• २०७९ असोज १६ आइतबार

भानुभक्तका लेखनमा भानुभक्त

डा. रजनी ढकाल

डा. रजनी ढकाल

भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको सन्दर्भमा उनका बारेमा फेरि पनि अनेक बहस र चर्चा परिचर्चा हुने क्रम छ । नेपाली साहित्यमा सबैभन्दा चर्चामा रहेर उत्तिकै विवादित पनि भएका लेखकका रूपमा आजको पुस्ताले भानुभक्त आचार्यलाई चिन्ने गर्दछ । उनको आदिकवित्व उपाधिदेखि लेखन विषयका समर्थन र विरोधमा जोडिएर उनका बारेमा अनेक बहस हुनु आफैमा महत्त्वपूर्ण छ । यसो हुनु एउटा स्रष्टाको कर्मको पुनर्मूल्याङ्कन त हुँदै हो साथै हाम्रै इतिहासको आत्मसमीक्षा पनि हो । यसका साथै अहिले विश्वभरि छरिएर रहेका नेपालीले असारको अन्तिम हप्तामा भानुजयन्ती मनाउनु नेपाली भाषा र साहित्यका साथै सांस्कृतिक परिचयको नेपाली संस्कार र कविता लेखनको विम्बमय अभ्यास पनि हो ।

संस्कृतको सामान्य ज्ञान पाएका तर त्यसमा पूर्ण पाण्डित्य प्राप्त गर्न नसकेका भानुभक्तको संस्कृत लेखनमा अनेक त्रुटिहरू थिए भन्ने तथ्य समालोचक तथा साहित्येतिहासकारहरूले लेखेका छन् । भानुभक्तलाई ब्राह्मण परिवारमा काम चलाउने लायकको संस्कृत भाषाको सामान्य ज्ञान मात्र थियो । भानुभक्तको महत्त्व उनको शास्त्रीय ज्ञानमा निर्भर होइन कि उनले गरेको अध्यात्म रामायणको नेपाली भाषाको अनुवादमा छ । बाल्यकालदेखि नै नेपालीमा छन्द रचनाको सोख भएका उनी निरन्तर अभ्यासका कारण काव्यशक्तिको विकास गरी एउटा उचाइमा पुगे । उनको लेखनकलाकै कारण उनको रामायण नेपालीको कण्ठ–कण्ठमा झुन्डियो । नेपाली भाषाको सुन्दर, सौष्ठव प्राप्त उक्त कृतिले जनजनमा लोकप्रियता हासिल ग-यो ।

भानुभक्तले लेखेका रचनामा तत्कलीन समय र युगको प्रतिविम्बन छ । आज हेर्दा उनका लेखनमा नारीप्रतिको पश्चगामी दृष्टिकोण छ र उनको ब्राह्मणवादी, पितृसत्तावादी सोच र दृष्टिकोण हावी छ भन्ने कुरामा कुनै दुईमत हुनै सक्दैन । उनकै समयका सन्त कवि ज्ञानदिलदासले नेपालको पूर्वी भेगतिरबाट सामाजिक कुरीतिका विरुद्ध कविताहरू लेखिरहँदा र विश्वमा नारीअधिकारका लागि अनेक आन्दोलन (सन् १८५७ मा न्युयोर्कको कपडा कारखानाका महिला मजदुरले तलबवृद्धि र कार्यघन्टाको न्यायपूर्ण माग तथा सन् १८६५ मा समान राजनीतिक अधिकारका लागि माग) भइरहँदा यता त्यही समयको सेरोफेरोमा भानुभक्तले चाहिँ वधूशिक्षा (वि.सं. १९१९, सन् १८६२) लेखेर नेपाली नारीको अनुशासन र बन्धनका लागि आवाज तीव्र बनाउनुले उनमा रहेको चेतना र ज्ञानको कमीलाई चिनाउँछ नै । यसका साथै जनताको चेतना निर्माण गर्ने लेखनभन्दा सत्ता तथा भगवान्को भक्ति र अनुष्ठानमा एकाग्र हुन सिकाई अनुशासनको पालना गर्ने विषयको चयन (रामायण, रामभक्ति) गरेको आरोप पनि लाग्छ नै । तर समयको बहाव मात्रैले कुनै पनि लेखक वा समाजको चेतना निर्माण हुँदैन त्यसका लागि त्यो देश र समाजमा पर्याप्त सामाजिक, राजनीतिक, शैक्षिक परिवर्तन र तिनको सही अभ्यास आवश्यक हुन्छ ।

