• २०८१ श्रावाण ११ शुक्रबार

महोदयहरू !

 रत्नमणि नेपाल

रत्नमणि नेपाल

आज हो, आज हो, यो तपाईंहरूको आज हो
हिजोको भोलि हो, यो भोलिको हिजो हो
यसलाई बाँच्न तयार हुनुस् अब, महोदयहरू !
यो भविष्यको इतिहासलाई

आफ्ना दुवै कान सफा गर्नुहोस्
आँखामा बिझाउने कचेरा पुछ्नुहोस्
निदाएका शिथिल नसाहरू तन्काउँदै
आरामदायी ओछ्यान छोड्नुहोस्

अनुहारमा ऐना हेर्नुहोस्
त्यो तपाईंलाई हेर्नुहोस्,आजको तपाईंलाई
अमिवाको टाउकोमा कपाल हेर्नुहोस्
सर्पको जिब्रोमा मुख हेर्नुहोस्
जिजुबा–जिजुमाहरूको आँखामा दुःख हेर्नुहोस्
जो इतिहासदेखि बन्दैबन्दै आउनुभो !

चानचुन पैसा भेला पार्नुहोस्
कपाल फुलेका आमा–बाबुलाई ढोग्नुहोस्
माया गर्नुपर्नेहरू यहीँ छन्
भेट्नुपर्नेहरू यहीँ छन्
सँगसँगै हिँड्नुपर्नेहरू यहीँ छन्
ढोका नभएका मन्दिरहरू यहीँ छन्

सूर्योदय भैसकेको छ अघि नै
सूर्यास्त भैसकेको छ
सूर्यास्त भैसकेको छ अघि नै
सूर्योदय भैसकेको छ
आराम गरे पनि भो
बाटो लागे पनि भो
महोदयहरूको आज भैसकेको छ
‘के छ र जिन्दगी बिताइदिन्छु’
लेखेको टि सर्ट लगाउनुहोस्
बगौँचाबाट फूल हेर्नुहोस््
सुन्दर भनेकै त्यही हो

हिँड्नुपर्ने नै आज हो
तयार हुनुपर्ने नै हिजो हो, भोलि हो, आज हो
कपडाको झोला काँधमा भिर्नुहोस्
टुथपेस्ट, ब्रस अनि रुमालमा
पोको पारेको अन्न
सुरक्षितसाथ त्यसमा राख्नुहोस्
एउटा दैनिक पत्रिका, कलम र डायरी राख्नुहोस्
अरू केके पनि राख्नुहोस्
क्यामेराको पनि बन्दोबस्त गर्नुहोस्

यहाँ अँध्यारो पनि हुँदैन
यहाँ उज्यालो पनि हुँदैन
यहाँ लड्दा पनि लडिँदैन
यहाँ भोक मात्र पनि लागिरहँदैन
हिजोको भोलि भैसकेको छ
महोदयहरूको सूर्योदय भैसकेको छ

लेखक एउटा साधारण मानिस हो
ढुङ्गा लडेको सडकछेउबाट ऊ हिँड्छ
तपाईंहरूका घर–बाटाका छेउछेउमा छन्
नरिवल सुपारीका बोटबाट हावा लिनुहुन्छ
विशुद्ध स्वतन्त्र मान्छे तपाईंहरू

(नेपाल प्रसिद्ध कवि, आख्यानकार र समालोचक हुन् ।)
[email protected]