काठमाडौ ।
कवि सुशिला शर्मा ‘शिलु’को पहिलो कविताकृति ‘म अझै जीवित रहेछु’ सार्वजनिक भएको छ । शुक्रवार अनामनगरमा आयोजित एक कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,समीक्षक ज्ञानु अधिकारी,कृतिकार र उनका परिवारका सदस्य लगायतले उक्त कृति सार्वजनिक गरे ।
समीक्षक ज्ञानु अधिकारीले उक्त कृति आशावादी दृष्टिचेतले भरिएका कविताहरुले भरिएको बताइन । कृतिका कतिपय सृजनाहरुले अग्रजप्रति सम्मानभाव प्रकट गरेको पनि उनले बताइन । नारी अनुभूतिमा ह्रदयले लेखिएका कविताहरु पठनीय रहेको अधिकारीको धारणा थियो । कार्यक्रम सुशिला शर्माले आफ्नो रचनागर्भ र अनुभूतिहरू सुनाइन । उनले सबैतिरको सकारात्मक सहयोगले आफूलाई सृजनामा लाग्न अनुकुल वातावरण मिलेको भएको बताइन ।
केशव पराजुली, प्रियहरि भण्डारी र गोपालविक्रम थापा,रिता पौडेल लगायतले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रममा कवि शिलुकी छोरी विशु भण्डारीले मन्तब्य सहित कविता सुनाइन । कविद्धय छविरमण सिलवाल र प्रदीप सापकोटाले कृति भित्रका कविता वाचन गरेर सुनाएका थिए ।
नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा सभाध्यक्षको मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यले थप एक कविता कृति पाएको बताउँदै सिर्जनाको यात्रा उक्लिने हुनुपर्दछ ओर्लने होइन भन्ने कुरामा जोड दिए । मधु पाठकले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।