भानुभक्त आफ्नो समयका सामान्य व्यक्ति हुन् जसले नेपाली भाषालाई माया गरेर आफ्नो रुचिको कविताभ्यास गरे । उनले आफ्नै गाउँठाउँका विषयलाई लयमा बुनेर व्यवहारकुशलताका लागि त्यही समाजको दृष्टिकोणलाई पक्षपोषण गर्दै आफ्नो सिर्जनशीलतालाई नेपाली भाषाको विकासका लागि समर्पण गरिदिए । साँघुरो सामाजिक चेतनामा हुर्केका र ब्राह्मण संस्कारमा नै अटल विश्वास राख्ने अनि पारिवारिक चेतनाको सीमित घेरामा बसेका उनको व्यावहारिकतावादले जे देख्यो त्यो लेखे । थोरैले मात्र अभ्यास गरेको नेपाली भाषाको काव्य लेखनलाई उनले निरन्तरता दिएर र नेपालीको मनमनमा पु-याए ।

समालोचक बालचन्द्र शर्माले ‘भानुभक्त र उनको युग’ लेखमा भानुभक्तको समय र उनका परिस्थितिजन्य अवस्थाले सिर्जित लेखकीय व्यवहार र उनका गुणको बारेमा यसरी टिप्पणी गरेका छन्–

‘भानुभक्त पारिवारिक र सामाजिक जीवनका एक सामान्य व्यक्ति थिए जसले उदरपूर्तिको निमित्त सामान्य सरकारी जागिर खानुपरेको थियो, कुमारीचोकमा बही बुझाउनु परेको थियो, धार्मिक लोकाचार गर्नु, गराउनुपरेको थियो र घरगाउँलेसित खेतबारीको मुद्दा गर्नुपरेको थियो । समाजका एक व्यावहारिक व्यक्तिको स्पष्ट रूप उनको रचनामा पनि परेको थियो र उनको यो व्यावहारिकतावादले सामान्य सामाजिक व्यक्तिहरूलाई पनि प्रेरणा दिन्छ । भानुभक्तले कृष्णबहादुर राणालाई कतिपटक जुन छन्दबद्ध बिन्तीपत्र पठाएका छन्, अथवा लोकलङ्का जैसी ब्राह्मणका घरमा भुटेको मकै खाँदा जुन रचना गरेका छन् अथवा एक जनासित मन परेको बन्दुक लिन खोज्दा जुन बठ्याइँयुक्त छन्द रचना गरेका छन् अथवा विस्तारसाथ जुन वधूशिक्षा लेखेका छन् ती सबैले व्यवहार–कुशल भानुभक्तको व्यक्तित्व दर्शाउँछन् ।’ (साझा समालोचना, पृ. ६५(६६) ।
वास्तवमा भानुभक्त कुनै पनि वाद र चिन्तनको उपल्लो तहमा पुगेर लेख्ने लेखकभन्दा पनि व्यावहारिक जीवनका अल्झिएका पक्षलाई सुल्झाउनका लागि लेख्ने तत्कालीन समाजका व्यवहारोपयोगी लेखक हुन् ।

त्यसैगरी २०७१ सालमा भानुभक्त आचार्यको द्विशतवार्षिकी मनाइरहँदा जीवनीकार नरेन्द्रराज प्रसाईंले भानुभक्त आचार्यको जीवनवृत्त कृतिमा लेखेका केही सन्दर्भलाई पनि यहाँ टिपोट गर्न सान्दर्भिक लाग्छ– ‘भानुभक्त आचार्य विनोदी, परिहासप्रेमी, चतुर, प्रतिभाशाली र विद्वान् थिए । उनी रिसाहा, झोकी र आक्रामक स्वभावका पनि थिए । त्यसैले कुनै बेला यिनको झगडा गिरिधारी भाटको परिवारसँग भएको हुनुपर्छ ।’ (पृ. ८९)

