समाचार

जुन दिन
धरहराको ढोका चौबीसै घन्टा खुल्छ
त्यही दिन
टिकट काटेर धरहराको टुप्पोमा पुग्ने रहर छ
र, त्यहाँबाट देश हेर्नु छ
र, हेर्नु छ
शिखरभन्दा अग्ला मान्छेहरू कति बामपुड्का देखिँदा रहेछन्
हेर्नु छ,
मटितेल, नुन र अभावको लाममा
बसिरहेकाहरूको छातीमा टेकेर पजेरो कति छिटो कता भाग्दो रहेछ
हेर्नु छ
रानीपोखरी ठूलो ‘साइज’ को बाल्टी जत्रो देखिन्छ कि अभैm ठूलो
टुँडिखेल मेरो घरको आँगनभन्दा कति ठूलो देखिएला ?
सैनिकमञ्च, जहाँ परेड खेलिरहेका सिपाहीहरू
जात्रा हेरिरहेका सिपाहीका हाकिम र सरकारहरू
अनि, तोपको आवाजले भयभीत भएर
सुरक्षित स्थानतिर उडेका चराका बथानहरू कता जान्छन् ?
हेर्नु छ
कोही आफ्नो धारिलो नङ्ग्राले अर्काको आङ कन्याइरहेका
कोही बदाम र मुस्कान सँगसँगै बेच्दै गरेका
कोही पत्रिकाको अन्तिम पृष्ठ पढिरहेका
गोलबद्ध भएर बसेका
राजनीतिक पार्टीका साना कार्यकर्ता
तर ठूल्ठूला कुरा गरिरहेका
हेर्नु छ
कोही चटक देखाइरहेका
फुर्सद भएका हामी चटकेहरू
थपडी बजाइरहेका
र, थपडी बजाउँदा बजाउँदा
आफ्नो हातको छाला च्यात्तिएको पत्तो नपाइरहेका
मलाई हेर्नुछ
जुलुसको अग्रपङ्तिमा
राजनीतिक दलको वकालत गर्दै
राजनीतिक दलको झन्डा बोकेर
भाषाको,
जातको,
धर्मको,
वकालतमा हिँडेका केही थान कविताहरूलाई
केही थान कविहरूलाई
मलाई हेर्नु छ
अगाडिको ठूलो आर्मी क्लब
जहाँ दिनदिनै भोजमात्र भइरहन्छ
सहिदकै अपमान हुने गरी
सहिदहरूको सङ्ख्या बढेको यो देशमा
वर्षमा एकचोटि माला र अबिर कुरेर बसेका
सहिदगेटका ती सहिदका न्याउरा सालिकहरूको अनुहार हेर्नु छ
धरहराको टुप्पोबाट वसन्तपुर देखिन्छ होला
खरानी भैसकेको बस्तीतिर
आधा ट्याङ्कर पानी बोकेर
साइरन बजाउँदै बतासभन्दा छिटो कुदेको दमकल पनि देखिन्छ होला
भूकम्प कुरिरहेका अग्ला भवनहरू त अवश्य देखिन्छन्
धरहराको टुप्पोबाट बालुवाटार देखिँदैन
मैले यो सोच्नु बेकार हुन्छ
सिंहदरबार कत्रो देखिन्छ होला ?
कस्तो र कत्रो देखिएला आगलागीबाट बचेको स्वयम्भू
देखियो भने,
आकाशको बाटो हुँदै
कहिल्यै नर्फकने गरी
परदेश जाने मेरा देशबासीहरू चढेको हवाईजहाज देखिन्छ होला
मलाई हेर्नु छ ।
…………………………..
(त्रिपाठी चर्चित कवि हुन् ।)
[email protected]