• २०८१ असोज २४ बिहीबार

शान्ति योद्धा

रवीन्द्रनाथ पोखरेल

रवीन्द्रनाथ पोखरेल

बिषयुक्त कोव्राको बस्तीमा बसेर
बाच्नुको अर्थ र उपलब्धि भेटिन
खोज्दै छु विकल्पका सोच र बिचार
म बाँच्ने आधार स्तम्भहरू
जो अशोक स्तम्भ जस्तै
शान्तिको अदम्य शक्ति साथ !

यद्यपि कि ! अन्तर्आत्माको
अनुभूतिमा जीवनको बाध्यता
नियतीको सकसमा पनि
लाग्छ उसले डस्न सक्ने छैन
अहंकारको बिष जति नै पोखोस्
निर्धक्क छु डसिएको कत्ति छैन
जबकि !
म सँग अमृतको घडा छ
त्यही अमृत देख्दैमा पनि
उसकै जिब्रो लर्वरिएको छ,
बिना रस घुट्क्याई स्वाद चाखेर
धैर्यता र सहनशीलता
त्यही घडा हो तथापि
निश्चल भावमा छचल्किनु पर्छ !

उसको बिषले म भित्रको
निष्ठा, त्याग, समर्पण र बिचार
मार्न सकेको छैन पनि नसोचोस्
उ आँफैलाई डामिरहेको छ,
त्यसैले त आजकल फणा
उठाउने दुस्साहस त्यागेको छ

उ आँफैले मुण्टो निमोठेरेर
प्राण घिच्याउँदैछ कठै !
मेरै अघिल्तिर सामुन्ने
लुक्दै नलुक्ने लाज छोप्ने
दुष्प्रयत्न गर्दैछ !

जबकि !
जुनसुकै घडी, पला,
प्रहर, नक्षत्र, उस्को
अपसकुन र विनासको
दिनमा छताछुल्ल हुँदैछ

मात्र समयले सकुन
जुराउँदै प्रतिक्षारत छ,
ऊ सिखण्डीले कुटनितिका
रणयोजना
कसरी बुझ्ने सामर्थ
राख्छ र खै !अहंकारको
खोक्रो खप्परमा !
यो नयाँ युग हो
लाटोले चेतना भरेर बसेको छ
बोल्ने उत्कण्ठा पालेर,
खुट्टा भाँच्चिएको अपांगले
बैशाखी टेकेर उन्मुक्तिको
पाइ नहाल्दै छ !

मक्किएको बाँसको जराबाट
न कलम बन्छ न अक्षर
लेख्छ र कि बुझोस् उसले
सभ्य युगको
सत्य बिचार नयाँ पालुवामा
लेखिएर स्वस्ती वाचन गर्न
लाग्दैछन् भन्ने यथार्थ !

बिचरा ! अझै पनि उद्दण्ड गति र
स्वच्छन्द मतिमा मातेर
ताना बाना अनेकौंँ रचिरहेछ
अक्षम्य अपराध लुकाउने बहाना गरि;
हो ! बिषको उन्मादले पछार्नु पछारेछ !

मेरा हरेक ढुक्ढुकीले बोल्छन् कि
म भित्र तेरो स्वतन्त्रता दृढ छ
अब शंखनाद गर्नु पर्छ तैँले,
यद्यपि मौनता अन्यायमा पर्छ,
सहनु गम्भीर कसुर हुनेछ
भने किन घात गर्नु छ र आँफै माथि;
उहिल्यै सहेका आघातका खाटामा
अवशेषका दाग मात्र बँचेका छन्
छिट्टै धर्सा मेटिने वाचा गरेर
मस्तिष्कका सोच र चेतनामा
नयाँ यात्राका पाइला
उचालिएका छन् अब !

जीर्ण गल्लीका वनमारा झाडी
उसैले दंभका विष छादेर
भकभकती मरि रहेछन्
गल्ली पनि स्वतन्त्रताको
महसुस गर्दै नवयात्रीको
प्रतिक्षारत मुस्कानमा छन !

मस्तिष्कमा टुसाउँदै गरेका
चेतना र सोचका टुसाहरू
बर्षौंका खडेरीका रापले फाटेका
धाँजाहरू तिर्खाएर छट्पटिंदा पनि
मुख बाएर मन्सुन बादलको
प्रसव पिडामा झरी जन्मने
पर्खाइमा शान्त र मौन छन्
जब खनिन्छ पानीका आह्री
तब सृजनाका टुसाले संसार
छिचोल्ने छन्

हो ! तिनै टुसाहरूको प्रर्याय नै
मैले साँचेका बिचार हुन्
जुन बिचार पूनः फाँटमा
अवतरण भएर दुनियाँ
खुशी र उमंगले मुस्काउने छ !

तब नयाँ युगको काँचुली फेर्दै
तिनै बस्तीका विषालु
कोव्राका ढाड सेक्ने
प्रेरणा र उर्जापूर्ण
साहसी योद्धा हुँ म !


रवीन्द्रनाथ पोखरेल, देबचुली, नवलपरासी
[email protected]