भानुभक्तका वैयक्तिक रुचि, आनीबानी र व्यवहारका बारेमा नजिकैबाट बुझेर लेख्ने स्रष्टा कोही भएनन् । मोतीराम भट्टले चाहिँ भानुको व्यक्तित्वलाई अलौकिक बनाइदिएको चाहिँ पक्कै हो । कवि भानुभक्त आचार्यको जीवनचरित्र (१९४८) मा मोतीराम भट्टले उनको रुचि र स्वभावका बारेमा यथार्थभन्दा प्रशंसात्मक परिचर्चा नै बढी गरेका छन् । उनको व्यक्तित्वलाई उठाउन मोतीरामले अनेक काल्पनिक तथ्यको फूलबुट्टा भरिदिएका छन् ।
भानुभक्तले सिर्जना गरेका कविताकाव्यबाट तथा उनको जीवनमा घटेका केही घटनाका तथ्यबाट उनका आनीबानीका बारेमा केही आकलन गर्न चाहिँ सकिन्छ । विभिन्न अध्ययनमा पाइएका तथ्यका आधारमा पनि भानुभक्तको रुचिको केही अनुमान लगाउन सकिन्छ । कवि हुनु र सामान्य व्यावहारिक मानिस हुनुमा फरक पक्कै हो । तर पनि कविको व्यवहारमा कविताको आदर्श पनि हुनुपर्छ भनिन्छ । तर एउटा ऐतिहासिक लेखक वा कविमा भएका वैयक्तिक रुचि र आनीबानी सबैका लागि चासोका विषय पनि हुनेगर्छ । भानुभक्तका स्वभाव र गुणलाई बुझ्न सकिने सबैभन्दा भरपर्दो आधार त उनकै रचनाहरू हुन् ।

भानुभक्तका कविता पढ्दा उनी आफ्नै जीवनका अनेक विषयलाई कवितामा लेख्ने व्यवहारवादी कवि हुन् । उनका कवितामा व्यक्त भएको व्यावहारिक विषयबाट पनि उनका आनीबानीमा आकलन गर्न सकिन्छ । उनको भगवत्भक्ति, ब्राह्मणवादी सोच, पारिवारिक सुसम्बन्ध र अनुशासनका अनेक पक्षका विषयले उनको व्यक्तित्वलाई प्रस्ट पारेकै छ । उनका वैयक्तिक आनीबानीका केही प्रसङ्गलाई यहाँ स्मरण गरौँ–
घाँसी प्रसङ्ग भानुभक्तको जीवनको एउटा काल्पनिक तथ्य हो । मोतीरामको सुन्दर कल्पनाको यो कथा अब भानुको जीवनको एउटा स्वीकार्य सत्य बन्न पुगेको छ । घाँसीबाट प्रेरणा पाएर कविता लेखेका भानुभक्तमा आफूले समाजका लागि केही गर्नुपर्छ र नाम कमाउनुपर्छ भन्ने उत्साही सोच थियो । भानुभक्तको जीवनपर्यन्तको लेखनकर्मले उनको यस दृढ उत्साहलाई प्रमाणित गरिदिएको छ । भानुभक्तले जीवनका अनेक कठिनाइ र व्यावहारिकतासँग जुझ्दै गर्दा कहिले निगरानीमा पर्ने त कहिले मुद्दा मामिला खेप्ने कार्य गर्न पुगेका छन् । यस्तो बेलामा पनि उनले आफ्नो काव्यकौशललाई उपयोग गरेको देखिन्छ । उनमा आफ्नो चातुर्य प्रदर्शन गर्ने खुबीका साथै व्यङ्ग्य र विनोदी चेत पनि थियो भन्ने कुरा उनी पाँच महिना कुमारीचोकको निगरानीमा बस्दा लेखेको ’रोज् रोज् दर्शन पाउँछु’ कविताले प्रस्ट पार्दछ । उनले वेलैमा मुद्दाको छिनोफानो नभएको विषयलाई लिएर तत्कालीन कमान्डरइनचिफ कृष्णबहादुरजङ्ग राणालाई परिहासपूर्ण व्यङ्ग्य कविता लेखेका थिए ।

