काठमाडौं ।
उपन्यासकार प्रकाश तिवारीको उपन्यास ९६ गड्डीमाथि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान तथा नेपाल स्रष्टा समाजद्धारा आयोजित समकालीन नेपाली उपन्यासका स्वर तथा ९६ गड्डी उपन्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समकालीन नेपाली उपन्यासका प्रवृतिबारे चर्चा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले समकालीन समयको लेखनमा जोड दिंदै बस्तुलाई विभिन्न ढंगले हेर्ने होइन वस्तुलाई पुर्नब्याख्या गरेर लेख्ने कुरा समकालीन लेखन हो । नेपालको सबैभन्दा ठूलो दुष्मन भ्रष्टाचार भएको बताउँदै उनले तिवारीको उपन्यास यहि विषयमा केन्द्रित भएको आफुले पाएको बताउनुभयो । भ्रष्टाचारको विरोध गर्दै उहाँले भन्नुभयो भ्रष्टाचार मुक्त देश बनाउन साहित्यकारले कलम चलाईरहनुपर्छ ।
अर्का वक्ता पत्रकार एवं पुस्तकका टिप्पणीकर्ता राजकुमार बानियाले नेपाली साहित्यमा उपन्यासलाई गोल्डेन गेटको सँज्ञा दिंदै लेखकले लेखकलाई पढ्ने प्रवृति नभएको औल्याउनुभयो । सामाजिक वास्तविकतालाई साहित्यको विषयवस्तु बनाउने उपन्यासकारको रुपमा प्रकाश तिवारीलाई आफुले बुझेको बताउनुभयो । तिवारीको उपन्यासले आलोचनात्मक चेत वोकेको बताउँदै क्रान्तिकारीता भ्रष्टिकरणमा स्खलित भएको चर्चा गर्नुभयो । उपन्यासमा पाठक तथ्य हो कि कथा भन्नेमा अल्मलिनसक्ने उहाँको तर्क थियो ।
अर्का वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले समकालीन नेपाली उपन्यासका विभिन्न प्रवृत्तिहरुको चर्चा गर्दै आफुलाई कसरी अरुभन्दा फरक देखाउने भन्ने नाममा उपन्यासहरु चिप्लिएको औल्याउनुभयो । उपन्यास लेख्दा लेखिने समयको यथार्थप्रति इमान्दार भएर लेखिनु पर्दछ । यसैगरी ९६ गड्डी आलोचनात्मक यथार्थ विशेषत भ्रष्टाचारसंग सम्बन्धित भएर लेखिएको छ । यसमा समसामयिक विषयवस्तु भएपनि केही नाटकीय र श्वैरकाल्पनिकता पनि समावेश गरेको मैले पाएको छु । उहाँले भन्नुभयो ।
यसैगरी चर्चाकार अनिता कोइरालाले समीक्षात्मक टिप्पणी गर्दै उपन्यासले नारी पात्रमाथि न्याय गरेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गरेका नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा पढ्न लायक कृतिहरु धेरै नहुनु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले अरु क्षेत्रमा जस्तै साहित्यमा पनि भ्रष्टाचार भएको देखिएको छ भन्दै अरबपतिहरु अरुलाई आफ्नो नाममा साहित्य लेखाएर चर्चित बन्नु अनि निरन्तर लेखिरहनेहरु पछि पर्नु बिडम्बनाको विषय भएको बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास नहुनुमा चिन्ता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, उपन्यासकार प्रकाश तिवारी, देविका तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।