भैंसी अरूको भएपनि दूध हजुरको
सडकमै बोली बिक्छ खुब हजुरको
सुर ताल मिलाउदै नौटङ्की गर्दागर्दै
सपना सब भो चकनाचुर हजुरको।।
रिमझिम साँझ हजुरको झन् सुनौलो बिहान हजुरको
शेषनाग लाई पनि बर्णन गर्न गाह्रो पहिचान हजुरको
मुखभरि कलंकको कालो पोतिएको देख्दा समेत पनि
अझै ! भक्त भलाद्मीहरूले गाउँछन् गुणगान हजुरको !!
बोली छरितो हजुरको काम चाहिँ ढिलो हजुरको
मनभित्र पीरैपीर भएपनि मुहार चहकिलो हजुरको
घमण्डको शिखर पुग्नु हुन्थ्यो अनि पछारिनु हुन्थ्यो
तैपनि ! कर्तुत लुकाउन सक्ने बानी गतिलो हजुरको !!
अहंकारको महल हजुरको अहंकारकै छानो हजुरको
भन्नुपर्दा अझ निर्धनको गर्दन नै हो अचानो हजुरको
अतीतलाई बिर्सनु भो भ्रमको खेतीमा खुब रमाउनु भो
जब छरपस्ट हुन्छ नियत,अनि चल्छ गानो हजुरको ।।
मन्दिर पनि हजुरको झन्झन् मुर्ति हजुरको
पाइजामा नभए पनि आहा कुर्ती हजुरको
मिठो गफ गर्नुहुन्छ चोक चोकमा घुम्नुहुन्छ
हैसियत सुको छैन अझै कत्रो फुर्ति हजुरको ।।
प्रकाश घायाल