भानुभक्तको कान्तिपुर र बालाजुको सौन्दर्यको वर्णन गरी लेखिएको कविताबाट उनमा भएको शृङ्गारिक रुचिलाई देखाउँछ । उनमा रहेको रसिक भाव र सौन्दर्य चेतनाको रुचिकै कारणले उनले ‘चपला अबलाहरू एक सुरुमा’ लेख्न पुगेका हुन् । उनी अति हठी र एकोहोरो पनि थिए भन्ने कुरा पनि उनकै कविताले प्रमाणित गर्दछन् । गजाधरसोतीका घरमा वास बस्न पुग्दा महिला मात्र रहेको घरमा वास नपाएपछि उनले लेखेको कविताबाट पनि उनको हठी मानसिकतालाई बुझ्न सकिन्छ । उनले त्यस कवितामा गजाधरसोतीकी घरबूढीलाई अलच्छिनी मात्र होइन नरक जान बिदावारी भएकी महिलाका रूपमा पनि चित्रण गरेको हुनाले महिलाको व्यावहारिक कठिनाई नबुझी एकोहोरो आग्रह राख्ने सनकी व्यक्तिका रूपमा चिनाएको छ । यसका साथै उनको गिरिधारी भाटसँग परेको मुद्दाका कारण उनी यतिसम्म सनकी बन्न पुगेका थिए रे कि उनले भाट भन्ने शब्दसँग रिस उठेर घरका भाटा समेत उखेलेका थिए रे भन्ने प्रसङ्ग पनि पढ्न पाइन्छ । उनको खानपानको रुचिका बारेमा पनि केही कविताहरूमा सङ्केत भेटिन्छ । भुटेका मकै र मुलाको पातको प्रसङ्ग पनि कवितामा पाइन्छ । त्यसैगरी आफ्नो दुनो सोझ्याउन अति बठ्याइँ गर्ने चातुर्य पनि उनमा थियो भन्ने कुरा बन्दुक प्रसङ्गको कविताले प्रमाणित गर्दछ । त्यसैगरी वधूशिक्षा लेखनको प्रसङ्गले उनी धेरै सोचविचार नगरी तत्कालै मनमा लागेका कुरा लेखिदिने व्यक्तिका रूपमा पनि चिनिन्छन् । वधूशिक्षामा व्यक्त भएका सती जाने, हाँस्ने वेश्या हुने, महिला पति र परिवारको सहयोगी मात्र हुनुपर्ने आदि जस्ता कतिपय प्रसङ्गको सन्दर्भबाट बुझ्दा उनको एकोहोरो हठी स्वभाव भएको पनि देखिन्छ ।

मोतीराम भट्टले सर्वप्रथम कवि भानुभक्त आचार्यको जीवनचरित्र किताबमा उनको चित्र बनाएर छापे र त्यही चित्रका आधारमा भानुभक्त दौरासुरुवाल र बिर्के टोपीमा रहेको विम्ब नेपालीमाझ सार्वजनिक भई प्रचलित भएको हो । उनको व्यक्तित्वलाई पर्गेल्नुपर्दा उनी आफ्ना परिवारप्रति उत्तरदायी, लेखनप्रति प्रतिबद्ध र सामाजिक सुसम्बन्धका पाठ सिकाउने लेखकका रूपमा चिनिन्छन् । लेखनमा आफ्नो व्यक्तित्व तथा भोगाइको पनि झलक आउँछ वा लेखनको शैली उसकै व्यक्तित्वको चित्र हो भन्ने मान्यतालाई आधार बनाएर बुझ्दा भानुभक्त वैयक्तिक रूपमा व्यवहारपटु, चलाख, रसिक, केही हठी र एकोहोरो स्वभाव भएका ब्रह्माणवादी समाजका साधारण व्यक्ति थिए, जसले जीवनभर निरन्तर साधना गरी नेपाली भाषालाई ठूलो गुन लगाए ।
………………………………………….
[email protected]
(सहप्राध्यापक, त्रिभुवन विविश्वविद्यालय., नेपाली केन्द्रीय विभाग, कीर्तिपुग ।)