युरोप ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित ‘प्रवासका फूलहरू’ पुस्तकको बेल्जियमको आन्थ्रोपेन शहरमा लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको लोकार्पण समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी (प्रमुख अतिथि), अनेसास बेल्जियमका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माई,एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा,एफएनजे बेल्जियमका नेता ओम शर्मा लगायतका विशिष्ट अतिथिहरूले पुस्तकको विमोचन गरेका हुन् ।
च्याप्टर अध्यक्ष सौरभ कारंजितको सभापतित्वमा संचालित विमोचन समारोहको उद्घाटन बेनेलक्स तथा युरोपियन युनियनको लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीले पानसमा बत्ती बालेर शुरू गरेका थिए भने उक्त समारोहमा अतिथिहरूको स्वागत कार्यक्रम संचालक तथा च्याप्टरका महासचिव गोपाल दाहालले गरेका हुन् ।
राष्ट्रियगानबाट क्रमशः अघि बढेको कार्यक्रममा उपस्थित अतिथिहरू एनआरएनए बेल्जियमका उपाध्यक्ष कासी दनै, आइसीसीद्वय क्रमशः मदन दवाडी तथा हरि भट्टराई, नेपाली व्यवसायी संघ युरोपका अध्यक्ष यामु निरौला, नेपाली व्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष गोविन्द (सिपि) भट्ट, लेखकका दाजु तथा व्यवसायी विनोद बानिया,जनसम्पर्क समिति बेल्जियमका उपसभापति विराट जोशी, नेपाली खेलकूद संघ बेल्जियमका संस्थापक किसन केसी, नेपाली मिलन केन्द्रकी अध्यक्ष कान्ता अधिकारी, जनसम्पर्क समितिका महामन्त्री प्रकाश राज गिरी लगायतले पुस्तकको लागि आफ्ना अमूल्य भोगाइहरू उपलब्ध गराउने कथादाताहरूले आफ्नो परिचय दिँदै पुस्तकका लेखक मणि राज गौतमलाई शुभकामना दिएका थिए ।
कार्यक्रमको शुरुमा पत्रकार तथा सर्जक मनिराज गौतमले ‘प्रवासका फूलहरू’बारे आफ्नो अनुभव सार्वजनिक गर्दै प्रतिनिधिमूलक रुपमा मुलुकबाहिर रहेका नेपालका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताए । उनले भने, “सबैका कथा लेख्न त सम्भव भएन, संघर्षको विविधतालाई समेट्न प्रतिनिधि छनौट गरी अन्तर्वार्ता लिएको हुँ, कतिले लेखिन्छ भन्ने कुरा नै नपत्याएर भेट गर्न चाहनु भएन, कतिको व्यस्तताका कारणले पनि समय भएन होला, म युरोपमा अन्जान,त्यसैले मलाई लेखनमा उक्साउने डिल्ली दाइ र ओम दाइको सहयोगमा उन्चालिस जनाले आफ्नो कथा छाप्ने स्वीकृति दिनु भयो ।’
लेखक गौतमले करीव डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने मञ्च उपलब्ध गराई सर्जकलाई प्रेरणा दिएकोमा अनेसास प्रति आभार व्यक्त गरेका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मालाई पनि पुस्तक लेखनको लागि प्रेरणा दिएको भन्दै विशेष धन्यवाद दिए । औपचारिक पुस्तकमा युरोपमा रहेका ३० जना नेपालीहरुको वाल्यकाल, शैक्षिक अवस्था, राजनीतिक, परिवारिक अवस्था, वैदेशिक संघर्षका प्रतिनिधि स्वयं वाचित कथाहरू समावेश गरिएको बताउँदै लेखकले दुई महिना अगाडि बेलायतमा समेत एक महिना बिताएर अर्को संघर्षको कथा कृति जन्माउन लागेको बताउन पछि परेनन् ।
