समाचार
सर, म हजुरलाई चिन्छु ! हजुरलाई नचिने त चितवनको नागरिकता नै खोसिन्छ नि ! एक युवक, गुरु, विमल पौडेल । भर्खर जोडिए फेसबुकमा । भर्चुअल वार्ता । कुन्नि कसलाई नचिने पर्वत जिल्लाको नागरिक नै होइन भन्ने चलन कुस्मामा थियो अरे,अवतारे युगमा । यस्तै सोच्यो उसले पनि, ऊ, उही प्रोफेसर हिम्मतनारायण हौसलाराज निर्भीकश्री आशावादी आनन्द ! सजिलो, आनन्द सर ! आफ्नो युगको राजेश खन्ना, बाबू मोसाये उल्टो हाइट जापानी मायालु झुवानी श्री ।
हा हा हा, यस्तो पहिले पनि भएको थियो । आज विमलले निर्मल कञ्चन आनन्द दियो । जय हो, हीराको मन छ तिम्रो । प्रोफेसर । हीरा गौंडेल त मेरो मित्र हो गुरु बा ! विमल । ए ए, मसित मित्र छन् । प्रोफेसर । त्यसपछि कलेज, नलेज र समसामयिक कुराहरू भए । साहित्यिक र शैक्षिक बढी । सर, जमालुद्दीन कमाल जय नेपाल कस्ता मान्छे हुन् ? हजुरले त नचिनेको को छ र ? विमल ।
बाबु विमल, मेरो जीवनको एक वशूल छ, मूल्य र मान्यता, नदीको पानी र एक व्यक्तिको बानी उस्तै हुन्छ । म कसैको बारेमा पनि अन्तिम धारणा बनाउन्न। यो नकाम हो । परख आफूले गर्ने । मैले इन्द्रवारुणी पिएर तिमी झुम्ने होइन । यो अति घटिया काम हो । नकाम, कसैको बारेमा बोल्ने नै होइन । म के ? मलाई नै थाहा छैन । यसैले आफैं शोध गर, प्रतिशोध होइन । दुई अपराध गरे, त्यो पापीको बारेमा मात्र बोल्छु म । अरू कुरा मेरो लागि अर्थहीन । म आफैंले भोगेका पात्रहरूको अनेक रूप देखेको छु । मबाट यो नकाम हुन्न । हरेक मान्छे आफैंमा खराब हुन्न । सरी है ! आई काण्ट से एनी थिङ्ग मोर ! सो सरी !! प्रोफेसर ।
आहा सर, कस्तो दिव्यज्ञान दिनुभयो । हजुर त सुनेकोभन्दा पनि असल लाग्यो। यति लामो गफमा कसैको बारेमा पनि निन्दा उद्योग चलाउनु भएन ।ग्रेट सर ! स्यालुट यू !! नकाम त हो नै । हस् सर ! नमन !! विमल ।
आशीर्वाद !! म त्यति असल मान्छे होइन । नझुक्किनू ! प्रोफेसर । वार्ता सकियो । नकाम विमलको मगजमा नाचिरह्यो ।
धनराज गिरी