवनको आनन्द!
(२०८३, आश्विन, गैँडाकोट, नवलपुर)