उनले विमोचन समारोहमा आफ्नो कृतिको लागि सहयोग गर्ने कथादाता,सहज कर्ता, प्रकाशक, सम्पादक लगायतको नाम लिँदै सबै प्रति स-धन्यबाद आभार प्रकट गरेका थिए । उनले कृतिमा कथाका मुख्य पात्रहरूले आफ्नो कथा ‘म’ बनेर स्वयं वाचन गरेका छन् भन्दै त्यसमा कानुनी र पारिवारिक रुपले हानि गर्न सक्ने सबै शब्दहरू सम्पादन गरिएको समेत जानकारी दिए । पुस्तक विमोचन गर्दै विमोचन समारोहका प्रमुख अतिथि राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरूको साझा दस्ताबेजको रूपमा रहने भएकाले पनि यो पुस्तक ज्यूँदो संघर्षको इतिहास बन्ने महामहिम राजभण्डारीको धारणा रहेको थियो ।
पुस्तक मार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक ऊर्जा प्रदान गर्ने भन्दै लेखक तथा आयोजन संस्था अनेसासलाई समेत उनले धन्यवाद दिन बिर्सिएनन् । महामहिम राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्वसामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद दिँदै लेखकबाट अन्य कृतिहरुको समेत अपेक्षा गरेको बताए ।
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली कृति सृजनालाई निरन्तरता दिने लेखक गौतमप्रति आभार प्रकट गर्दै यो कृति प्रवाशका नेपालीहरूको संघर्षबारे लेखिएको प्रतिनिधि पुस्तक रहेको बताइन् । उनले यो सृजना सबैले किनेर पढी लेखकलाई हौसला बढाउन समेत विशेष आग्रह गरेकी थिइन् । नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरूका सत्य कथाहरू सङ्कलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गरे । आफ्नो जनभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरूले युरोपमा गरेका सङ्घर्षका कथाहरू प्रेरणादायी बन्ने उनले बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष तथा विमोचन समारोहका विशिष्ट अतिथि डिल्ली अम्माईले पुस्तकमाथि टिप्पणी गर्दै यसले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए । पुस्तक अभिलेखका रूपमा रहने भएकाले यसको महत्त्व उच्चतम हुने उनले बताए । उनले पुस्तकमा समेटिएका समग्र संघर्षको स्वरुप, जीवन वृत्र् र त्यस भित्रको रसले युरोपमा नेपाली संघर्षका कथा दस्तावेजको रुपमा प्रकाशित भएको भन्दै कथा मात्र हैन युरोपमा प्रारम्भिक चरणको इतिहास निर्माणमा बगेको पसिनालाई किताबले न्याय दिएको बताए । उनले विमोचित कृति युरोपको पहिलो पुस्ताले गरेको विर्सदै गैरहेको अर्को पुस्तालाई झक्झक्याउने झरिलो मशाल बन्ने छ भन्दै अग्रजलाई बिर्सी सकेका भविष्यका थुप्रै पुस्ताहरुले यी कथाहरू भुलिसकेका हुनेछन् भन्दै त्यो बेला यो पुस्तकको मूल्य अमूल्य हुने छ भन्ने तर्क राखे ।
कार्यक्रममा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै सङ्घर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए । दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वार्तामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए । महासचिव दाहालले पुस्तकको बारेमा तयार पारेको लामो टिप्पणी पढेर सुनाएका थिए ।
विमोचन समारोहको अन्तिम मन्तव्यको क्रममा अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरूको सङ्घर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिँदै यस्ता विशिष्ट साहित्यिक कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका थिए। ‘हामीले आफ्नै संघर्षको कथा सृजनाको रुपमा पाएका छौँ’ भन्दै समारोहका सभापति कारंजितले आगामी लक्ष्मी जयन्तीमा सबै भाषा र साहित्य प्रेमीहरुलाई उपस्थित हुनको लागि आमन्त्रण समेत गरेका थिए ।