• २०८१ बैशाख ८ शनिवार

विश्व नेपाली साहित्य सम्मेलन दार्जिलिङमा हुने

विश्व नेपाली साहित्य महासंघ भारत शाखाको तत्वावधानमा दार्जेलिङमा ‘विश्व नेपाली साहित्य सम्मेलन’ हुने भएको छ । विश्वका विभिन्न देशहरूबाट साहित्य, कला र संस्कृतिलाई माया गर्ने विशिष्ट स्रष्टाहरूको भेला यही अगस्त २७ र २८ (भदौ ११ र १२) दार्जिलिङमा हुँदैछ ।

दार्जिलिङको भानु सदनमा दार्जिलिङ, खर्स्याङ, मिरिक, कालिङ्पोङ, सिलिगुडी, कालेबुङ, गान्तोक, असम, मेघालय, मणिपुर, देहरादुन, लखनउ, नयाँ दिल्ली लगायत विश्वका विभिन्न मुलुकका नेपाली जातिको भाषा र संस्कृतिलाई माया गर्ने स्रष्टाहरूको विश्व सम्मेलनमा नेपालबाट १० जना स्रष्टाहरू विशेष रूपमा भाग लिने भएका छन् ।

काठमाडौँबाट प्रा. डा. गोविन्दराज भट्टराई, अन्जना भट्टराई, प्राज्ञ डा. देवी नेपाल, शरद प्रधान, मणिराज सिंह, के बि पौडेल(कलाकार) तथा साहित्यिक पत्रकार अश्विनी कोइराला, नेपालगञ्जबाट ऋषिराम सापकोटा र कल्पना पौडेल जिज्ञासु, धरानबाट भीम विरही राई तथा झापाबाट दीपक सुवेदी सम्मेलनमा सहभागी हुनेछन् । लखनउबाट विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र ताइवानबाट वरिष्ठ उपाध्यक्ष सह प्राध्यापक डा. लेखनाथ काफ्ले पनि उक्त सम्मेलनमा भाग लिन शुक्रबार साँझसम्म दार्जिलिङ पुगी सक्नेछन् ।

‘विश्व नेपाली साहित्य महासंघ’ भारत शाखाका अध्यक्ष राहुल राई बोगी तथा महासचिव सुमित्रा थामी अविरल रहेको आयोजक समितिले कार्यक्रमको अन्तिम तयारी गरिरहेको खर्स्याङका साहित्यकार देवीका मग्राती राईले जानकारी दिएकी छन् ।