बोल्दाखेरि शिष्ट अनि शभ्य बन्न जान्नुपर्छ
आफ्नो अक्कल नपुगेमा अरूले भन्या मान्नुपर्छ
पुल पनि पर्खाल पनि ढुङ्गाले नै बन्छ हजुर
पुल बन्ने कि पर्खाल बन्ने आफूले नै छान्नुपर्छ ।
सबै कुरा बिर्सिए पनि बा-आमाले सिकाएको ज्ञान बिर्सन्न
केटाकेटीमा नयाँ लुगा लगाई गाउँ डुलेको सान बिर्सन्न
जस्ता को पनि आउँछ दिन हेप्नु हुँदैन कसैलाई पनि
सबै कुरा बिर्सन्छ मान्छे आफूलाई गरेको अपमान बिर्सन्न ।
तिम्रो सर्टको बटनसमेत फुट्न दिन्न नारी
गृहस्थीको रथको पाङ्ग्रा छुट्न दिन्न नारी
यदि असल श्रीमती छ भने तिम्रो साथमा
कहिले पनि श्रीमान लाई टुट्न दिन्न नारी ।
इमानदारी मूलमन्त्र उसको बरू आफ्नो दुःख लुकाएर खुसी हुन्छ
अरूलाई दुखाउन चाहँदैन बरू ऊ आफैँलाई दुखाएर खुसी हुन्छ
सज्जन मानिस र अहङ्कारी मानिसबीच यौटा फरक देख्छु मैले
सज्जन आफू झुकेर खुसी हुन्छ तर अहङ्कारी झुकाएर खुसी हुन्छ ।
नाता अनि सम्बन्ध त पुलजस्तै हुनुपर्छ
सम्बन्ध त सधैँ सङ्लो मूलजस्तै हुनुपर्छ
जता फाइदा उतै झुक्ने सूर्यमुखी बन्नु हुन्न
सम्बन्ध हजुर बाह्रमासे फूलजस्तै हुनुपर्छ ।
गल्ती कसैको गन्छौ भने तिमी खुबी पनि गन्न सिक
नराम्रोमा औँला उठाउँछौ भने राम्रोलाई राम्रो भन्न सिक
सधैँ अर्काको कुरा मात्रै काटी कत्ति समय खेर फाल्छौ
अर्काको खोइरो खन्नुभन्दा आफू केही राम्रो बन्न सिक ।
खहरे मात्रै हो गडगडाउने नदी शान्त बहन्छ सधैँ
ज्ञानी मानिस झगडा गर्दैन बरु चुपचाप सहन्छ सधैँ
अर्को चुपचाप बस्या देख्दा डराएकै ठानिहाल्ने
मुर्खलाई त मैले जितेँ भन्ने भ्रम रहन्छ सधैँ ।
म सधैँ नम्र बोल्छु हजुर झुकेको नसम्झनु होला
अरूसामु निहुरिन्छु सधैँ चुकेको नसम्झनु होला
चर्काचर्की तँ-तँ म-म मन पर्दैन कत्ति मलाई
आफ्नै परिधिमा रमाउँछु लुकेको नसम्झनु होला ।
गाउँ छोडी परदेसिने खै यो कस्तो रहर हजुर
झल्झली सम्झिरहन्छु ती मूलबाटा-डहर हजुर
ढुङ्गेछानो, ठूलो आँगन गाउँझैँ स्वर्ग काँ हुन्छ र
कोठाभित्र बन्द जीवन यही त होला सहर हजुर ।
(न्यूयोर्कनिवासी ज्ञवाली चर्चित कवि हुन् ।)