• २०८० फागुन ९ बुधबार

त्यो दिन कहिले आउला र ?

विजय मल्ल

विजय मल्ल

निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ?
यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ?

चारैतिर मसान छ, चीत्कार कोलाहल
नैराश्य-हुरी आएर आशा दीप निभ्दछ पल-पल ।
ओइलाएका रूपहरूले मलाई आएर हेर्दछन्,
रन्थनिएर पछारिएका आँखाहरूले घेर्दछन् ।

कसको भरमा बाँचू भन्दै माथि आकाश हेरेको,
आँखा टल्बलाउँदै फेरि आफूलाई निहारिरहेको ।
कुनै आँखा लट्ठिएर मृत्युको छायांमनि छिप्तछ,

कुनै आँखा डराएर जीवनीलाई बलले च्याप्तछ ।
आँखै-आँखा चारैतिर भोक र पीडाका प्रतिविम्बझैँ ।
‘के हो’ भन्दै छटपटाएर आत्तिएका निरन्तरझैँ
मेरो अघि-पछि सबै आउँछन् झुम्मी झुम्मी पछ्याएर ।

के भनूँ यिनलाई म कुन सान्त्वनाको स्वर ल्याएर !
त्यो दिन कहिले आउला, यिनलाई म सम्झाउन सकूँ ।
त्यो दिन कहिले आउला निर्धक्क भै म गाउन सकूँ !


विजय मल्ल