समाचार
काठमाडौं ।
चर्चित साहित्यकार इल्या भट्टराईको साहित्यिक व्यक्तित्व तथा उनका नियात्राकृतिमाथि केन्द्रित रहेर विशेष परिचर्चा सम्पन्न भएको छ । भट्टराई कथा र नियात्रा लेखनमा सक्रिय छिन् । बिहीबार काठमाडौंको महाराजगंजमा नियात्रा समाज नेपालले आयोजना गरेको विशेष परिचर्चामा वक्ताहरू जय छाङ्छा, डा. ज्ञानु अधिकारी र चन्द्रप्रसाद भट्टराईले उनका नियात्राकृतिहरूमाथि आफ्ना धारणा राखे ।
नियात्रा विधाको सैद्धान्तिक पुस्तकका लेखक नियात्राकार छाङ्छाले नियात्रामा पनि विम्ब विधान हुने गरेको उल्लेख गर्दै भट्टराईको पछिल्लो नियात्राकृति ‘मिसर’माथि बोले । उनले नेपाली साहित्यमा नियात्रा लेखनको थालनी, ऐतिहासिकताका विषयमा चर्चा गर्दै ‘मिसर’ सन्देशमूलक नियात्राकृति भएको बताए ।
कार्यक्रमकी अर्का वक्ता डा. ज्ञानु अधिकारीले नियात्राकार भट्टराईका चार नियात्रा संग्रहका विषयमा बोलिन् । कथाकार र नियात्राकार गरेर दुई साहित्यिक छवि बोकेकी भट्टराईका नियात्राहरूमा जीवनदर्शनको बोधका साथै विचार प्रवाह पनि हुँदै आएको अधिकारीले बताइन् । समाजका पूर्वअध्यक्ष नियात्राकार चन्द्रप्रसाद भट्टराईले इल्याको व्यक्तित्वको चर्चा गर्दै समाजको स्थापनाका समयमा उनको सक्रिय सहयोगको प्रशंसा गरे । उनले नियात्रा विधाको उन्नयनका लागि समाजले विभिन्न कार्यक्रम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नियात्राकार इल्याले आफ्नो लेखन यात्राको विषयमा बताउँदै आफ्ना पिताजी साहित्यकार मदनमणि दीक्षितबाट प्रेरित भएर लेखनमा आएको उल्लेख गरिन् । तथापि, आफ्ना रचना र कृति प्रकाशनमा पति इन्जिनियर दीपक भट्टराईको असीमित साथ र सहयोग मिलेको उनले स्मरण गरिन् । उनले आफ्नो जीवनका केही गहकिला स्मृतिहरू साझा गर्दै पतिका कारण ‘गरिमा’ पत्रिकामा पहिलो कथा छापिँदाको प्रसँग पनि सुनाइन् ।
कार्यक्रममा समाजका अध्यक्ष मोहन चापागाईं, नियात्राकारहरू पवन आलोक, गीता खत्री, विष्णु शर्मा पराजुली र भवानी खतिवडाले भट्टराईको कृतित्व र व्यक्तित्वबारे बोले । साहित्यकार इल्याका पाँच कथा तथा पाँच नियात्राकृति प्रकाशित छन् भने एक बालकथाकृति प्रकाशित छ ।
