हे रहस्यमय ईश्वर !
डडेल्नो फर्काएर कता हेर्दैछौ !
तिमी पनि वाक्क भयौ पक्कै
चरा बनाएका थियौ तिमीले मान्छेलाई
चमेरा बने आफैँ,
म पनि ।
कोशिस गरे आफैँ ईश्वर बन्न यी चमेराले ।
विरक्त भयौ होला ढोँगीको भीड देखेर ।
तिमी असफल छौ शासन गर्न ।
नछोप असफलता मर्त्यलोकका सरकार जस्तै ।
छाडिदेऊ सिंहासन तिम्रो
जाऊ फेरि नयाँ सृष्टिको मसौदा बनाउन
उद्भावना होस् नया शासनतन्त्रको ।
बनाउन आउनु चमेरालाई फेरि मान्छे ।
जतिबेर तिम्रो आवश्यक सबभन्दा धेरै छ
तिमी बसेका छौ डडेल्नो फर्काएर त्यो बेला ।
निराशा छ
हताशा छ
दिशाहारा छ तिम्रो साम्राज्य ।
केही दिन पट परिवर्तन गरौँ,
सैतानलाई कार्यवाही प्रशासक बनाऊँ ।
सुनेको छु
सैतान खुसी भए दयालु हुन्छ रे, तिमी जस्तै ।
उसैलाई सिंहासनमा अभिषिक्त गराऊँ ।
के फरक पर्छ र हामीलाई
शान्ति छैन तिम्रो छत्रछायामा,
नहोला सैतानको शासनमा पनि ।
यता आगो छ
उता उम्लिएको तेल होला
डढ्नु त दुवैतर्फ छ ।
अब
शान्तिको खोजीमा नयाँ विचार प्रयोग गरौँ ।
मिलन बोहोरा