• २०८३ श्रावण २, शनिबार

‘युवा वर्ष मोती पुरस्कार’का लागि आवेदन आह्वान

काठमाडौं ।

राष्ट्रिय युवा सेवा कोषले ‘युवा वर्ष मोती पुरस्कार’का लागि आवेदन आह्वान गरेको छ । कोषले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल आश्विन मसान्तसम्म ४० वर्ष उमेर ननाघेका साहित्यकारले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । साहित्यसँग सम्बन्धित सङ्घ–संस्था वा सम्बन्धित विधामा सक्रिय व्यक्तिले पनि योग्य उम्मेदवारको मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ । कोषका अनुसार साहित्यिक सिर्जनामा स्तरीय कृति प्रकाशन गरेको वा खोजमूलक अनुसन्धान गरेको तथा साहित्यिक गतिविधिमा सक्रिय रहेको वा मोतीरामीय परम्पराको अनुसरण गरेको व्यक्ति पुरस्कारका लागि योग्य हुनेछन् ।

आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्र, आफूलाई चिन्ने दुई जनाको नाम र सम्पर्क नम्बर सहितको आवेदन, बढीमा पाँच पृष्ठको व्यक्तिगत विवरण, ‘म किन यो पुरस्कारका लागि योग्य छु’ भन्ने विषयमा बढीमा दुई पृष्ठको लेख तथा प्रकाशित कृतिहरू संलग्न गर्नुपर्नेछ । प्रकाशित कृति फिर्ता नहुने सूचनामा उल्लेख छ ।

आवेदन दिने अन्तिम मिति २०८३ साल भदौ १ गते सोमबार तोकिएको छ । थप जानकारीका लागि राष्ट्रिय युवा सेवा कोषको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौं वा कार्यालयका सम्पर्क नम्बर ०१–५३४३५७५ (दिउँसो १ बजेदेखि ५ बजेसम्म) तथा ९८४१३७३६५६ (कार्यालय सचिव)मा सम्पर्क गर्न सकिने जनाइएको छ ।