सिमा काटदै गरेको
वटुवाको लाममा हेरें
त्यही लामले लेखेको
नाम थरको सुचीमा हेरें
उसको नाम नै भेटिएन ।
नाम निसाना मेटिनु
नामै हराउनु
नाम फेरिनु
त्यति राम्रो विषय होइन
खोज्दै गर्दा भेटिएन ।
एयरपोर्टको
आन्तरिक र वैदेशिक
टर्मिनल अभिलेखमा
विदेश जाने र फर्किने सुची हरे
फर्केका बाकस समेत हेरियो
अत्तोपत्तो छैन ।
हरेक समाचार सुनियो
टिभी हेरियो
पत्रपत्रिका पढियो
मारिएका तथा बन्दीका बारे
बुझियो
कहि छैन, केहि छैन ।
वेवारिस लास
अस्पताल अस्पतालमा हुँदारहेछन्
त्यता पनि हेरियो
एक एक गरि बुझियो
कुनै अत्तोपत्तो छैन ।
सिमापारी गुमसुदा तलासको
सुचना निकाल्छ
रेडियो, टीभी पत्रपत्रिकामा
श्यामश्वेत तस्वीर राखेर
नजिकको प्रहरी चौकी
र कुनै एउटा फोन नम्बर राखेर
सूचना निकालेको धेरै भयो
पुलिस मार्फत हुलिया कटाइयोइ
खोजबिनका सबै विधि अपनाइए
अत्तोपत्तो छैन।
उसको नाउँ
भुटानी शरणार्थीको
सूचीमा पनि छैन।
ग्रीनकार्ड लिएर विदेश छिर्नेको
क्रमशः अभिलेख हराउँछ
श्रमिक बन्छ
अस्थायी नागरिक बन्छ
हुँदाहुँदा शरणार्थी बन्छ
जे बने पनि
नेपाली वंश नासिन्छ
नेपाली नाउँ हराउँछ ।
युद्धरत देशका मारिने सिपाहीमा
अधिकांश नेपाली पर्छन्
हरेक युद्धमोर्चामा नेपाली देखिन्छन्
युक्रेनी हुन वा रुसी
प्यालेस्टाइनी हुन वा इजरायली
एउटा देश जान हिडेका
अर्को देशमा नेपाली भेटिन्छन्
रोहिङ्गा हुन वा भुटानी
हरेक शरणार्थी शिविररूमा
कुनै न कुनै रूपमा
नेपाली पाईन्छन् ।
एउटा छोरो
विदेश छिर्छ
उतै घरजम गर्छ
बुवा,आमा काठमाडौँ बसाउँछ
केही समय त राम्रै हुन्छ
क्रमस सम्पर्क हराउँछ
टेलिकमले सधैँ भने जस्तै
सम्पर्क हुन सकेन
छ्याङछुङे भाषा बोल्छ
सामाजिक सञ्जालको
सम्बन्ध पनि टुटछ
गाउँ छोडेर आए
नाउँ हराएर गयो
राष्ट्रिय पत्रीकामा प्रकाशित भयो
नाउँ हराएको सूचना ।
कैलासकुमार पाण्डेय, परशुराम ५ डडेल्धुरा