समाचार

लालबन्दी, असार २७ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य राष्ट्रिय पुरस्कार’ का लागि पुस्तकहरू माग गरेको छ । पुरस्कारका लागि छनोट गरिने पुस्तकहरू वि.सं. २०७८ सालपछि प्रकाशित भएका भाषा तथा साहित्यसँग सम्बन्धित हुनुपर्ने कुरा वाङ्मय परिषद्द्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्न लालबन्दी नगरपालिकाले लालबन्दी नगर वाङ्मय परिषद्को स्थापना वि.सं. २०७७ चैत १४ गते गरेको हो । लालबन्दी नगर वाङ्मय परिषद् ऐन, २०७७ को परिधिमा रहेर स्थापित वाङ्मय परिषद्ले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्वर्धनका क्षेत्रमा काम गर्दै आएको छ ।
मधेश प्रदेशमा भाषा तथा साहित्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको परिषद्ले गत वर्षको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य राष्ट्रिय पुरस्कार- २०७९’ महाकाव्यकार डा. नवराज लम्सालकृत ‘अग्नि’ महाकाव्यलाई प्रदान गरेको थियो । यस पुरस्कारको राशि पचास हजार नगद र प्रमाणपत्र रहेको छ ।
‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार’ पनि वाङ्मय परिषद्ले गत वर्षदेखि प्रदान गर्दै आएको छ । यस पुरस्कारको राशि रुपैयाँ दस हजार र प्रमाणपत्र रहेको छ भने गतवर्ष स्थानीय सर्जक क्षितिज विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।