• २०८१ पौष २९ सोमबार

चन्दनकुमारको ‘सङ्गीत स्वराधना’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

राजधानीमा आयोजित कार्यक्रममा शास्त्रीय सङ्गीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘सङ्गीत स्वराधना’ सार्वजनिक गरिएको छ । शास्त्रीय सङ्गीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘सङ्गीत स्वराधना’ विमोचन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हाम्रो मौलिक कला संस्कृति जोगाउन गीत सङ्गीतको क्षेत्र निकै महत्त्वपूर्ण हुने भन्दै समाजलाई कुन मार्गमा अघि बढाउने भन्ने कुरामा गीतसंगीत र कला साहित्यको विशेष भूमिका हुने धारणा राखे ।

‘नेपाली कला संस्कृतिको मौलिकता जोगाउने कुरामा सोधमूलक र खोजमूलक पुस्तक प्रकाशन हुनु हामी सबैको लागि गर्वको विषय हो ’अध्यक्ष दाहालले भने । वरिष्ठ सङ्गीतकर्मी दीपक जंगमले संगीतसाधकले समय खर्च गरेर तयार पारेको पुस्तक अवश्य पनि पठनीय हुने बताए । लामो समयदेखि शास्त्रीय सङ्गीतमा सक्रिय श्रेष्ठद्वारा लिखित उक्त पुस्तक शास्त्रीय सङ्गीत बुझ्न र जान्न रुचाउनको लागि उपयोगी हुने बताइएको छ ।

वरिष्ठ सङ्गीतकार शुम्भजीत बासकोटाले शास्त्रीय संगीतप्रेमीका लागि उक्त पुस्तक पठनीय हुने बताए । अन्तर्राष्ट्रियरुपमै नेपालमा पनि यस्ता शास्त्रीय सङ्गीतका गुरु छन् भनेर अवगत गराउन पुस्तकले योगदान दिने उनको तर्क छ । कार्यक्रमको संयोजन नेपाल सङ्गीतकार सङ्घले गरेको थियो । सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले शास्त्रीय सङ्गीत सिक्न र बुझ्न चाहनेका लागि यो पुस्तक पठनीय हुने बताए ।