समाचार

चितवन ।
साहित्य, समाज, शिक्षा, राजनीति, वातावरणलगायतका विषयमा छलफल गर्दै नारायणगढमा शुक्रबारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’को दोस्रो शृंखला शनिबार सकिएको छ । ‘चित्तौन कचेहेरी’को यो पटकको सत्रमा वैज्ञानिकदेखि बालबालिकासम्म सहभागी भए । पाकिस्तानका आणविक वैज्ञानिक डा. परवेज हुदभोय र भारतीय लेखक तथा अभियानकर्मी हर्ष मन्दर कार्यक्रमका मुख्य वक्ता रहे ।
‘चितवन कचेहेरी’को उद्घाटनमा डा. परवेजले विद्वत् प्रवचन दिएका थिए । दोस्रो दिनको सत्रमा उनी र हर्ष मन्दरबीच डा. जीवन क्षेत्रीले दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसाको अवस्था, कारण र त्यसलाई रोक्ने उपायका बारेमा बहस भएको थियो । भारतीय र पाकिस्तानी दुवै विद्वान्ले अल्पसंख्यकको पक्षमा मनदेखि नै उभिन सके मानवताविरोधी यस्ता दूषित क्रियाकलाप नहुने धारणा राखे । कांग्रेसका महामन्त्री गगन थापा, एमालेकी उषाकिरण तिमिल्सिना, माओवादीकी रेणु चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारसँग पत्रकार अमित ढकालले ‘नयाँ युगको राजनीति, सकिने डर कि सच्चिने अवसर’ विषयक बहस गरे ।
नेताहरूले पार्टीभित्र समस्याहरू रहेको स्वीकार गर्दै त्यसलाई निराकरण गर्दै जाँदा सुधार हुने आशा रहेको बताए । यो बहसअघि डा. चैतन्य मिश्रले शिक्षामाथि प्रवचन दिएका थिए । नेताहरूलाई अगाडि राखेर मिश्रले उच्च शिक्षाको दशा र दिशाका बारेमा बोले । बाल कचेहेरीमा अग्रिम पण्डित, विवेश थोकर तमाङ, राजकुमारी चेपाङ र प्रशंसा पराजुलीले बालबालिकाको इच्छा अपेक्षका बारेमा बोले । त्यसैगरी के सोच्दै छन् युवा पुस्ता भन्ने सत्रमा प्रेमबहादुर बोहरा, रोजन परियार, दुर्गा कार्की र आदर्श मिश्रसँग सहजकर्ता विपिन आचार्यले संवाद गरे । फोहोरमैला व्यवस्थापनमा भएको बेवास्ताका बारेमा सागर कार्कीले चर्चा गरे ।
‘फोहोर व्यवस्थापन स् मुद्दा कसै न कसैको बर्बादी सबैको’ शीर्षकको सत्रमा इन्जिनियर कार्कीले नवलपरासी मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, सरसफाइकर्मी सुनिता गुरुङ, सफाइ अभियानकर्मी भोजराज कँडेल र फोहोरमैला व्यवस्थापनमा लागेको निजी कम्पनी ‘सफा ऊर्जा’का रोशन केसीलाई समस्या र निराकरणका उपायबारे सोधेका थिए ।
‘कसरी भत्काउने जात व्यवस्थाको जग’ सत्रमा तेजनारायण सदा, सीता विश्वकर्मा सम्झना र डा।सुवास बस्नेतले सहजकर्ता महेश नेपालीसँग आफ्ना अनुभव र जातीय भेदभाव अन्त गर्ने विधिहरू साझा गरेका थिए । साँझपख गोविन्दराज विनोदी, पोषराज पौडेल, सुनीमाया चेपाङ, माया कोन्मे गुरुङ, रञ्जना लिम्बू, प्रकाश चापागाईं, सुनिल महतो, अन्जान प्रदिपलगायतले कविता सुनाएसँगै ‘चित्तौन कचेहेरी’ सकिएको थियो ।