• २०८१ माघ २७ आइतबार

प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तकसङ्ग्रह सार्वाजनिक

बुटवल ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले मुक्तकसङ्ग्रह लोकार्पण गरेको छ । ‘भाषा, कला र संस्कृतिको उत्थान, मौलिक संस्कृतिमै खोजौँ पहिचान’ भन्ने नारा बोकेको प्रतिष्ठानले, नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति आत्रेय ज्ञवालीद्वारा लिखित ‘मणिराम’ मुक्तकसङ्ग्रह एक कार्यक्रमकाविच बुटवलमा लोकार्पण सम्पन्न गरेको छ ।.

लेखिकाले आफ्ना ससुराबुबा मणिराम ज्ञवालीको जन्मदिनको अवसरमा उहाँकै नामको मुक्तकसङ्ग्रह विमोचन गराएर ससुराप्रति सम्मानोपहार प्रदान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षता तथा साहित्यकार बुँद रानाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विभिन्न जिल्लाका साहित्यकार, कृतिकारका घरपरिवार तथा आफन्तजन एवं पत्रकारलगायतको भव्य उपस्थिति थियो ।

कृतिका समीक्षक डा. मुरारी पराजुलीले मुक्तकको परिचय प्रस्तुत गर्दै ऋग्वेदको मुक्तकीय आयाम, भर्तृहरि, अग्निपुराण आदिमा चर्चा गरिएको मुक्तकको प्रसंग र यसको गुणवत्ताको बारेमा प्रष्ट उल्लेख भएको छ भन्नुभयो । उहाँले थप्नुभयो ”मुक्तकले हृदयलाई चमत्कृत गर्न सक्नुपर्छ, मुक्तक सुनेर, पढेर मनमा स्वतस्फूर्त आहा ! को भाव प्रस्फुटित हुनुपर्छ र छोटो भएर पनि मुटुभेदन गर्न सक्ने हुनुपर्छ ।”

मणिराम मुक्तकसङ्ग्रहमा भूमिकासमेत लेख्नुभएका सशक्त मुक्तककार रुद्र ज्ञवालीले मुक्तकमा काव्यिक चेत, आध्यात्मिक चेत, रुवाइशैली, पाश्चात्य सभ्यताको अन्धानुकरणको विरोध, चरित्रवान मानिस र आदर्श पारिवारिक परिवेश निर्माणमा मुक्तकले जोडदिएको बताउनु भयो । विष्णुराज आत्रेय प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रतिष्ठानको गतिविधि उल्लेख गर्दै प्रा। डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’ को शालिक स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

कृतिकार प्रीतिले कृतिको रचनागर्भको बारेमा बताउँदै आफ्ना ससुराबुबाको जन्मोत्सवमा उहाँको आशिर्वाद लिन र पितृऋण चुक्ता गर्न उहाँकै नामको कृति उहाँको जन्मदिनमा लोकार्पण गराएको बताउनुभयो । कार्यक्रम उपाध्यक्ष कृष्ण गाउँलेको सञ्चालनमा चलेको थियो ।