माउसुलीलाई लाग्छ
भित्ता मैले रोकेको छु
मैले नथेगेको भए जति बेला पनि
भत्किसकेको हुन्थ्यो
भित्ता माउसुलीको घर हो भन्दा हुन्छ
माउसुलीको घर हो कि
घरको भित्ता हो ?
लहरै टागिएका तस्बिरहरु
भित्तालाई आफ्नै मान्छन्
त्यति मात्र होइन
आफै भित्ता हुँ ठान्छन्
आफु नभए
भित्ता नै हुन्थेन भन्छन् ।
भित्ताको रंग, सजावट
भित्तालाई जिस्काइरहेको हुन्छ
हामी बिना
भित्ताको अस्तित्व नै छैन ।
भित्ताको कान हुन्छ भन्छन्
साच्चिकै हुने भए
गुह्य केहि बाकी रहन्थेन ।
ठेल्दै -ठेल्दै
भित्तामा पुर्यायो भन्छन्
कति अडकिएका छन्
भित्तामा ?
भित्ता अन्ततः भित्ता हो
भित्र लुकेकाहरुको छुट्टै संसार छ
ओछीमा बसेका माहुरी
दालानमा बस्ने गौथली
ओत लाग्ने सुरक्षित जस्तो लाग्ने ठाउँमा
बस्ने परेवा सबै
आफ्नै घर मान्दछन् ।
आकार, प्रकार, रंगरोगन
खुइलिइ चिन्ता पर्छ
गला चाउरिए केहि छैन वरु
ऋण काडेर, बन्धक बसेर पनि
भित्ता बचाउनु छ ।
भित्ता एक्लो सम्झिन्छ
चार दिवाल,चार किल्ला बिर्सिन्छ
भुइँ ,छानो, झ्याल, ढोकाको
अस्तित्व मान्दैन भित्ता ।
कैलासकुमार पाण्डेय
परशुराम १२, उनरुवा, डडेल्धुरा