• २०८१ फागुन ३ शनिवार

लोभलाग्दो जिन्दगी

धनराज गिरी

धनराज गिरी

बा ! यो शब्दसित उनको नाता अटल, असीम आस्था, भान्सामा केही परिकार पकाउन व्यस्त छिन् गिरिजाकुमारी खुशी, उनलाई घरमा सबैले  खुशी  भनेर बोलाउने गर्छन् । अहिले विदेशमा, त्यो पनि अति दूर, क्यानडा, क्याल्गेरी १  बाको आवाज ? उनको कानमा जन्मदाताको स्वर मिस्री बनेर प्रवेश गर्यो । बैठक कोठामा उनको ससुरा बा सरलनारायण शर्मा तेस्रो पुस्तासित रमाइलो गर्दै आफ्नो सम्धी प्रोफेसर जगमोहन आजादको भिडिओ सुन्दै, राजनीतिक विचार । शर्माजीलाई टाइमपास गर्न आफ्नो सम्धीको फेसबुके क्रियाकलाप पनि सहयोगी भएको छ । नेपालमा आफ्नै अलग सामाजिक हैसियत बनाएका शर्माको मन नेपालतिर, कैले कैले, तन भने विदेशमा ।

ड्याडी, म त कस्तो झुक्केकी ! बाको आवाज सुनेर बा पनि क्याल्गेरीमा नै आइपुगेजस्तो । मौन बस्नुहुन्न । केही न केही गरिरहने मान्छे ! हजुरलाई बोर त भएको छैन नि ? एक दिनमा ५५ पोस्ट हुन्छ रे ‘दश भिडिओ’ खुशीको कुरा सुनेर शर्माजी बोले ‘होइन, होइन, किन बोर हुन्थ्यो र म त मज्जा लिन्छु । कति लोभलाग्दो जिन्दगी हो सम्धीज्यूको, छक्क पर्छु । पीर छैन जस्तो ।बिन्दास, फुक्काफाल, फेरि सम्धिनीज्यू पनि उस्तै, सम्धिनीज्यूको उज्यालो अनुहार नै त सम्धीज्यूको सफल र सार्थक जिन्दगीको प्रमाण हो । पत्नीलाई खुशी र सुखी राख्न नसक्ने पति, अन्त जति सफल देखिए पनि भित्रभित्र असफल हो छोरी खुशी तर, पत्नी पनि विवेकी हुनुपर्छ, पतिको मर्का बुझ्ने । आफ्नो सीमामा रहने । मलाई आनन्द लाग्छ उहाँहरूको जीवन शैली देखेर नानु ।

‘बा त त्यस्तै हो, उहिले देखि । कथा विरहका छन्, जेठी छोरी म, सबै थाहा छ मलाई, तर बा अचम्मको मनको धनी, बागीपनि हो, अभागी होइन, बघिनीको दूध पिएको डमरु । मैले बालाई कोहीसित डराएको थाहा पाएकी छैन् ।उहाँ त्यो समाजको एक अपवाद पात्र हो । हामी तीन सन्तानका लागि मात्र होइन, समाजकै लागि वरदानआफ्नै बा, साथी पनि, अलिअलि बच्चा पनि । सत्य बोल्ने र लेख्ने मान्छे भावुक हुन्छ छोरी । कविहरू भनेपछि त अलि अलग व्यवहार हुन्छ नै । फेरि समाजलाई सत्य पचाउने बानी पनि हुनुपर्यो । यो एघार बर्षमा मैले पनि सम्धीज्यूको धार थाहा पाए जस्तो लाग्यो, मानवतावादी, प्रेम उहाँको दिव्यास्त्र, सद्भाव यात्रामा हुनुहुन्छ । खुशी छोरी, तिमीहरू भाग्यमानी हौ । लोभलाग्दो जिन्दगी हो सम्धीज्यूको । आफ्नो बाको तारीफ सुनेर को खुशी नहुने ? खुशीको मन प्रफुल्ल भयो । भाइको परिवार सम्झिएर अष्ट्रेलियातिर भिडिओ कल गरिन् । लोभ लाग्दो जिन्दगी, यही विम्व उनको दिमागमा घुमिरह्यो । मेरो बा ! शीर्षकमा एउटा कविता लेख्ने सोच बनाइन्  ।