• २०८३ कार्तिक २८, शुक्रबार

भोटेकोशी–त्रिशूली बाढीको कहर र पुनर्निर्माणका प्रयास समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ प्रकाशित

काठमाडौँ  ।

गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायत भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका अनुभव एवं विपद्पछिका राहत र पुनर्निर्माण प्रयास समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ प्रकाशित भएको छ । तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकहरूको उपस्थिति थियो ।

डा. ईश्वर थापा र इन्जिनियर राजन थापाद्वारा लिखित पुस्तकमा सात सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञले सहकार्य गरेका छन् । छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकले बाढीको उत्पत्ति, प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा विपद्को जोखिम न्यूनीकरणका उपायलाई समेटेको छ । ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नामकरण गरिएको पुस्तकको उपशीर्षक ‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ रहेको छ । यसमा गत भदौ १० गते (अगस्ट २६) हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ ।

सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने सङ्केतबिनै आएको उक्त बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसीलगायत नदी तटीय क्षेत्रका बस्ती, विद्यालय, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याएको थियो । पुस्तकमा प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा हिमपहिरो तथा चट्टान खस्दा कसरी बाढी उत्पन्न भयो भन्ने विषयलाई कथात्मक गैरआख्यान विधामा प्रस्तुत गरिएको छ । पुस्तकमा विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभवलाई प्राथमिकता दिइएको छ । यसका साथै विपद्का आर्थिक तथा वातावरणीय प्रभाव, मानवीय क्षति र शोक, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा भविष्यका लागि आवश्यक पूर्वतयारीबारे पनि विश्लेषण गरिएको छ ।

लेखक डा. ईश्वर थापाका अनुसार पुस्तकमा बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएका राहत, पुनःस्थापना तथा सामुदायिक सहयोगका गतिविधिसमेत समेटिएका छन् । पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा तरङ्ग नेपालले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण पुस्तकमा उल्लेख छ । पुस्तकका अनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।

राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ घरपरिवारलाई विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो । नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नं. ७ का ५० र वडा नं. १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको थियो । त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री र नुवाकोटको विदुर नगरपालिका–१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको पुस्तकमा उल्लेख छ । स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं. १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो । विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भर्टर प्रणालीसमेत जडान गरिएको थियो । त्यस्तै, विदुर नगरपालिका–२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई सहयोग गरिएको विवरण पनि पुस्तकमा समेटिएको छ ।

पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, वितरणमा पारदर्शिता र समुदायको पुनःस्थापनालाई महत्त्व दिएको छ । भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुनःप्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणालीको विकास र रसुवाको खाद्यसुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पुस्तकमा प्रस्तुत गरिएको छ । यसका साथै हिमाली विपद्को जोखिम मूल्याङ्कन, जलविद्युत् आयोजनाको सुरक्षा, सीमापार सूचना आदानप्रदान र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने विषय पनि उठाइएको छ ।

वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को कथा र प्रभावित समुदायको सहनशीलतालाई अभिलेखीकरण गरेको बताए । उनका अनुसार पुस्तकले बाढीबाट भएको विनाशको विवरण मात्र प्रस्तुत नगरी समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनःस्थापनामा पु¥याउन सक्ने योगदानलाई समेत उजागर गरेको छ । कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव सुनाए । बाढीको खबर प्राप्त हुनासाथ संस्थाले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय सुरु गरेको उनले बताए । उद्धार तथा खोजीमा प्रत्यक्ष संलग्न हुन कठिन परिस्थिति रहेकाले संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै आएको तरङ्ग नेपालले प्राविधिक ज्ञान, मानवीय सहायता तथा ज्ञान विकासमार्फत जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ । रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेखीकरण गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्त्वपूर्ण सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ ।